भर्खरै :

जनताको साहित्य तःमुंज्याको विशेषता

नेपालभाषा साहित्य तः मुंज्या श्रमजीवी जनताको पक्षमा साहित्य वाचन गर्ने, ख्याल (व्यङ्ग्य), नाटक देखाउने र नृत्य देखाउने जनमञ्च हो । साहित्यिक र सांस्कृतिक सो मञ्च देशका विभिन्न राजनीतिज्ञमात्र होइन चर्चित साहित्यकार, भूगोलविद्, इतिहासविद्, संस्कृतिविद्, चिकित्सक, इञ्जिनियर आदि व्यक्तित्व र विशेषज्ञहरूको आ–आफ्नो अनुभव तथा ज्ञान गुणका कुरा सिक्ने एक शैक्षिक थलो पनि हो । साहित्यकार, साहित्यप्रेमी र जनताको व्यापक सहभागिता हुने उक्त साहित्यिक र सांस्कृतिक कार्यक्रम एक बहुआयामिक थलोको रुपमा अघि बढिरहेको छ ।
जनतामाझ लोकप्रिय र जनप्रिय बनिसकेको तःमुंज्या सफल पार्न झण्डै दुई महिनादेखि स्थानीय आयोजक समिति (ग्वसाखल) गठन गरेर तयारी थालनी गरिएको हुन्छ । तःमुंज्यामा आयोजक टोल या स्थानका सयौंजना, तःमुंज्यामा दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र विज्ञ, दर्जनौं पुराना र नयाँ साहित्यकार, ख्याल, नाटक र नृत्यका लागि सयौंजना कलाकारहरू सरिक हुन्छन् । दिउँसोको साहित्य सम्मेलन र बेलुकाको सांस्कृतिक कार्यक्रममा हजारौं दर्शकहरू सामेल हुने तःमुंज्या साँच्चै बृहत् साहित्य र सांस्कृतिक कार्यक्रम हो ।
उक्त तःमुंज्या सफल पार्न आयोजक समिति अहिलेदेखि क्रियाशील भइरहेको छ । तःमुंज्या सफल पार्न विभिन्न समिति गठन गर्ने, आर्थिक सहयोग उठाउने, अपिल र निमन्त्रणा कार्ड छाप्ने, स्वागत गीत र स्वागत नृत्य तथा तःमुंज्या देखाउने स्थल सरसफाइ गर्नेतर्फ आयोजक समितिले चिन्तन मनन गर्न थालेको छ । यसैबीच भदौ १६ गते आयोजक समितिले गरेको जनताको साहित्य विषयक विचार गोष्ठी समय सान्दर्भिक छ । उक्त विचार गोष्ठीका अतिथि एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालबाट व्यक्त विचारले सहभागी साहित्यकार तथा साहित्यानुरागीहरूमा ऊर्जा मिलेको महसुस गरिएको छ । गोष्ठीमा व्यक्त विचारलाई साहित्यकार, कलाकार र गायक गायिकाहरूले उपयोग गरेमा तःमुंज्यामा वाचन गरिने र देखाइने नाटक र ख्याल साँच्चै जनताको साहित्य हुनेमा शङ्का छैन ।
साहित्य सम्मेलनमा वाचन हुने कथा र निबन्ध धेरै लामो–लामो हुँदा अरु कथाकार र निबन्धकारले कथा र निबन्ध वाचन गर्न नपाएको साहित्यकारहरूको गुनासोलाई मनन गरी छोटो मीठो कथा र निबन्ध लेख्ने हो कि !
तःमुंज्याले सयौं साहित्यकार, कलाकारहरु तयार गरिसकेको छ । तर तयारी भएका अधिकांश साहित्यकार र कलाकारहरू सम्मेलन साहित्यकार र कलाकार बनेकाले पनि उनीहरूको साहित्य र अभिनय जति परिष्कृत हुनुपर्ने हो सो नभएको गुनासो पनि गलत होइन । साहित्यकार र कलाकारले सम्मेलनमा बाहेक अरु समयमा पनि लेखेर साहित्य वाचन गर्ने, नाटक लेख्ने र अभिनय गरिएमा हाम्रो साहित्य नाटकको स्तर बढ्ने र कलाकार अभिनयमा खप्पिस हुनेमा शङ्का छैन ।
–गौरव प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *