भर्खरै :

शोषित वर्ग विरोधीहरू वर्गसङ्घर्षकै मैदानमा पराजीत हुनेछन्

भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ७ गोल्मढी एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना र विरोधमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइले नेमकिपाले इतिहासदेखि जनताको सेवा गर्दै आएको हुँदा जनविरोधी पञ्चायतका हिमायतीलाई सह्य नभएकै कारण राज्यस्तरबाट षड्यन्त्र गरी भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
वर्ग विरोधीहरूले सच्चा तथा इमानदार देशभक्तलाई षड्यन्त्र गरी जाली मुद्दामा फसाएको इतिहासबाट नयाँ पुस्ताले शिक्षा लिनुपर्नेमा जोड दिंदै उहाँले शोषित वर्गका विरोधीहरूले समाजलाई आफ्नो पक्षमा पार्ने अनेक कुत्सित प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘वर्गसङ्घर्षबाटै सबै किसिमका शोषित वर्ग विरोधीहरू पराजीत हुनेछन् ।’’
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले भक्तपुर काण्डमा फसाइएका साथीहरूका घर–परिवारमा शोषित वर्ग विरोधीहरूले अनेक किसिमका प्रलोभन देखाउनुका साथै व्यक्तिगत स्वार्थको देखाएर सङ्घर्षमा पराजीत बनाउन खोजेको बताउनुभयो ।
शिक्षक एवं तात्कालीन भनपा वडा नं. ७ का वडा अध्यक्ष श्रीकृष्ण किसीले २०४५ साल भदौ ५ गते भूकम्प गएपछि भक्तपुर नगरपालिकाले तत्काल भूकम्प पीडितहरूको लागि राहत व्यवस्था गर्ने निर्णय गरेको तर कुनै जिम्मेवार पदमा नरहेका एकजना भूतपूर्व सांसदलाई हचुवामै राहत वितरण गर्ने जिम्मा राज्यले दिएको स्मरण गर्दै त्यहींबाट भक्तपुर काण्डको षड्यन्त्रको तानाबाना बुनेको देखिन्छ भन्नुभयो ।
पार्टी कार्यकर्ता लक्ष्मीभक्त कवांले जेलमा भएका घटनाको स्मरण गर्दै समाजका वर्ग शत्रुहरू किसानहरूलाई नेमकिपाले सचेत बनाउला कि भन्ने चिन्ताले ग्रसित रहेको बताउनुभयोे ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवाल, आयोजक समितिका अध्यक्ष बलराम गोसाई, राकेश सुकुपायोलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *