भर्खरै :

भक्तपुर अर्थात् एउटा उदाहरणीय नगर

मकर श्रेष्ठ
सङ्घीय राजधानी काठमाडौंको पूर्वी मोहडामा अवस्थित सानो जिल्लाको सानै नगर हो, भक्तपुर । तर, यो नगरको सामथ्र्य अब आकारमा होइन, उपलब्धिमा नाप्ने बेला आएको छ । शिक्षा र स्वास्थ्य सेवा सरकारीकरण गर्नुपर्ने पक्षमा सुरू भएको नयाँ बहस भक्तपुर नगरका लागि भने सफल अनुभवको सुखद नतिजा सिद्ध भइसकेको छ ।
‘कोही बिरामी छन् ?’
‘घरमा कोही बिरामी छन् कि ?’ एकाबिहानै ढोका ढक्ढक्याएर कसैले यसरी सोध्छ भने त्यो अन्यत्रका लागि अनौठो लाग्न सक्छ । तर, भक्तपुर नगरवासीका लागि यो सामान्य भइसक्यो । जस्तो कि २० असार २०७५ बिहान भक्तपुर नगरपालिका–८, जगातीका हरिकृष्ण शिल्पकारको घरमा देखियो ।
बिहानै घरको माथिल्लो तलामा परिवारसँग बसेर चिया खाइरहेका बेला शिल्पकारले तल ढोका बाहिरबाट कसैले बजाएको घण्टीको आवाज सुने । कान्छी छोरी रीनाले झ्यालबाट बाहिर नियालिन् । घण्टी बजाउने व्यक्ति भक्तपुर नगरपालिकाबाट घरदैलो नर्सिङ सेवा दिन खटिएकी स्टाफ नर्स सरिता गोसाई थिइन् । नगरपालिकाकै स्वास्थ्य स्वयंसेविका रत्नमाया खायमली पनि उनीसँगै उभिएर सोध्दै थिइन्, ‘कोही बिरामी छन् कि ?’
ढोकामा ओर्लिएकी रीनाले बुबा हरिकृष्ण, आमा रामलक्ष्मी, दाइहरू राकेश र राजेश तथा बहिनी सुप्रभाको उमेर, पेशा र शिक्षाबारे नर्स गोसाईलाई जानकारी गराइन् । उनले टिपाएको शैक्षिक विवरणअनुसार, आमा र बुबा साधारण लेखपढ गर्न जान्दछन्, दाइहरू र आफूले स्नातकोत्तर तह एवम् बहिनीले स्नातक तह पूरा गरेकी छन् ।
घरमुली दम्पती पनि तल ओर्लिए । नर्स सरिताले पहिले रामलक्ष्मीलाई भ¥याङको खुड्किलोमा बसाइ उनको रक्तचाप जाँचिन् । रक्तचापको मात्रा माथि १४० र तल ८० देखियो, जुन अलि उच्च हो । त्यसपछि सरिताले नुन र चिल्लो कम खान सल्लाह दिएर हरिकृष्णलाई पनि जाँचिन् । उनको रक्तचाप सामान्य देखियो ।
हरिकृष्णको घरमा जस्तै भक्तपुर नगरपालिकाका १० वटै वडाका घरघरमा नगरवासीको स्वास्थ्य अवस्था बुझ्न नगर कार्यपालिकाको कार्यालयले नर्स र स्वास्थ्य स्वयंसेविका पठाउँछ । बिहान ७ देखि ९ बजेसम्म घरदैलो गर्ने नर्स र स्वास्थ्य स्वयंसेविकाको टोलीले नगरवासीको रक्तचाप परीक्षण गर्छ । मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीको समस्या भएका बिरामीको निगरानी गर्नु पनि टोलीको काम हुन्छ ।
दैलोमै पुगेका नर्स र स्वयंसेविकाले बिरामी भएर उपचार नगराई घरमै बसेका नगरवासीलाई नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रहरूमा जान आग्रह गर्छन् । रक्तचाप र मधुमेहका बिरामीलाई नियमित औषधि खान र रोगले च्यापेका बिरामी छन् भने तिनलाई अस्पताल जान सल्लाह दिन्छन् । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमका बारेमा पनि नगरवासीलाई जानकारी दिन्छन् उनीहरू । सरकारले भक्तपुरसहित ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।
घरघरमा पुग्ने नर्स र स्वयंसेविकाहरू नगरवासीको स्वास्थ्य अवस्थासम्बन्धी विवरण बटुलिरहेका हुन्छन् । कुन रोगका कति बिरामी छन् भन्ने तथ्याङ्क पनि उनीहरूले सङ्कलन गरिरहेका छन् ।२०७५ जेठसम्म १ हजार ६६३ परिवारको स्वास्थ्य परीक्षण गर्दा ४३५ जनालाई उच्च रक्तचाप, १७७ लाई सुगर, ८० जनालाई दम, ८० जना हाडजोर्नी, ४१ जनामा ग्यास्ट्रिक, १३ जनालाई थाइराइड, ३१ जनालाई मुटु रोग, ९ जनालाई क्षयरोग रहेको पाइएको छ ।
त्यस्तै सुस्त मनस्थितिका ३, प्यारालाइसिस भएका ७, मिर्गौला रोगका ५, पत्थरी भएका ४ जना, कोलेस्ट्रोलका बिरामी १४, क्यान्सर भएका ७ र अशक्त अपाङ्ग १ जना रहेको अभिलेख नगरपालिकासँग छ । बिरामी भएका घरमा हेरचाहका लागि नर्ससहितको टोली नियमित रूपमा पुग्छ । वडाका सबै घरमा एक चरण पुगेपछि दोहो¥याएर जाने चलन छ । नगरपालिकाबाट यस्तो हेरचाह पाउँदा स्थानीय निकै खुसी छन् ।
१० वटै वडामा खटिएका नर्सहरू दैनिक कम्तीमा २० घरमा पुग्छन् । नगरवासीको स्वास्थ्य, शिक्षा र पेशासम्बन्धी तथ्य–तथ्याङ्क लिएर उनीहरू बिहान साढे ९ बजे नगरका तीन वटा जनस्वास्थ्य सेवा केन्द्रमा हाजिर हुन्छन् र आफूले सङ्कलन गरेका तथ्य–तथ्याङ्कहरू अद्यावधिक गर्छन् ।
उनीहरू पुगिनसक्दै जनस्वास्थ्य सेवाकेन्द्रहरूमा बिरामीको भीड लागिसकेको हुन्छ । बिहान ७ बजे नै खुल्ने केन्द्रमा चिकित्सक, नर्स र स्वास्थ्य स्वयंसेविकाहरू सबेरै घरदैलोमा पुगेर उपचारका लागि निम्त्याएका नगरवासीको प्रतीक्षा गरिरहेका हुन्छन् । त्यस्ता केन्द्रहरू च्यामासिंह, भगवती स्थान र ब्यासी गरी तीन ठाउँमा छन् । यसमध्ये च्यामासिंहको जनस्वास्थ्य केन्द्रमा ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ चिकित्सा सेवा पाइन्छ । दोहो¥याएर सेवा लिन जाँदा ३० रुपैयाँमात्रै तिरे पुग्छ । बालरोग, स्त्रीरोग, हाडजोर्नी, दाँत, नाक, कान र घाँटी, छालाको सेवा उपलब्ध रहेको च्यामासिंह जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा.रत्नसुन्दर लासिवाले बताए ।
च्यामासिंह केन्द्रमा छिमेकी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका बासिन्दा पनि उपचार गराउन आउँछन् । यहाँमात्रै दैनिक ३०० को हाराहारीमा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार हुन्छ । यो केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउनेमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें पनि छन् ।
नेता बिजुक्छें १९ असारको बिहान नौ बजेतिर हिंडेरै केन्द्रमा आइपुगे । बिरामीको चाप भएकाले आधा घण्टाजति कुरेपछि उनको पालो आयो । केन्द्रको १०१ नम्बरको फिजियोथेरापी कोठामा गई घुँडाको फिजियोथेरापी गराए । घुँडाको हड्डी खिइएपछि एक वर्षदेखि उनी केन्द्रबाट उपचार लिइरहेका छन् । नेता बिजुक्छें भन्छन्, ‘विशेषज्ञ सेवा नगरमै पाएपछि, बाहिर किन जानुप¥यो ?’
भक्तपुर नगरपालिका र आसपासका बासिन्दा लक्षित यी स्वास्थ्य केन्द्रहरूमा ९ जना विशेषज्ञ डाक्टर र १४ जना मेडिकल अधिकृत छन् । नर्स र अन्य कर्मचारी ६१ जना छन् । ‘भक्तपुर नगरवासीको औसत आयु कम देखिएको र औषधि उपचार सर्वसुलभ नभएकाले जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको’ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
रैथाने भाषामा परामर्श
नेवार समुदायको बाहुल्य रहेको भक्तपुरका अधिकांश बिरामीले नेवारी भाषामात्र राम्रोसँग बुझ्ने भएकाले स्वास्थ्य केन्द्रमा नगरपालिकाले प्रायः नेवारी भाषा जान्ने चिकित्सकहरूको व्यवस्था गरेको छ । बिरामीले आफ्नो समस्या नेवारीमै राख्छन् र चिकित्सकहरू पनि नेवारीमै सल्लाह दिन्छन् । डाक्टरले लेखिदिएका औषधि खाने तरिका सिकाउन स्थानीय भाषाको झन् बढी आवश्यकता पर्ने भएकाले नेवारी नबुझ्ने चिकित्सकलाई सघाउन सहयोगीको व्यवस्थासमेत गरिएको च्यामासिंह जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. लासिवाले बताए ।
नगरपालिकाका जनस्वास्थ्य सेवा केन्द्रमा बिरामीले स्वास्थ्य परीक्षणबापत तिर्नुपर्ने शुल्क पनि सस्तो छ । यहाँ रु.३०० मा एक्सरे र रु.१२५ मा ईसीजी सेवा पाइन्छ । सेवा केन्द्रमा पहिले बहिरङ्गसेवामात्रै दिइन्थ्यो । आकस्मिक कक्षको जरुरत पर्दा बिरामीलाई अन्यत्र लगेर उपचार गराउनुपर्ने भएपछि ७ जेठ २०७५ देखि २४ घण्टे आकस्मिक उपचार कक्षको पनि व्यवस्था गरिएको छ ।
१ साउन २०७४ देखि आयुर्वेद स्वास्थ्य उपचार सेवासमेत चलाइरहेको नगरपालिकाले एक वर्षमा ९ हजारभन्दा बढीलाई आयुर्वेद स्वास्थ्य सेवा दिएको छ । यो आर्थिक वर्ष लागेसँगै नगरपालिकाले क्यान्सरको उपचार, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्तिष्कघातको उपचार लिनुपर्ने नगरवासीलाई जनही रु.१० हजार सहयोग गर्न थालेको छ ।
नगरवासीको स्वास्थ्य अवस्था बुझ्न नर्ससँग घरदैलोमा खटिने स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले दैनिक रु.१०० भत्ता दिने व्यवस्था गरेको छ । नगरमा ९० जना स्वास्थ्य स्वयंसेविका छन् । बहिरङ्ग उपचार सेवामा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रतिदिन रु. १५०० र मेडिकल अफिसरलाई आंशिक सेवाबापत मासिक रु.१५ हजारसम्म भत्ता दिने गरिएको नगरपालिकाले जनाएको छ । ‘नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन यस वर्ष साढे ३ करोड रुपैयाँ बजेट छुट्याएका छौं’ नगर प्रमुख सुनिल प्रजापतिले भने, ‘नगरवासीको स्वास्थ्यमा ध्यान दिएनौं भने जतिसुकै विकास भए पनि त्यसको उपयोग कसले गर्ने ?’
नगरपालिकाले यस वर्ष आफ्नै लगानीमा २५ शैय्याको ख्वप अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । अस्पताल सञ्चालनका लागि अनुमति समेत लिइसकेको छ । अस्पताल बनाउन रु.१४ करोड विनियोजन गरिएको नगरप्रमुख प्रजापतिले बताए । ‘जसरी सस्तोमा बहिरंग सेवा प्रदान गरेर नगरवासीले सुविधा पाएका छन्, त्यसैगरी विशेषज्ञ सेवासमेत सस्तोमा आफ्नै ठाउँमा दिन लागेका हौं’, प्रजापति भन्छन् ।
नगरपालिकाले नगरका विभिन्न ६ स्थानमा शिशु स्याहार केन्द्र चलाएको छ । हरेक वडामा शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने नीतिअनुसार ती केन्द्रहरू खोलिएको नगरपालिकाले जनाएको छ । केन्द्रमा बच्चा राख्न चाहनेले मासिक रु.१ हजार तिर्नुपर्छ । १५ जना बच्चा बराबर एक जना आयाको व्यवस्था गरिएको छ ।
आफ्नै ७ शिक्षण संस्था
नयाँ संविधान र कानुनअनुसार, देशभरका सबै स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका छन् । यद्यपि विद्यालयमा स्थानीय सरकारको लगानी अनिवार्य गरिएको छैन । अन्य ७५२ स्थानीय तहमध्ये धेरैले आफूअन्तर्गतका विद्यालयको गुणस्तर सुधार्न केन्द्र र प्रदेश सरकारको मुख ताकिरहेका छन् । तर, भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा खोलेका सात शिक्षण संस्थामा वार्षिक रु.४० करोड खर्चेर मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।
‘कम शुल्कमा उच्च शिक्षा दिन, समाजलाई बौद्धिक बनाउन, नयाँ पुस्तालाई एक्काइसौं शताब्दीका चुनौती सामना गर्न सक्षम बनाउन र श्रमलाई उत्पादनशीलतासँग जोडेर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न’ नगरपालिकाको लगानीमा स्कूल र कलेजहरूसञ्चालन गरिएको नगर प्रमुख प्रजापतिले बताए । नगरपालिकाले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज सञ्चालन गर्दै आएको छ । यी सबै शिक्षण संस्थामा गरी अहिले ५ हजार ६०० विद्यार्थी छन् ।
२०५६ सालमा ख्वप माविमा ११ र १२ कक्षा सञ्चालन गर्ने अनुमति लिएर नगरपालिकाले शिक्षामा लगानी सुरू गरेको हो । जहाँ अहिले २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । ख्वप माविमा विज्ञान, व्यवस्थापन र मानविकीमा ११ र १२ कक्षाको पढाइ हुन्छ ।
२०५८ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको ख्वप इञ्जिनियरिङ कलेजबाट स्नातक र स्नातकोत्तर तहका गरी १ हजार ४४७ विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । कलेजको स्नातक तहमा सिभिल, बीई कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र आर्किटेक्चर, स्नातकोत्तर तहमा अर्थक्वेक इञ्जिनियरिङ र अर्बन डिजाइन एण्ड कन्जरभेसन विषयको पढाइ हुन्छ । अहिले यहाँ ६७ जिल्लाका ११०३ विद्यार्थी अध्ययन गरिरहेका छन् । यो कलेजमा यसवर्षदेखि कम्प्युटर इञ्जिनियरिङसमेत सुरू भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०६५ सालमा खुलेको ख्वप कलेज अफ इञ्जिनियरिङमा स्नातक तहको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ । यो कलेजमा अहिले ६४ जिल्लाका ६२३ विद्यार्थी अध्ययनरत छन् । यस कलेजबाट विगत १० वर्षमा ६८५ जनाले आफ्नो पढाइ पूरा गरिसके । ‘सुरूमा सातै शैक्षिक संस्थाको पूर्वाधार नगरपालिकाले बनाएको हो’ प्रजापति भन्छन्, ‘सबै संस्थालाई २०६५ सालसम्म नगरपालिकाले खर्च बेहोर्ने गरेको थियो । पछिल्लो समय कलेजकै आम्दानीले सञ्चालन भइरहेको छ । थप पूर्वाधार बनाउन समक्ष भएको छ । अब नगरपालिकाले खर्च गर्नुपर्दैन ।’
सातवटै संस्थाले वार्षिक सञ्चालन खर्च रु.४१ करोड आफैं जुटाउँछन् । स्वास्थ्यमा बाहेक अब शिक्षामा नगरपालिकाले लगानी गर्नु नपर्ने उनले बताए । ‘भौतिक पूर्वाधारमा खर्च भइरहेकोले कलेजको आम्दानी नगरपालिकामा ल्याउन सकिएको छैन’ मेयर प्रजापति भन्छन्, ‘कलेजको आम्दानी राम्रो भयो भने अब नगरको विकास निर्माणमा पनि खर्च गर्न सकिन्छ ।’
ख्वप कलेजमा व्यवस्थापन र मानविकी सङ्कायका विभिन्न विषयमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ । प्राचार्य रूपक जोशीका अनुसार अहिले यहाँ १३०० विद्यार्थी अध्ययनरत् छन् । सहुलियतपूर्ण शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने सातवटै कलेजलाई बन्द हड्तालले कहिल्यै असर गर्दैन । प्राचार्य जोशीका अनुसार, दक्ष र जिम्मेवार शिक्षक र कुशल कर्मचारीसँगै पर्याप्त पुस्तकसहितको पुस्तकालय र सुविधासम्पन्न प्रयोगशाला भएकोले यहाँ अधिकांश सार्वजनिक बिदाहरूमा पनि पढाइ भइरहेको हुन्छ ।
भाडाको भवनमा स्थापना भएको ख्वप कलेज अहिले नगरपालिकाबाट उपलब्ध जग्गामा निर्मित आफ्नै भवनमा सञ्चालित छ । ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।
२०५६ सालमा स्थापना भएको ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नर्सिङ र सिभिल इञ्जिनियरिङ पढाइ हुन्छ । यो शिक्षालयमा अहिले २८० विद्यार्थी छन् । अन्यत्र महँगो शुल्क लिएको भन्दै विरोध भइरहँदा संस्थानमा रु.२ लाख ४० हजारमा तीनवर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ अध्ययन गर्न सकिन्छ । नर्सिङ पनि सीटीईभीटीले तोकेकै शुल्कमा पढ्न पाइन्छ ।
यसबाहेक शारदा मावि र शारदा कलेज पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ । शिक्षामा नगरपालिकाले लिएको अग्रसरता मनपरेपछि व्यवस्थापन पक्षले तत्परता देखायो । त्यसपछि निजी क्षेत्रबाट चलेका तत्कालीन शारदा उच्च मावि र शारदा कलेजलाई नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको थियो ।
नगरपालिकाले चलाएका शिक्षण संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थी भक्तपुर नगरका मात्रै छैनन् । नगर कार्यपालिका कार्यालयको अभिलेखअनुसार मनाङ बाहेक देशभरका ७६ जिल्लाका विद्यार्थीले नगरपालिकाद्वारा सञ्चालित स्कूल तथा कलेजहरूमा अध्ययन गरेका छन् । आफ्ना विद्यालयमा पढ्ने विद्यार्थीलाई समयअनुसार योग्य र प्रतिस्पर्धी बनाउन नेपाली, अङ्ग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिमको व्यवस्था गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
सात शिक्षण संस्थाको सफलतापछि नगरपालिकाले अब आफ्नो मातहतमा आएका ३५ सामुदायिक विद्यालय सुुधारको अभियानसमेत थालेको छ । आफ्नो नगर क्षेत्रमा रहेका विद्यालयका शिक्षकलाई तालिम दिन थालेको छ । केन्द्रीय सरकारले पठाएको तलब भत्तासहितको रु.२४ करोड ७ लाख ४४ हजार अनुदानलाई सदुपयोग गर्ने योजना नगरपालिकाले अघि सारेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यसमा नगरपालिकाले रु.१ करोड थप गर्ने योजना बनाएको छ ।
‘ख्वप’ अर्थात् भक्तपुर
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका सात शैक्षिक संस्थाहरू रातारात प्रकट भएका होइनन् । यी संस्था स्थापनामा दुई दशक लामो कथा जोडिएको छ । २०५४ सालमा स्थानीय निर्वाचनमा प्रेम सुवालले शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने घोषणापत्रका साथ चुनाव जितेका थिए ।
चुनाव जित्नु सुवालका लागि सफलतामात्र नभई कर्मको प्रवेश परीक्षा पनि थियो । घोषणापत्रमा लेखिएका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने काम चुनौतीपूर्ण थियो । एउटा उदाहरण असहज यातायात व्यवस्थाबीच एसएलसी उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं वा ललितपुर जिल्लाका कलेजहरू धाउनुपर्ने बाध्यता थियो ।
सुवाल नेतृत्वको नगरपालिका बोर्डले निर्वाचित भएको दुई वर्षपछि ३२ असार २०५६ सालमा कक्षा ११ र १२ को पढाइ तुरुन्तै सञ्चालन गर्न तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिने निर्णय ग¥यो । त्यसबेला स्थानीय निकायले कलेज सञ्चालन गर्न सक्छ भन्ने कल्पनासमेत गरिंदैनथ्यो । सरकारी अधिकारीहरूको सोचाइ पनि त्योभन्दा फरक थिएन ।
सम्बन्धन माग्दै परिषद्मा पुगेको नगरपालिकाको प्रतिनिधिमण्डललाई परिषद् पदाधिकारीले व्यक्तिको नाममा कलेजको सम्बन्धन लिन सुझाए पनि नगरपालिकाले त्यसो गर्न मानेन । आवेदनको साथमा नगरवासीहरूको जनश्रमदानसमेत जुटाएर कलेज भवन बनाइसकेको प्रमाण पेश गरेपछि परिषद्ले कलेज सञ्चालन गर्न अनुमति दिएको थियो ।
नगरपालिकाले खोलेको त्यो पहिलो शिक्षण संस्था ख्वप मावि थियो । नेवारी नाम ‘ख्वप’ को अर्थ भक्तपुर हो ।कलेज खोल्दा २०५८ सालमा नगरपालिकाले १५ वर्षभित्रमा नगरका प्रत्येक घरमा कम्तीमा स्नातक तहसम्म अध्ययन गरेको एकजना व्यक्ति हुनुपर्ने लक्ष्यका साथ ‘एक घर, एक स्नातक’ अभियानको थालनी गरेको थियो । जुन लगभग पूरा हुने अवस्थामा पुगेको नगर कार्यपालिकाको दाबी छ ।
ख्वप कलेज स्थापनाको दुई वर्षपछि नगरपालिकालाई १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई पढाउने स्नातक क्याम्पसको खाँचो प¥यो । २०५८ सालमा खुलेका ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेज त्यसैका उपज थिए । यी दुई कलेजलाई क्रमशः त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिए । पहिलो व्याचका विद्यार्थीले इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गर्दासम्म ख्वप इञ्जिनियरिङ कलेजले स्नातकोत्तर तहको पनि अनुमति लिएर कक्षा सञ्चालन थाल्यो ।
यी दुई कलेजले भक्तपुरका विद्यार्थीलाई उच्च शिक्षाको लागि अन्यत्र जानुपर्ने बाध्यतामा बिराम लगाए । सँगै देशका सबैजसो जिल्लाबाट आएका विद्यार्थीलाई पनि मौका दिए । भिन्नाभिन्नै दुई विश्वविद्यालयहरूबाट सम्बन्धन पाएका यी दुई कलेज एउटै कम्पाउन्डमा भए पनि प्रशासन भने फरक छ ।
