अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
जमिला
संसारका थुप्रै कुनाबाट राजतन्त्र समाप्त भइसकेपनि त्यसका अवयवहरू बाँकी छन् र विभिन्न रुपमा जीवित छन् । गणतन्त्र स्थापनापश्चात् पनि विभिन्न देशहरूमा नयाँ नयाँ राजा महाराजाहरू, नयाँ नयाँ राज सम्राटको लक्षण देखाप¥यो । पुँजीवादी व्यवस्थामा नयाँ सम्भ्रान्त वर्गले शासन गर्न थाले । मुठ्ठीभरका नेता, उच्चअधिकारी, पुँजीपति र सामन्तहरूले सौखिन र उच्चस्तरको जीवनयापन गरे त्यसैलाई नै तिनीहरूले परिवर्तन बताए । बलिदानबाट प्राप्त गणतन्त्रले पनि जनता र देशका सामान्त्न्दा सामान्य समस्या पनि समाधान गर्न सकेन ।
थुप्रै प्रजातान्त्रिक मुलुकहरूमा शासकहरूको चयन निर्वाचन प्रणालीबाट हुने गरेपनि निरङ्कुश राजतन्त्रमा जस्तै शासन राजाकै शैलीमा हुने गरेको तथ्य कसैबाट लुकेको छैन । नेपालको छिमेकी देश भारत त्यसको ज्वलन्त उदाहरण हो । विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएर पनि कामदार जनता उठ्न नसक्नुपछाडि शासनप्रणालीमै खोट रहेको स्पष्ट हुन्छ । शासकवर्ग बीचकै खिचातानी, आरोप प्रत्यारोप, आग्रहपूर्वाग्रहका कारण जनता मारमा परेको तीतो विगत प्रस्तुत गर्ने पुस्तकको नाम हो – ‘भारतीय गणतन्त्रमा “राज सम्राट” को लक्षण’ ।
भारतको राजनीतिक आरोह अवरोहबारे तथ्यपरक एवम् आलोचनात्मक शैलीमा लेखिएका पुस्तकहरू नेपाली साहित्य जगतमा कममात्र पाइन्छ । हातमा गन्न मिल्ने ती महत्वपूर्ण पुस्तकहरूमा भारतीय गणतन्त्रमा ‘‘राज सम्राट’’ को लक्षण पनि एक हो । सङ्घीय राज्य र गणतान्त्रिक शासनप्रणालीमा देखिएको तत्कालीन विवाद र मतभिन्नता भारतको पुरानो इतिहास हो । त्यही इतिहासबाट नेपाली जनता र विशेष गरी नयाँ पुस्ताले पाठ सिक्न यस पुस्तकले घच्घच्याउँछ ।
आजभन्दा ३५–४० वर्षअघि भारतमा भएका राजनैतिक घटना परिघटनाहरू सिलसिलेवार ढङ्गले पुस्तकमा प्रस्तुत गरिएका छन् ।
भारत नेपालको छिमेकी देश भएको हुँदा त्यहाँका उथलपुथलले परोक्षा वा प्रत्यक्ष नेपालमा पनि असर पार्ने गरेको सर्वविदितै छ । नेपाल पनि एक संवैधानिक मुलुक, संसदीय प्रणालीको अभ्यास गरिरहेको र सङ्घीयतामा भर्खरै पदार्पण गरेको देश भएको हुँदा हिजोको भारत र त्यहाँका शासकहरूबारे सही जानकारी राख्नु निश्चयपनि हितकर हुनेछ । भारतीय राष्ट्रपतिहरूको परिचय र भारतीय राजनीतिका केही व्यक्तित्वहरूको छोटो चिनारी समेटिएको यो पुस्तक यस अर्थमा पनि सान्दर्भिक र मननीय छ ।
सय वर्षको स्वतन्त्रता आन्दोलन र ४० वर्षको प्रजातान्त्रिक अभ्यासले भारतलाई तेस्रो विश्वको एक महत्वपूर्ण देशको रुपमा उभ्यायो । तर भारतमा ‘राजतन्त्रको पुनःस्थापना’ , नेहरू वंश र भारतीय प्रजातन्त्रमा ‘‘राज–सम्राट’’को लक्षण भन्ने गुनासो र चर्चा सर्वत्र हुन थाल्यो । त्यससँग सम्बन्धित सकारात्मक तथा नकारात्मक अनुभव र गम्भीर छलफलबारे नेपाली पाठकहरूलाई अवगत गराउँछ यस पुस्तकले ।
जवाहरलाल नेहरूको प्रधानमन्त्री कार्यकालपछि पार्टीको अध्यक्ष र प्रधानमन्त्री इन्दिरा गान्धी भइन् । उनको मृत्यु (हत्या) पछि उनकै माहिलो छोरा सञ्जय गान्धी पार्टी अध्यक्ष र जेठो छोरा राजीव गान्धी (सन् १९८४) प्रधानमन्त्री भएपछि भारतमा एक खालको तरङ्ग फैलियो । अध्यक्ष र प्रधानमन्त्रीको चुनावको परिपाटी, उनको कार्यशैली र उनको सल्लाहकार मण्डलीका कारण समेत भारतमा नेहरू परिवारको राजवंश स्थापना भयो भन्ने ठम्याइ सतहमा आयो । श्रीमती इन्दिरा गान्धी निर्वाचित प्रधानमन्त्री नभई महारानी वा साम्राज्ञीजस्तै थिईन् र राजीव गान्धी पनि राजकुमार वा राज–सम्राट नै भए भन्ने चर्चा व्यापक हुन थालेको थियो । त्यसपछि ‘भारतीय प्रजातन्त्रको कमजोरी, राज–सम्राटको लक्षण’ भन्ने छलफलले थप चर्चा पाएकोे प्रसङ्ग पुस्तकमा छ ।
उमेरले सानो राजीव गान्धीको उदयले सर्वत्र आलोचना र टिक्का टिप्पणीको वर्षा हुन थाल्यो । राजीव गान्धीद्वारा काङ्गे्रस पार्टीलाई विघटन गर्दै गरेको, पार्टीमा व्यक्तिवादी नीतिलाई लागू गरेको र सिद्धान्तलाई छोड्दै गएका आरोपहरू लगाउन थालियो । चारैतिरबाट जातीयता, क्षेत्रीयता र साम्प्रदायिकता भड्काउने आन्दोलनहरू उठ्न थाले । पार्टीका पुराना नेताहरू, सञ्जय गान्धीकी श्रीमती मेनका गान्धीसमेतले राजीव गान्धी नेतृत्वको सरकारको आलोचना र निन्दा गरे । कमलापति त्रिपाठीजस्ता पार्टीका पुराना नेतामाथि अपमानजनक व्यवहार भएपछि एक संसद सदस्यले दिएको अभिव्यक्ति पुस्तकमा प्रस्तुत छ – ‘‘काङ्ग्रेस पार्टी यस्तो पार्टी हो जहाँ नेताहरू पालेमा झर्छन् र पालेहरू नेताको रुपमा उठ्छन् ।’’ शक्तिका पुजारीहरू र नेतृत्वको वरिपरि ज्यू हजुरी तथा चाप्लुसी गर्नेहरूले गर्दा राजीव गान्धी नेतृत्वको सरकार बदनाम भएको र गलत दिशामा गएको आलोचनात्मक विश्लेषण पुस्तकमा छ ।
बम्बैका पी.आर कैकिनी प्रस्ट भन्छन्– ‘‘राजीव गान्धी जस्तो अनुभव नभएका र अनुपयुक्त प्रधानमन्त्रीले आफ्नो चारैैतिर उनलाई तारिफको पुल बाँध्ने शङ्कास्पद र विश्वास गर्न नसक्ने चाप्लुसी गर्नेहरू बटुलेका छन् ।
यसकारण उनले एकपछि अर्को ठूल–ठूला गल्ती गर्दै गए । हामीले राजा–महाराजा र नवाबहरू हटायौँ, तर हाम्रो देश ‘वंशाणुगत कुशासन’ को लगाममा छ । राजीव गान्धीपछि
उनकी स्वास्नी र केटाकेटीहरू गद्दीका उत्तराधिकारी हुनेछन् ।’’
भारतीय गणतन्त्रमा शासनाधिकारबारे राष्ट्रपति ज्ञानी जैलसिंह र प्रधानमन्त्री राजीव गान्धीको विवादले भारतीय राजनीतिक वृत्तमा भएको उथलपुथलका प्रत्येक परिच्छेदहरू पुस्तकले पाठकमाझ पु¥याएको छ । भारतको गणतान्त्रिक संविधानमा राष्ट्रपतिलाई औपचारिक वा प्रतीकात्मक राज्यप्रमुख बनाइएको र सङ्कटकालका लागि विशेष अधिकार प्रदान गरिएको सत्य हो । बेलायतको राजा वा रानी (समारोही) ‘रबर छाप’ भएको मात्रै हो अथवा बेलायतको राजा प्रधानमन्त्री वा मन्त्रीमण्डलको काठको पुतली हो भनिन्छ । भारतको त्यही बेलायती अलिखित कानुनको नक्कल गरी भारतले संविधान बनाएको बताइन्छ । पुस्तकमा प्रस्ट लेखिएको छ –‘‘सिद्धान्त र व्यवहारको द्वन्द्व नै भारतीय गणतन्त्रको राष्ट्रपति र प्रधानमन्त्रीमाझको विवादको कारण बनिआएको छ । तर राष्ट्रपति ज्ञानी जैल सिंह र प्रधानमन्त्री राजीव गान्धीबीचको कलहको मुख्य कारण उमेर र सांस्कृतिक भिन्नता नै देखिन्छ ।’’
देशको महत्वपूर्ण र संवेदनशील विषय, अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी नदिएको र अपमानजनक र अनादरपूर्ण व्यवहार भएको विषयमा विवाद चुलिएको बुझ्न सकिन्छ ।
के राष्ट्रपति राजनीतिभन्दा पर छन् ? भन्ने प्रश्नदेखि संसदलाई प्रधानमन्त्रीद्वारा झूट्टा जानकारीको आरोपसम्म, राष्ट्रपति नै आतड्ढवादको सहयोगी हुन् ? भन्ने प्रश्नदेखि दोषबाट दुवै पक्ष मुक्त छैनन् भन्ने विश्लेषणसम्मको तथ्यपरक प्रस्तुतीकरण छ पुस्तकमा । राष्ट्रपतिले प्रधानमन्त्रीलाई लेखेको गोप्यपत्र पत्रपत्रिकाले छाप्न थालेपछि विवाद शिखरमा पुगेको बोध हुन्छ पुस्तक अध्ययनपश्चात् । थुप्रै राजनैतिक व्यक्तित्व र भारतका तत्कालीन ‘मोस्ट वान्टेड’ हरूको उक्साइमा राष्ट्रपति परेको र त्यसकारण संविधानले नदिएको अधिकारहरूका विषयमा विवाद छेडेको घटनाक्रमले पुष्टि गरेको छ । दुवै पक्षको वकालत गर्ने व्यक्तित्वहरू थिए । लामो समय विवाद चर्कियो ।
प्रजातन्त्र मानिसहरूको भीड नभई एक जीवन दर्शन हो, प्रजातन्त्र मानिसको सबभन्दा साहसी (धृष्ट) अनुभव हो । त्यसलाई मानिसले स्वतन्त्रताको भावनाबाट निर्माण गरेको हुन्छ । स्वतन्त्रताको भावनाको अभावमा प्रजातन्त्र मूर्दाघर बन्छ । प्रजातन्त्रमा निर्वाचित शासक, न्यायालय, प्रेस र परम्पराप्रति समेत आदर रहन्छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई उचित आदर नगरेकोमा आलोचना भयो । त्यस्तै राष्ट्रपतिले नचाहिँदो असंवैधानिक पाइला चाल्नु भत्र्सनायोग्य हो भन्ने निश्कर्षमा विवाद टुङ्गिएको जानकारी मिल्छ पुस्तकबाट ।
करिब दुई दशक भारतको राजनीतिमा अँध्यारो बादल छाएको थियो । विशेष सहुलियत र भ्रष्टाचारले राष्ट्रिय संस्थाहरूमा नराम्रो असर पा¥यो । भ्रष्टाचारकै कारण सरकारले बदनामी कमायो । राजनीति भनेको जनताको निम्ति आवधिक तथा औपचारिक निर्वाचनबाहेक केही पनि रहेन । ती चुनावहरूले पनि आफ्नो पवित्रता र प्रतिनिधि चरित्र नै गुमाइसकेको परिस्थितिबारे पुस्तकमा चर्चा छ । निर्वाचन पद्दति अन्यायपूर्ण हुनु, खासगरी चुनावको खर्चको स्रोत राजनैतिक भ्रष्टाचार र धोखेबाजी हुनु, चुनाव त्यही कालो पैसाकै बलमा जित्नुले देशले उँभोगति लिन नसकेको वास्तविकता यस पुस्तकले उजागर गर्छ । सङ्घीय प्रणाली लागू भएको देशमा शक्तिको केन्द्रिकरण वास्तवमै हानिकारक हुन्छ । सरकारले अधिनायकवादी ज्यादती देखाउनु देशकै निम्ति हितकर होइन । पुस्तकमा प्रस्ट लेखिएको छ – ‘‘पञ्जाबको अकाली सरकार भङ्ग गर्ने र जम्मु कश्मिरमा फारुख अब्दुल्लाहको सरकार र आन्ध्र प्रदेशमा एन. टी रामारावको सरकारलाई फुटाउने लज्जाजनक नीति नै केन्द्रीय सरकारको दुई मुख्य कलङ्कित कार्यहरू थिए ।’’
व्यवस्थामा कुनै परिवर्तन ल्याउन चाहने हो भने शक्तिलाई विकेन्द्रीकरण गरी स्वायत्तता लागू गर्नुपर्छ । साँचो सङ्घीय राज्य स्थापना गरिनुपर्दछ । जनताको जीवनमा शुद्धता, शिष्टता र इमानदारी पुनःस्थापना गरिनुपर्छ र साँचो अर्थमा जनताको इच्छा जाहेर गर्ने निर्वाचन पद्दति लागू गरिनुपर्दछ भन्ने सन्देश बोकेको यस पुस्तकबाट भर्खरै सङ्घीय व्यवस्थामा प्रवेश गरेको नेपालजस्तो देशले पनि सिक्न आवश्यक देखिन्छ । साथै तुलनात्मक अध्ययनको निम्ति नयाँ पुस्तामाझ पु¥याउन जरुरी छ ।
यसरी भारतीय गणतन्त्रमा चलेकोे यो छलफल राष्ट्रपति पद्धति वा संसदीय पद्धतिको पक्ष–विपक्षमा मात्रै नभई राज्यहरू यही ‘अर्ध–सङ्घीय’ स्थितिमा रहने हो वा पूर्ण स्वायत्तता भएको सङ्घीय राज्यको रुपमा फेरिने हो भन्ने विषयलाई महत्वका साथ उठाइएको छ । यस अर्थमा यो पुस्तक अत्यन्त सामयिक, पठनीय र सङ्ग्रहणीय छ । भारतको राजनैतिक इतिहासको एउटा महत्वपूर्ण अंश बोकेको यस पुस्तकको अध्ययनबाट नेपाली पाठकहरूले आफ्नो ज्ञानको घेरामात्र फाराकिलो बनाउने छैनन् बरु नेपाली नेताहरूसँग, नेपालको व्यवस्थासँग पनि तुलना गर्ने शिल्प विकास गर्नेछन । ऐतिहासिक महत्व बोकेको यस पुस्तकले विभिन्न भारतीय राजनैतिक व्यक्तित्वहरू र राष्ट्रपतिहरूसँग पाठकहरूलाई साक्षात्कार गराउँछ ।
नेपाली राजनैतिक वृत्तको वर्तमान बेथितिहरू, चुनावमै आधारित व्यवस्था, पैसाले चुनाव जित्ने संस्कार, अपराधीहरूलाई राजनैतिक संरक्षण दिने बिडम्बना, संसदभित्र पार्टीलाई चन्दा दिनसक्नेमात्र सदस्य बन्न पाउने प्रवृत्ति, सङ्घीयतामा पनि विकेन्द्रीकरण र स्वायत्तताको अभ्यास हुन नसकेको निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिहरूको ठालू प्रवृत्ति, राजा–महाराजा शैली हावी भएको वर्तमान परिवेशमा पाठकले यस पुस्तकलाई अझ सान्दर्भिक अनुभूत गर्नेछन् । सरल र सरस भाषामा लेखिएको यस पुस्तकको गाता आकर्षक, मूल्य पाठकमैत्री र मुद्रण स्तरीय अनुभव हुन्छ । आजभन्दा ११ वर्ष अघि प्रकाशित यस पुस्तकले भारतको भूगोलको समेत जानकारी दिन्छ । यस्तो महत्वपूर्ण पुस्तकको प्रकाशक नेमकिपा केन्द्रीय प्रकाशन समितिप्रति साधुवाद ।
Leave a Reply