भर्खरै :

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिशबमोजिम गर्न पुनः माग

काठमाडौं, ४ भदौ ः रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिसबमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔं अभियानले काठमाडौं महानगरपालिकासँग पुनः माग राखेको छ ।
अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो ।
“रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि हो, विज्ञहरूको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ, त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम सुरु गर्नुपर्छ” ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनःनिर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । यसअघि विज्ञ समूहले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई पनि ज्ञापनपत्र बुझाएको थियो ।
यसैगरी गत बिहीबार सम्पदा प्रेमीको टोलीले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । उक्त अवसरमा अभियानकर्मी गणपतिलाल श्रेष्ठले विज्ञ समूहको प्रतिवेदनबाट स्थानीयवासी विश्वस्त भएर बसेकाले सोहीअनुरुप रानीपोखरीको पुनःनिर्माण गरिनुपर्छ भन्नुभयो ।
विवेकशील साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा र विभागबीच बेमेलले गर्दा ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण हुन नसकेको बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।
पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो ।
उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरप निर्माण गर्न सुझाव दिएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा न्हुपुखु (नयाँ पोखरी) बनाएको थियो । पोखरी पाँच वर्ष लगाएर बनाई नेसं ७९० (विसं १७२७)मा शिलापत्र राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *