सरकारी निकायले आफ्नो उपस्थिति पुष्टि गर्नुपर्ने
- जेष्ठ ११, २०८३
नेपाली संस्कृतिमा विदेशी शैली र फेसनले ढाक्न लागेको छ । विभिन्न चाड–पर्व, जात्रामा मनाइने नाचगानमा यसको बढी शिकार भएको देखिन्छ । अहिले हाम्रो घर आँगनमा आउनै लागेको तीज यसको दृष्टान्त बनेको छ । तीज नआए पनि महिना दिनदेखि विभिन्न नाचगान भइरहेका छन् । कति नाचगान परम्परागतै थिए । परम्परागत पहिरनमै महिलाहरु परम्परागत शैलीमा नाचिरहेका छन् । संस्कृति जोगाउन त्यो आवश्यक छ । तर कतिपय नाचहरुमा महिलाहरुले पहिरन र आभूषणमा जोड दिएर बढीभन्दा बढी खर्चिरहेका छन् । आभूषण र पहिरनमा भइरहेको खर्चले कतै भड्किलो या ठाँटबाँटको वातावरण तयार त गरिरहेको छैन ?
आजभोलि तीजको नाचगान कुनै होटल, रेष्टुँरा या अन्य स्थलमा केन्द्रित भइरहेको छ । जनताको घर–आँगनको बस्ती बस्तीमा पु¥याएर विस्तार गर्नुपर्ने तीज रेष्टुराँहरुमा सीमित हुन पुगिरहेको दृष्टान्तले तीज कार्यक्रम ‘शो पिस’ मा परिणत भइरहेको छ । एक दुई दर्जन नाचको टोली रेष्टुराँ या त्यस्तै अन्य स्थलमा नाचगान गरेर, नाचगानलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरेर सांस्कृतिक पर्व तीज जोगिंदैन यसले त तीजमा पनि धनी र गरिब महिलाहरुको भेद बढेको देखाउँछ । गाउँ घरका सबै महिलाहरुले महँगा पहिरन र आभूषण लगाएर नाचगानमा सरिक हुनसक्दैनन् ।
तीजको परम्परागत नाचगानमा छोप्न लागेको अर्को विकृति पच्छिमेली (डिस्को) शैलीको नाचगान हो । कहींकतै उमेर पुगेका महिलाहरु पनि पच्छिमेली शैलीमा नाच्न थालेका छन् । हाम्रो आफ्नै नेपालीपनको नाचगान छोडेर महिलाहरू अरुको नाचगान शैलीमा किन प्राथमिकता दिंदैछन् ? यसबाहेक अचेल भर्खरका युवतीहरु अर्धनग्न पोशाकमा आधुनिक पारामा नाचगानमा व्यस्त भएका दृश्यहरु पनि सञ्चारमाध्यममा देखिन थालेका छन् । ती युवतीहरुले नाचगानमा लगाएको पहिरन र गीत सुहाउँदो छैन । आफ्नो संस्कृति र संस्कार जोगाउन पुरानै नाचगानको मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्छ । समय अनुकूल प्रगतिशील गीतलाई प्राथमिकता दिनु ठिक्कै हो । तर कहींकहीं त अश्लील शब्द प्रयोग गर्न थालेको छ । यो आपत्तिजनक विषय हो । यसले नयाँ पुस्तामा गलत सन्देश जानेछ । यस्ता मन्दविष नयाँ पुस्तामा छिरेपछि नियन्त्रण गर्नै गा¥हो हुन्छ । यसबारे समयमै दिदीबहिनीहरुले बुद्धि पु¥याएर आफ्नै संस्कृति, पहिरनमा नाचगान गर्न जोड दिनुपर्छ ।
–मेरिना शाक्य
Leave a Reply