दुवै इञ्जिनियरिङ कलेज, ख्वप बहु प्राविधिक अध्ययन संस्थान खोल्न योगदान दिएर इञ्जिनियर राजन सुवालले भक्तपुरवासीलाई गुन लगाएका छन् । एकताका उनी शारदा कलेजबाहेक सबैको प्रिन्सिपल थिए । उनले नेतृत्व लिएकै बेला ख्वप इञ्जिनियरिङ कलेजबाट मुलुकमै पहिलो पटक स्नातकोत्तरमा आर्किटेक्चर इञ्जिनियरिङको पढाइ सुरू गरे । १२ वैशाख २०७२ सालको भूकम्पले गरेको ठूलो भौतिक र मानवीय नोक्सानीमा इञ्जिनियरिङ क्षेत्र पनि जिम्मेवार रहेकोले यसलाई जवाफदेही बनाउनुपर्छ भनेर तर्क राख्ने निर्माण क्षेत्रका थोरै विज्ञमा पर्छन्, राजन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि नगरपालिकाले विद्यालय तहको १ देखि ६ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको छ । भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुदलगायतका विषय समेटिएको पाठ्यक्रम नयाँ पुस्तालाई भक्तपुरबारे सिक्न सहयोगी हुने नगर प्रमुख प्रजापतिले बताए । उनका अनुसार, अर्को वर्षदेखि ८ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको लक्ष्य छ ।
त्यसबाहेक सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले यो वर्षदेखि मन्टेश्वरी सिकाइ पद्धति लागू गरेको छ । त्यसअघि नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिइएको थियो । तालिमबाट कक्षामा सुधार आए÷नआएको निगरानीका लागि नगरपालिकाले ६ महिनासम्म अनुगमन गर्नेछ ।
नगर प्रमुख प्रजापतिका अनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु.५ लाखसम्म ऋण दिन चालू आर्थिक वर्षका लागि नगरपालिकाले रु.१ करोड ५५ लाख छुट्याएको छ । ऋण लगानीको कार्यविधि तयार भइरहेको उनले बताए ।
भक्तपुर नगरपालिका अब विश्वविद्यालय खोल्ने तयारीमा छ । ख्वप विश्वविद्यालय विधेयक सरकारले दुई वर्षअघि संसदमा पेश गरेको थियो । बेलैमा छलफल नहुँदा संसद विघटनसँगै त्यो विधेयक निष्क्रिय हुनपुग्यो । मेडिकल शिक्षाबाहेक कला, संस्कृति, विज्ञान, कानुन, कृषि, अर्थशास्त्र, प्रविधि तथा व्यावसायिक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि ख्वप विश्वविद्यालयको स्थापना गर्न खोजिएको हो । नगरपालिकाले विश्वविद्यालय तयारी कार्यदल गठन गर्न यो वर्ष रु.१० लाख बजेट पनि छुट्याएको छ ।
‘राम्रो छ तर एकलौटी छ’ ः विपक्षी
भक्तपुर नगरपालिकाले अन्य स्थानीय सरकारको जस्तो आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ता गर्नुपर्दैन । भक्तपुर घुम्न आउने विदेशी पर्यटकबाट मात्रै वार्षिक २५ करोड रुपैयाँभन्दा बढी राजश्व उठ्छ । भौगोलिक रुपमा विकट छैन । नगरपालिकाले प्राथमिकता दिएको क्षेत्रमा चाहेजति खर्च गर्नसक्छ ।
अन्य स्थानीय निकायले वर्षौंसम्म कर्मचारीको भरमा चलाए । तर, भक्तपुर नगरपालिका भने पूर्वजनप्रतिनिधिको निगरानीमै थियो । ‘निर्वाचन नभएसम्म पूर्वजनप्रतिनिधिले निर्वाचित जनप्रतिनिधिकै हैसियतले काम गर्ने निर्देशन थियो’ मेयर प्रजापति भन्छन्, ‘पार्टीले जुन विषयलाई प्राथमिकता दिएको थियो, त्यसले निरन्तरता पाइरह्यो । त्यसैले शिक्षा र स्वास्थ्यमा हामी अगाडि भयौं ।’ भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाहेक अन्य पार्टीको प्रतिनिधित्व शून्य छ । उसले जे ग¥यो, त्यसको विरोध गर्ने कोही पनि छैनन् ।
(पत्रकार श्रेष्ठले यो रिपोर्ट खोज पत्रकारिता केन्द्रका लागि तयार पारेका हुन्)
मूल स्रोतः नेपाललाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *