भर्खरै :

बालिका पन्तबारे प्रचण्डजीले बोल्नुपर्ने

काठमाडौं, ४ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्ता पक्ष नेकपाका अध्यक्ष प्रचण्ड दुईपटक प्रधानमन्त्री र सरकार सञ्चालनमा अनुभवीसमेत हुनुभएकोले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पत्ता लगाउन मद्दत गर्नसक्नुहुने उल्लेख गर्नुभयो ।
सांसद सुवालले नेकपाका एक अध्यक्ष प्रम केपी ओलीले बालिका पन्तको बलात्कारपछिको हत्याको अपराधी पत्ता लाग्ने र कारबाही हुने बोल्नुभएको पनि एक महिना नाघिसकेको उल्लेख गर्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सदनमा बोल्नुभए अपराधीको मनोबल गिर्ने बताउनुभयो ।
बालिका पन्तको बलात्कारपछि हत्या घटनाका अपराधी समयमा पत्ता नलागेको हुँदा देशभरि नै असन्तुष्टी उत्पन्न भएको चर्चा गर्दै उहाँले यो आन्दोलनले सरकार परिवर्तन गर्नुपर्ने स्थिति उत्पन्न हुन सक्ने सम्भावना अस्वीकार गर्न नमिल्ने उल्लेख गर्नुभयो ।
बालिका पन्तको बलात्कारपछि हत्याले उनका सहपाठीहरूसमेत विद्यालय जान भयभित भएको, प्रहरीले विद्यार्थीलाई अनुसन्धानको क्रममा पटक–पटक बोलाउँदा त्रसित भएको उल्लेख गर्दै सांसद सुवालले दोषी पत्ता नलागेसम्म विद्यार्थीहरू ढुक्क हुननसक्ने बताउनुभयो ।
सोही दिन बसेको दोस्रो बैठकमा शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबारे सैद्धान्तिक छलफल गर्न नियमावलीको नियम निलम्बन गरिएकोमा विरोध गर्दै सांसद सुवालले अशान्ति, युद्ध, शोषण, आक्रमण र उपनिवेशको कारक पुँजीवाद र साम्राज्यवाद नै भएको बताउनुभयो ।
सांसद सुवालले नेपालमा पनि सरकारहरूले भ्रष्टाचार, बलात्कार र हत्यालाई नदेखेझैं गर्दै आएको हुँदा त्यस्तो सम्झौतामा हस्ताक्षर गर्दैमा शान्ति स्थापना नहुने स्पष्ट गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक असोज ९ गते दिउँसो २ बजे बस्नेछ । प्रतिनिधिसभाअन्तर्गतका समितिहरूको सभापतिको चुनाव असोज ५ गते बिहान ११ बजे हुनेछ भने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका सभापतिको चुनाव असोज ७ गते दिउँसो १ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *