भर्खरै :

समाज स्वयं सजग र जागरुक हुन जरुरी

हिजोआज अखबार पल्टाउनासाथ बलात्कार र सर्पदंशबाट मृत्युको समाचारमा ध्यान जान्छ । देशैभर आज यी दुईटै घटनामा बढीजसो महिला दिदीबहिनीहरूको ज्यान गइरहेको छ । बलात्कार जघन्य सामाजिक अपराध हो । समाजमा आपराधिक मनसिकताका मानिस पनि हुने भएकोले र कहिलेकाहिं परिवेश प्रेरित भएर पनि कतिपयले बलात्कारजस्तो अपराध गर्न पुग्छन् । विगतमा एक पुरुषले एक महिलामाथि जबरजस्ती करणी गथ्र्यो, सके धाकधम्की वा लोभलालच देखाई घटना गुपचुप गरिन्थ्यो । त्यसो हुन नसकेमा मात्र घटना सार्वजनिक हुन्थ्यो । तर हिजो आज ५–१० जना पुरुषले एक महिलाको करणी गर्ने सामूहिक बलात्कार र बलात्कारपछि हत्याको घटना निकै बढेको छ । यो निकै चिन्ताको विषय हो । हिजो जबरजस्ती करणी गरेर महिलाको इज्जत–आवरु मात्र लुटिन्थ्यो, बदनाम गर्न खोजिन्थ्यो तर आज बाँच्ने अधिकारसमेत हनन् भइरहेको छ ।
बलात्कारका घटना बढ्नुमा अपराधी मानसिकताका मानिसको सङ्ख्यात्मक वृद्धि र सक्रियता बढ्नु बढी जिम्मेवार छ । तर यसमा समाजका न्यायप्रेमी पक्षको सजगतामा कमी निष्कृयता पनि जिम्मेवार छ । हामी स्वार्थी बनेका छौं । हामी आफ्नै छोरी, बहिनी, चेलिबेटी बलात्कारको शिकार हुँदा मात्र आक्रोसित हुन्छौं । अरुका चेलिबेटी पीडित हुँदा देखेनदेखेझंै सुनेनसुनेझंै गर्छाैं । पुरुषहरूलाई बलात्कारीको तहसम्म पतन गराउने क्रिायकलापप्रति हामी कुनै प्रतिक्रिया जनाउँदैनौं । हिजोआज सहरका कुना–कुना र गाउँका चोक–चोकका सिडी र मोवाइल पसलहरू अश्लील चलचित्र वितरण गरी समाजकै नैतिकता पतन गराउन लागिपरेको देख्दैनौं । हिन्दी, भोजपुरी, मैथिली, अङ्ग्रेजी भाषाका अनेक व्यापारिक टेलिभिजन च्यालनहरूले अत्यन्त यौनोत्तेजक अडियो–भिजुअल र चलचित्र देखाएर समाजलाई नै भड्काइरहेकामा कुनै चिन्तन गरिरहेका छैनौं । ती व्यापारिक टेलिभिजन च्यानल, हजारौं इन्टरनेट वेभ साइटहरूले पैसा कमाउनकै लागि युवा समुदायको र समाजकै दिमाग भुटिरहेका छन् । परिणामतः हाम्रै समाजका सदस्यहरूबाट जघन्य अपराध भइरेहका छन् । अपराधको मानसिकता राख्नेहरूलाई अपराध नगर्दै सजग गराउने र चेतावनी दिने र अपराध भइसकेपछि अपराधीलाई कुनैखाले संरक्षण नगर्ने हो भन्ने अपराधका घटना स्वतः घट्छ । फाँसीको माग जरुरी छैन अहिलेकै सजाय पनि कम्ती होइन । बलात्कारका घटना हुन नदिन महिलाको मात्र होइन समाज स्वयंको सजगता र जागरुकता जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *