भर्खरै :

सेप्टेम्बर ११ को सम्झना

सेप्टेम्बर ११, यो मितिमा अल्याख घटना घटिसकेका छन् । तर संसारले यो मितिमा इतिहासका मूलतः दुई घटनाका कारण स्मरण गर्ने गरेको छ ।
सन् २००१ को सेप्टेम्बर ११ जुन दिन संरा अमेरिकाका प्रमुख सहरमाथि ‘आतङ्कवादी’ हमला भएको थियो । न्युयोर्कस्थित विश्व व्यापार स·ठनको भवन र वाशिङ्टनको पेन्टागन भवनमा गरिएको सो हमलामा परी झण्डै तीन हजार मानिस मारिएका थिए भने ६ हजारभन्दा बढी मानिस घाइते भएका थिए । सेप्टेम्बर ११ को सो घटनालाई देखाएर संरा अमेरिकाको तात्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुश सरकारले ‘आतङ्कवादविरोधी युद्ध’ को घोषणा ग¥यो । ‘आतङ्कवादविरोधी युद्ध’ को नाममा संरा अमेरिकाले अफगानिस्तान, इराक, लिविया हुँदै सिरियासम्म हमला गरिरहेको छ । अफगानिस्तानमा संरा अमेरिकी हमलाका कारण दस लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ । त्यस्तै इराकमा संरा अमेरिकी नेतृत्वको नाटो गठबन्धनले गरेको हमलामा परी सन् २०११ सम्ममा लाखौं मानिसको हत्या भइसकेको छ । लिविया, सिरियालगायत देशमा मारिने सङ्ख्याको अझसम्म यकिन तथ्याङ्क छैन ।
सेप्टेम्बर ११ को हमला दुःखद् घटना थियो । तर संरा अमेरिकी साम्राज्यवादी शासक वर्गले त्यो विषाद्लाई संसारमा आफ्नो नवउपनिवेश फैलाउने मौकाको रुपमा दुरुपयोग गरे । ‘आतङ्कवाद’लाई सिध्याउने नाममा संसारमा आफ्नो नयाँ साम्राज्य विस्तार गर्न संरा अमेरिका अभिशप्त बन्यो । फलतः संसार फेरि एकपल्ट अर्को युद्धको भुमारीमा डुब्यो । मानवजातिको इतिहासमा अर्को कालो छायाँ मडारिरह्यो । तर जो पानीमा खेल्छ पानीमै मर्छ, जो आगोमा खेल्छ आगोमै मर्छ भन्ने उखानजस्तै आज संरा अमेरिकाको निम्ति विभिन्न देशमाथिको हमला निल्नु न ओकल्नुको अवस्थामा छ । संरा अमेरिका आफै विनाशको बाटोमा अघि बढिरहेको छ । उसको निम्ति पाप धुरीबाट कराइरहेको छ ।
सेप्टेम्बर ११ सँग जोडिएको अर्को इतिहास भनेको दक्षिण अमेरिकी देश चिलीको वामपन्थी एलेण्डे सरकारविरुद्धको रक्तपातपूर्ण सैनिक विद्रोह । सन् १९७३ मा चिलीमा साम्राज्यवादविरोधी वामपन्थी एलेण्डे सरकारविरुद्ध संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) को आडमा सैनिक विद्रोह भएको थियो । सो क्रममा त्यहाँका वामपन्थी, कम्युनिष्ट र प्रगतिशील जनतामाथि इतिहासमा कहिल्यै नभएको निर्मम पाशविक दमन गरिएको थियो । दक्षिण अमेरिकामा भर्खरै जरा गाड्दै गरेको साम्राज्यवादविरोधी विचारलाई कोपिलामै निमोठ्ने क्रममा साम्राज्यवादी शक्तिले त्यस्तो प्रतिक्रियावादी सैनिक विद्रोह गराएका थिए । सो घटना पछि बनेको सैनिक तानाशाह पिनोचेको सरकारले चिलीका जनतामाथि लगातार तीस वर्षसम्म क्रुर शासन चलायो ।
सेप्टेम्बर ११ को स्मरण गर्दा त्यो दिन संरा अमेरिकी आकाशमा उडेका विमानले गरेका हमलालाई मात्र होइन, संरा अमेरिकाले चिलीमा त्यही मितिमा त्यो घटनाको २८ वर्षअघि भएको घटनालाई पनि स्मरण गर्न जरुरी छ । सेप्टेम्बर ११ पछि इराक, अफगानिस्तान, लिविया, सिरिया, प्यालेस्टाइनी जनताले भोग्नुपरेको विस्मयकारी वियोगको घटनालाई पनि भुल्नु हुन्न ।
आज पनि संसारमा जति पनि द्वन्द्व भइरहेका छन्, तिनमा संरा अमेरिकी साम्राज्यवादको कुनै न कुनै हिसाबमा भूमिका छ । संसारमा अशान्ति फैलनुको मूल कारण नै साम्राज्यवाद हो । साम्राज्यवादले इतिहासमा धेरै पटक आतङ्कवादलाई समेत आफ्नो कलुषित अभिष्ट पूरा गर्न प्रयोग गर्ने गरेको छ । सेप्टेम्बर ११ को घटना पछि संरा अमेरिकाले संसारमा शान्तिको महत्वबारे अझ बुझ्नुपर्ने थियो । तर संरा अमेरिकाले संसारभरि आफ्नो साम्राज्यवादी फणा फैलाउन रोकेन । तब त आज पनि संसारमा अशान्ति र युद्धको विभिषिका बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *