भर्खरै :

सांस्कृतिक अतिक्रमणप्रति सजगता आवश्यकता

भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा, संस्कृति र सीप नै हाम्रो पहिचान भएको हुँदा मौलिकतालाई सबै मिलेर बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।
घरेलु तथा साना उद्योग व्यवसाय सङ्घ भक्तपुरको आयोजनामा शनिबार सम्पन्न बेहुली श्रृङ्गार तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले भेषभुषाको नाउँमा नेपालको मौलिकतामाथि सांस्कृतिक अतिक्रमणको सम्भावना भएकोले त्यसबारे सबै सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले प्रत्येक युवाहरूसँग शिक्षाको साथै सीप हुनु पनि जरुरी भएको उल्लेख गर्नुहुँदै भक्तपुर नगरपालिकाले युवाहरूलाई लक्षित गरी चिनियाँ भाषा, स्थानीय पथप्रदर्शक, सिल्पकला, रेडियो प्रस्तोतालगायतका थुप्रै तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
विभिन्न ठाउँहरूमा स्थानीय तहहरूले कर बढाएको भनी विरोध भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो–‘‘कर तिर्नु प्रत्येक नागरिकको दायित्व हो । भक्तपुर नगरपालिकाले कर बढाएको छैन बरु घर बहाल करमा १२ प्रतिशतको ठाउँमा यो वर्षदेखि लागू हुने गरी १० प्रतिशत कायम गरिएको छ, घर जग्गा करमा ५० प्रतिशत छुट दिइएको छ, सफाइमा मासिक ३०÷– तीस रुपैयाँ अत्यन्त न्यून कर लगाइएको छ । कर उठाउनुभन्दा सबै नागरिकलाई करको घेरमा ल्याउने प्रयास गरिएको छ ।’’
घरेलु तथा साना उद्योग व्यवसाय सङ्घका पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु तथा साना उद्योग सङ्घ २०४६ सालमा स्थापना भई हालसम्म ५४ जिल्लामा फैलिसकेको उल्लेख गर्नुहुँदै भक्तपुरले एक नमुना सङ्घको रूपमा कार्य गरिएको बताउनुभयो ।
सङ्घका अध्यक्ष विरेन्द्र जतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक शालिन शर्मा, सम्झना बोयजूलगायतले तालिमको उद्देश्य र औचित्यताबारे बोल्नुभएको थियो ।
तालिममा सहभागीहरूलाई प्रमुख अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *