बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
–गोपाल नगरकोटी
सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको एक दुई वटा कार्यक्रम र शुभकामना सन्देश बाँडेर मनायो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधारजस्ता आदर्शको नारा फुक्ने सरकारले प्रस्तुत गरेको कुनै पनि नीति तथा कार्यक्रम समाजवादउन्मुख छैन । शिक्षाको क्षेत्र त झनै समाजवादउन्मुख छैन । साँच्चै नेपाल समाजवादउन्मुख देश भएको भए शिक्षामा निजी लगानीलाई बढावा दिंदैन । वर्तमान सरकार समाजवादउन्मुख बाटो कुल्चेर पुँजीवादउन्मुख गोरेटोमा लम्किरहेको छ ।
सरकारले बेलैमा अनिवार्य शिक्षा लागू नगर्दा नेपाल अझै साक्षर मुलुक बनिरहेको छैन । साक्षर मुलुक पनि बनाउन नसक्ने सरकार नेपाललाई समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण आधारको नारा हाँकेर कसरी लक्ष्यमा पुग्न सकिन्छ ? संविधानमा शिक्षासम्बन्धी हकअन्तर्गत आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा मावि तहको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरिएको छ । यो संवैधानिक व्यवस्थालाई पनि सरकारले लागू गर्न सकिरहेको छैन । अनिवार्य शिक्षा लागू गरेपछि देशका कुनै पनि नेपालीले पढ्न पाउनैपर्छ, विद्यालयमा भर्ना हुनैपर्छ । कम्तीमा कुनै पनि नेपाली नागरिकले कक्षा ८ सम्म पढ्नैपर्छ, सरकारले पढाउने व्यवस्था गर्नैपर्छ । सरकारले फुकेपछि त्यो व्यवहारमा लागू गर्नैपर्छ । तर यहाँ न त अनिवार्य शिक्षा लागू भइरहेको छ न त मावि शिक्षा (१२ कक्षा) सम्म निःशुल्क छ ।
समाजवादउन्मुख देशको सरकारले त विगतमा शिक्षामा निजी लगानी भए पनि अहिले बढावा दिनुहुँदैनथ्यो । बरु निजीलाई विस्तारै हतोत्साही बनाएर सरकारीकरण या सामुदायीकरण गर्दै जानुपर्दथ्यो । सरकारले यो वर्षमा १२ कक्षासम्म निःशुल्क गरेको भए जनताको विश्वास बढ्थ्यो । अर्काे वर्षमा निजी सबै विद्यालयलाई सरकारीकरण गर्नसक्थ्यो । यसरी नै एकपछि अर्काे शिक्षालाई सामुदायीकरण गरे ५ वर्षको अवधिमा देशको सम्पूर्ण शिक्षाको दायित्व राज्यले लिनुपथ्र्याे । तर सरकारले यस्तो कुनै क्रियाकलाप गरिरहेको देखिंदैन । अहिलेको शिक्षा व्यवस्था न त गुणस्तरीय छ न त रोजगारमूलक नै छ । देशभरका सबै पढ्न उमेर पुगेका नेपालीलाई सर्वप्रथम पढ्ने अवसर दिनुपर्छ र राज्यले अन्तिम तहसम्म पूरा गर्ने वातावरण तयार गर्नुपर्छ । जीवन निर्वाहका लागि अझै लाखौं बालबालिकाहरू विद्यालय पुग्दैनन् । विद्यालय पुगेका कति विद्याथीहरू बीचमा छोड्छन् । अहिले पनि सडकपेटी, होटल, रेष्टुराँ तथा अन्य क्षेत्रमा विद्यालय छोडेर काम गरिरहेको पाइन्छ । अनि के सरकारले नारामात्र फुकेर समाजवादउन्मुख देश बन्छ, समृद्ध देश बन्छ ?
Leave a Reply