भर्खरै :

दुई कोरियाबीच तेस्रो शिखर वार्ता

प्योङयाङ, १८ सेप्टेम्बर । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन मङ्गलबार प्रजग कोरियाको राजधानी प्योङ्गयाङ्ग पुगेका छन् । उनी यसै वर्ष हुन लागेको तेस्रो अन्तरकोरियाली शिखर सम्मेलनमा सहभागी बन्न प्योङ्गयाङ्ग पुगेका हुन् । स्थानीय समयअनुसार बिहान १० बजे मुन र उनकी श्रीमती किम जङ्ग सुक चढेको विमान प्योङ्गयाङ्ग विमानस्थल अवतरण भएको थियो । विमानबाट बाहिर मुन दम्पत्तीले हात हलाएर अभिवादन गरेका थिए । उनीहरूलाई स्वागत गर्न प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उन र उनकी श्रीमती रि सोल जु विमानस्थल पुगेका थिए । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न हजारौं प्रजग कोरियाली जनता परम्परागत कोरियाली भेषभूषामा फूल गुच्छा, प्रजग कोरियाली राष्ट्रिय झण्डा र कोरिया प्रायःद्विपको संयुक्त झण्डा लिएर भेला भएका थिए ।
‘राष्ट्रपति मुन जाए–इनलाई प्योङ्गयाङ्गमा हार्दिक स्वागत ।’ त्यहाँ राखिएको व्यानरमा लेखिएको थियो ।
दुई नेताले सुरुमै आपसमा अङ्गालो मारेका थिए । बेखवावनको सरकारी आवास गृहमा दुवै नेता जानुअघि पाहुनाको स्वागतमा प्रजग कोरियाली सेनाले सम्मान गारड टक्राएको थियो ।
दुवै नेता अलग अलग गाडीमा बसेर सरकारी पाहुना गृहमा पुगेका थिए । मुनको प्योङ्गयाङ्ग भ्रमणलाई सिओलले विशेष चासोका साथ हेरिरहेको छ । सिओलका धेरै प्रेसले उनको भ्रमणको प्रत्यक्ष प्रसारण गरेका थिए ।
किम र मुनबीच यही वर्षको अप्रिल २७ र मे २६ मा दुई पटक पानमुनजोम सीमावर्ती गाउँमा भेटेका थिए । ती बैठकलाई दुई कोरियाबीचको सम्बन्ध सुधारमा कोशेढुङ्गा मानिएको छ ।
दक्षिण कोरियाली नेता मुन आगामी बिहीबारसम्म प्रजग कोरियामा बस्ने कार्यक्रम तय छ । मुनका वरिष्ठ प्रेससचिव यु योङ्ग–छानले सिओलको प्रेस केन्द्रलाई बताएअनुसार मङ्गलबार दुई नेताबीच साढे एक घण्टा भेट्ने कार्यक्रम रहेको छ ।
मुनको प्रतिनिधिमण्डलमा उनको मन्त्रीमण्डलका मन्त्री, सरकारी अधिकारीहरू, सांसदहरू, व्यापारी र कलाकारहरू समावेश छन् ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले प्योङ्गयाङ्ग शिखर सम्मेलनको लक्ष्य गएको अप्रिलमा भएको पहिलो अन्तरकोरियाली शिखर सम्मेलनबाट जारी भएको पानमुनजोम घोषणाको कार्यान्वयनबारे छलफल गर्नु हो ।
‘प्योङ्गयाङ्ग शिखर सम्मेलनले नयाँ इतिहास बनाइरहेको अन्तरकोरियाली सम्बन्धको विकासमा थप गति दिन महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।’ केसीएनएले भनेको छ ।
प्योङ्गयाङ्गको लागि उड्नुअघि दक्षिण कोरियाली राष्ट्रपति मुनले प्रजग कोरियाको भ्रमणका क्रममा आफू किमसँग धेरै खुलस्त कुरा गर्न इच्छुक भएको बताए । ‘कोरियाली प्रायःद्विपमा अप्रतिगामी, स्थायी शान्ति स्थापना गर्नु र प्रायःद्विपमा आणविक निःशस्त्रीकरणको लागि प्रजग कोरिया–दक्षिण कोरियाबीचको वार्ता पुनः थालनी गर्न मद्दत गर्नु हो ।’ उनले भने ।
सन् २०१८ को थालनीसँगै दुई कोरियाबीच सम्बन्धमा उल्लेख्य सुधार भएको छ । तथापि आणविक निःशस्त्रीकरणको सन्दर्भमा प्रजग कोरिया र संरा अमेरिकाबीचको सम्बन्धमा अझै धेरै चुनौती भएका कारण समस्या समाप्त भइसकेका छैनन् ।
बितेका ११ वर्षमा प्रजग कोरियाको राजधानी प्योङ्गयाङ्ग पुग्ने दक्षिण कोरियाका प्रथम राष्ट्रप्रमुख हुन् । यसअघि सन् २०० मा दक्षिण कोरियाका तात्कालीन राष्ट्रपति किम दाए–जुङ्ग र सन् २००७ मा तात्कालीन राष्ट्रपति रुह मुन–ह्युनले प्योङ्गयाङ्गको भ्रमण गरेका थिए । त्यत्तिबेला प्रजग कोरियाको सर्वोच्च नेता किम जङ्ग इल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *