भर्खरै :

खानी सञ्चालनको स्वीकृति – चोरलाई चौतारो

वसन्त खत्री
२७ भदौ २०७५ को पत्रपत्रिकामा भक्तपुरका खानी खुल्ने शीर्षकमा समाचार प्रकाशित भयो । समाचारअनुसार खानी अनियमित तवरले चलेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल लगेपछि बन्द भएका भक्तपुरका बालुवा, ढुङ्गा र पाङ्गो माटोलगायतका खानी अब चल्ने भएको छ । चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्रले पनि दसैंलगत्तै नपाभित्रको खानी सञ्चालन स्वीकृति दिने भनेर बोलिसकेछन् । खानी व्यवसायीहरू पनि नपाले खानी सञ्चालन गर्ने निर्णय गरेपछि हर्षित भएको समाचार आयो । खानी सञ्चालन नभए पनि लुकिचोरी खाईपाई आएको दाना हाकाहाकी खान पाउने भएपछि यी व्यवसायीलगायत छ्याकन खान पाउनेहरू खुशी हुनु त स्वाभाविकै हो । तर विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायणको बारेमा सोच्ने जनतालाई यो समाचारले चिन्तित बनाएको छ ।
भक्तपुर जिल्लाका अधिकांश बालुवा खानीहरू चाँगुनारायण नगरपालिकाभित्रै छ, त्यो पनि ऐतिहासिक चाँगुनारायण मन्दिरको वरिपरि । भूगर्भविद् र विज्ञहरूका अनुसार चाँगुनारायण मन्दिर वरिपरिका बालुवा तथा ढुङ्गा खानीहरू सञ्चालन होइन बन्द गर्नुपर्छ । विगतमा मन्दिर वरिपरि अवैध रूपमा बालुवा, ढुङ्गा निकालिएको कारण चाँगुनारायण मन्दिर वरिपरि पहिरो जानुका साथै ऐतिहासिक थुम्को केही भासिएको विश्लेषकहरूले बताएका छन् । अब पनि सोचविचार नगरी यसरी खानीहरू सञ्चालन गर्न दिने हो भने ऐतिहासिक चाँगुनारायण मन्दिर मात्र होइन यो थुम्कोमा बसोबास गर्ने हजारौ जनताका घरबार पनि उठ्नसक्ने सम्भावना छ । यसतर्फ सचेत जनता चिन्तित छन् ।
स्थानीय तहको निर्वाचनपूर्व पनि खानी सञ्चालन सम्बन्धमा विवाद नउठेको होइन । विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरूले चाँगुनारायण मन्दिर वरिपरिका बालुवा–ढुङ्गा सञ्चालन गर्न नहुने मत जाहेर गरेका थिए । त्यसमध्ये नेपाल मजदुर किसान पार्टीले विश्व सम्पदा सूचिमा सूचीकृत चाँगुनारायण मन्दिरलाई असर पु¥याउने खालका अनियमित खानीहरूलाई बन्द गर्नुपर्छ भनेर अडान लिएको सबै जनताले बुझेका छन् । तर खानी सञ्चालकहरूबाट छ्याकन खान पल्केका केही राजनीतिक दलका प्रतिनिधिहरूले सुरूदेखि नै खानी सञ्चालनमा जोड दिए । ती को–को हुन् भन्ने कुरो स्थानीय निर्वाचन अगाडि प्रस्ट हुन नसके पनि अहिले छरपष्ट भएको छ ।
स्थानीय निर्वाचनमा नेमकिपाका कार्यकर्ताहरू अवैध र अनियमितढङ्गले सञ्चालन भएका खानीहरू बन्द गर्छौं भनेर जनतासामु गए भने नेकपाका कार्यकर्ताहरूले भित्रभित्रै बालुवा खानीका तश्कर र व्यवसायीहरूसँग साठगाँठ गरे । नेकपाका नेताहरूले आफू निर्वाचित भइसकेपछि बालुवा, ढुङ्गाका खानीहरू सञ्चालन गर्न दिने बचन खानी व्यवसायीहरूलाई दिएर करोडौं चुनाव खर्च उठाएको जनतामाझ व्यापक चर्चा भएको थियो । त्यही पैसाले सोझासिधा जनताको मत खरिद गरेर अहिले त्यसको परिणाम दिंदैछ । व्यापक जनताको विरोध हुँदाहँुंदै जनप्रतिनिधिहरूले अवैध र अनियमित खानी सञ्चालकहरूलाई फाइदा हुने गरी खानी सञ्चालनको स्वीकृति दिन खोज्नु यसको ज्वलन्त उदाहरण हो ।
हिजो नेका, राप्रपा र अन्य पार्टीमा रहेका खानी व्यवसायी तथा तस्करहरू अहिले म नेकपाको कार्यकर्ता हुँ भनेर छाति फुलाएर धक्कु लाउंदै हिंड्छन् । नेकपामा भूमाफिया, तस्कर, भ्रष्टाचारीहरूको बाढी नै पसेको छ । ती नै भ्रष्टाचारी र भूमाफियाहरूले नेकपा चलाएको छ भन्दा फरक पर्दैन । माक्र्सवाद र लेनिनवादका कुराहरू त उनीहरूले फु–मन्तर गरेर उडाइसके । अब जनता लुट्न अग्रसर छन् । हिजो लिएको ऋण तिर्न र आफ्ना आसेपासेलाई खुसी पारेर अर्को चुनावको लागि जोहो गर्न पनि नेकपाका नेताहरू अहिलेदेखि तयार रहेको प्रमाण यो खानी सञ्चालनको स्वीकृति हो । साधुलाई सुली चोरलाई चौतारो उपलब्ध गराउन माहिर नेकपाको यो अर्को कर्तुतदेखि जनता सचेत हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *