भर्खरै :

एक चेपाङ महिलाको खुसी

– राजकुमार श्रेष्ठ
चितवन, २० भदौ । निकै हर्षित र खुुसी देखिन्थे माया चेपाङ । नारायणगढ बजारस्थित लायन्सचोक नजिकैको एक साहुको घरमा ३ महिनादेखि काम गर्दै आएकी माया चेपाङ धेरै काम गर्न नपर्ने, खाएर र बसेर महिनाको चार हजार तलब भएको सुनाउन हतारिन् । साहुनीले यताउता जाँदा सँगै लिएर जान्छिन् । पहिले काम गर्न बसेको साहुको घरमा जस्तो कोचिएर रहन नपर्ने उनको भनाइ थियो । भदौ १८ गते तीज कार्यक्रम हेर्न साहुनीसँगै आएकी माया चेपाङले पहिले काम गर्न बस्दा सँगै घर डेराका छिमेकीलाई भेट्न आउँदा आफ्नो खुसी पोखेकी थिइन् ।
माया चेपाङको घर इच्छा कामना गाउँपालिका–९ स्थित गर्दास हो । मायाले गाउँकै स्कूलमा कक्षा ४ सम्म अध्ययन गरेकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी पढ्न नसकेकी बताउँछिन् । बुबाआमालाई घर परिवार चलाउन गा¥हो भएको र एघार वर्ष पुग्दा नपुग्दै कुनै व्यक्तिको सहाराले आजभन्दा पाँचवर्ष अघि माया नारायणगढ झरेकी भिइन् ।
नारायणगढको नारायण साहुको घरमा काम गर्न बसेकी माया चेपाङ पाँच वर्ष एउटै घरमा कोच्चिएर बस्दाको पीडा उनले सुनाउन भ्याइन । नारायणगढमा नारायण साहुको घरमा पाँच वर्ष बिताइन् । उनी घरबाट बाहिर निस्किन पाउँदिनथिन् । घर परिवार, आफन्तजन कोही कसैसँग भेटघाट नभई उनको पाँच वर्ष बित्यो । बुबा कहिलेकाहीं नारायणगढ पैसा लिन आउनुहुन्थ्यो ।
तिनै माया चेपाङ ६ महिनापछि फेरि नारायणगढको लायन्सचोक नजिकै एक साहुको घरमा काम गर्दै आएकी छिन् । १६ वर्ष पार गरेकी माया चेपाङ बाल्य अवस्था अर्काकै घरमा काम गरेर बिताउन बाध्य छिन् । उनले न त पढन पाइन्, न त नयाँ कुरा सिक्न र बुझ्न नै पाइन् । मायाले बुझेकी छिन् त कुन घरको साहुनी जाती छ, कुन घरको साहु साहुनी अजाती छन् । साहु साहुनीको मन खुसी बनाउन कहीं ठिक्कै त कहीं धेरै काम गर्नुपर्ने कुरा मायाले सिकेकी छिन् । कपडा सफा गर्न, भान्छा, घर सफा गर्न र राख्न मायालाई कोही कसैले सिकाउन नपर्ला । उनले पाँच वर्षमा सिकेका र बुझेका कुरा यही नै हो ।
माया चेपाङ एक प्रतिनिधि पात्रमात्र हुन् । थुप्रै बालबालिकाहरू सहर, बजार र पुँजीपति तथा सामन्तीहरूको घर कोठाहरूमा उनी दास (नोकर) भई बस्न बाध्य छिन् । यसरी बालबालिकाहरू आफ्नो हक अधिकारबाट बिमुख हुनु परेका छन् । बालशोषणमा परेको छ । घरायसी काममा बसेका बालबालिकाहरूले आफूले सकेको भन्दा धेरै काम गर्नुपर्दछ । बिहान सबेरै उठेर बेलुका ढिलो सुत्नु पर्दाको पीडा तिनीहरूलाई थाहा छ ।
माया चेपाङ सुनाउँछिन्, जाडोमा पानीले हातखुट्टा खाएर रगतै झर्छ । औषधि लगाएर भए पनि काम गर्नुपर्छ । तिनीहरूलाई हाम्रोभन्दा पनि कामको नै माया लाग्छ ।
बालअधिकार र मानवअधिकारका नाराहरू डलर कुम्लाउनमै सीमित छन् । बालबालिकाको हकहितको कुरा गर्ने, मानवअधिकारको ठूलठूला कुरा गर्ने व्यक्तिहरूकै चुलाचौकामा, तिनीहरूबाटै बालबालिकाहरू शोषणमा परिरहेको जनमानसको गुनासो छ । लोकतन्त्र, गणतन्त्र, एकात्मक, सङ्घीय, प्रान्तीय, स्थानीय तह जेसुकै किन नहोस् माया चेपाङजस्ता गरिब निमुखा बालबालिकाहरू एउटा व्यक्तिको बन्धनमा पर्न बाध्य छन् ।
वामपन्थी सरकार आर्थिक समृद्धि र विकासको ठूल्ठुला कुरा गर्छ । तर एउटा बालकलाई दास र नोकर बनाएर राखेको हुन्छ । के हो समृद्धि, कसको लागि हो ? विकास सोझा जनता अनभिज्ञ र नतमस्तक छन् । सरकारले घरमा दास नोकर बनाइराखेका बालबालिकालाई मुक्ति दिलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *