भर्खरै :

‘नाफाभन्दा सेवाभावले व्यवसाय गर्नुपर्छ’

भक्तपुर, ३० भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले राजनीतिमा खेलाँची गर्नु भनेको हिमालयमा चिप्लेटी खेल्नुसरह हुने बताउँदै आगो, पानी र राजनीतिसँग कहिल्यै ख्याल गर्न नहुने बताउनुभयो ।
सर्वसुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाले नाफाभन्दा सेवाको भावनाले व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सन् १८३०–४० तिर युरोपका मानिसहरु संरा अमेरिकामा गएर गाउँ गाउँका सहकारी पसलहरु सञ्चालन गरे पनि त्यहाँका पुँजीपति वर्गले टिक्न नदिएको उदाहरण प्रस्तुत गर्दै उपभोक्ता सहकारीका सञ्चालकहरु ठूला व्यापारीहरुबाट सचेत हुनुपर्छ भन्नुभयो ।
स–साना स्वार्थको लागि समाजलाई नोक्सान हुने काम कसैले पनि गर्न नहुने बताउँदै उहाँले नागरिक भावना र कर्तव्य बुझेन भने दुःख पाइन्छ भन्नुभयो ।
सरकारमा जाने पार्टीहरु राम्रो नभएकै कारण जनताले दुःख पाइरहेको बताउँदै उहाँले भन्नुभयो –‘‘एमाले र माओवादी क्रान्तिकारी होइनन् । ती पार्टी मिलेर बनेको पार्टी नेकपा पनि कम्युनिष्ट पार्टी होइनन् । पञ्चहरु र ती पार्टीका नेताहरुमा कुनै फरक छैन ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान र उपभोक्ता ऐनले सुनिश्चित गरेका नागरिकका हक अधिकारसमेत जनता सचेत नभएका कारण उपभोग गर्न नसकेको बताउँदै कानुन स्वयं कार्यान्वयन हुने नभई आफ्नो हकप्रति सचेत नागरिकले कार्यान्वयन गर्ने हो भन्नुभयो ।
ऐन कानुनबारे उपभोक्ताहरु स्वयं सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो– नेपालको संविधानको मौलिक हकमै स्वच्छ, स्वस्थ वातावरण र सरसफाइको हक, स्वच्छ खानेपानीको हक सुनिश्चित गरिएको छ । कम गुणस्तरको साधन बिक्री गर्ने, मिसावट सामग्री बिक्री गर्नेलगायतलाई कडा कानुनी व्यवस्था छ तर उपभोक्ताहरु आफ्नो अधिकारप्रति सचेत नभएकै कारण कानुनबमोजिम क्षतिपूर्ति भराउन सकेका छैनन् ।
उहाँले भनपाले नगरवासीहरुको हितलाई ध्यानमा राखेर वडा वडामा शारीरिक व्यायाम स्थलहरु निर्माण गरिरहेको, सांस्कृतिक गतिविधिहरु सञ्चालन गरिरहेको बताउँदै नयाँ पुस्तालाई भक्तपुरबारे जानकारी दिने उद्देश्यलाई विद्यालयहरुमा स्थानीय पाठ्यपुस्तक राखेर अध्यापन सुरु गरेको बताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजू, संकटा उपभोक्ता सहकारीका प्रतिनिधि विन्देश्वर श्रेष्ठ, सिद्धि कृषि सहकारीका अध्यक्ष पुण्यराम दुमरुले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणमान बनमाला, कोषाध्यक्ष शिवराम साँध, लेखा सुपरिवेक्षक गणेशराम मुस्याख्वले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले संस्थासँग बढी कारोबार गर्ने १० जनालाई नगदसहित प्रशंसापत्र वितरण गर्नुभयो ।
सभाको बन्द सत्रले सर्वसम्मतिबाट लक्ष्मीप्रसाद लाखाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *