नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
शान्ता गोखाले
भारतका उपन्यासकार र समालोचक शान्ता गोखाले गएको सेप्टेम्बर १४ मा तामिल नाडुमा आयोजित उट्टी साहित्य सम्मेलनमा पाहुना वक्ताको रुपमा आमन्त्रित थिइन् । सो क्रममा उनले भारतमा आजको फासीवादी शासनका कारण लेखक, कवि कलाकारले भोग्नुपरेका चुनौती र त्यसको प्रतिरोधबारे मन्तव्य दिएकी थिइन् । कलमलाई शत्रु देखिरहेका भारतका शासक वर्गले कलमजीवीमाथि चलाएको दमनको डण्डाबारे उनको यो मन्तव्य त्यहाँको अवस्था बुझ्न उपयोगी लेख भएकोले नेपालीमा अनुवाद गरिएको छ ।
लेखक मित्रहरू र अरु साथीहरू, शुभ प्रभात । पहाडबाट शुद्ध चिसो हावा चलेको आजको जस्तो बिहानमा म धेरै उज्याला र ऊर्जाशील कुरा गर्न रुचाउँछु । तर दुःखको कुरा म त्यस्तो कुरा गर्न सक्दिनँ पो त ! म पछिल्लो समय मेरो दिमाग, हामी सबैको दिमागमा भएका कुरामात्र गर्नसक्छु ।
केही वर्ष भयो, हाम्रो मनमा एक प्रकारको भयले राज गरिरहेको छ । हामी आफूले देखेको वा आफूलाई लागेको कुरा लेख्न डराइरहेका छौं । हामीले लेखेको कुराले कुनै न कुनै समुदायमाथि गहिरो चोट पुग्ला र त्यसै कारण हामी कुनै कानुनी फन्दामा परौंला कि भन्ने पिरलो मनमा छ । अदालत भनेको वास्तवमा एउटा बलियो राज्यसामु कोही कमजोर नागरिकले न्याय माग्न सहयोगको लागि बनाइएको बन्दोबस्त थियो । कुनै बेला त्यो कमजोर नागरिकका लागि ठूलो बरदान सिद्ध भयो । तर हालैका दिनमा आएर त्यो अदालती प्रक्रिया लेखक र कलाकारको लागि श्राप बन्दै गएको छ । जो कोही पनि अदालतमा गएर कुनै एउटा जाति, समुदाय र धर्मको नाममा न्याय माग्दै मुद्दा दायर भइरहेका छन् । यहाँ न्याय भनेको लेखकको अपमान वा उनका कृतिमाथिको बन्देज हो । कुनै कुनै बेला पीडित भनिएको समुदायले त कानुनको समेत पर्वाह गर्ने गर्दैनन् । उनीहरू कलाकारलाई समाजमा बस्नै नसकिने गरी सामाजिक बहिष्कारको पुरानो हतियार प्रयोग गर्ने गर्दछन् ।
मैले आजभन्दा ६० वर्षअघि देखि लेख्न थालेकी हुँ । त्यत्तिबेला भारत भर्खरै जन्मेको आशाको नयाँ गणतन्त्र थियो । त्यही आशाको गणतन्त्र कुनै दिन चिन्तक र लेखकका लागि आतङ्कको राज्य बन्ने हामी कहिल्यै चिताएका थिएनौं । त्यत्तिबेला पनि विश्वमा अधर्म र अन्याय थियो । तर परिचय र पहिचानलाई आज जस्तै कमलो र अण्डाको खोल जत्तिकै कमजोर बनाइएको थिएन । अभाव, बेरोजगारी, भ्रष्टाचारजस्ता समस्याका कारण जनतामा आक्रोश थियो, निराशा थियो, अफसोस मान्थे जनता । तर हामीलाई हाम्रा विचार पोख्न कुनै भयको वातावरण थिएन । हामी समाजका ती समस्या सम्बोधन गर्न नवकथा, नवकाव्य, नवनाटक रचना गर्ने गथ्र्यौं । हामीले हाम्रो घरका भित्तामा रहेका पुराना गुलाबी रोमान्टिसिज्म कुचोले सफा गथ्र्यौं । अनि भेटाउँथ्यौं त्यस्तो रोमान्टिसिज्म पछाडिको मक्किएको पर्खाल र माकुरोको जालो । त्यसो गर्नु हाम्रो सामाजिक दायित्व मान्थ्यौं । हामी पढेलेखेका उदार मध्यम वर्गले हाम्रो सामाजिक दायित्व भूमिका निभाइरहेका थियौं । हामी हाम्रो राष्ट्र निर्माण गर्न सहयोग गरिरहेका थियौं । तर हामीले बिन्दुहरू जोडिरहेका रहेनछौं । हामीले के कुरा बुझ्न सकेका रहेनछौं भने हामीले जुन कुरालाई समाजको रोग मानिरहेका थियौं, ती कुरा भनेका त थोरैलाई फाइदा दिएर धेरैलाई वञ्चित गर्ने सम्पूर्ण बन्दोबस्तको अभिन्न पक्ष पो रहेछ । सन् १९७० को दसक भोगिसकेपछि हामीले यो कुरा राम्ररी बुझ्यौं । सन् १९८८ मा मैले एउटा नाटक लेखेकी थिएँ । त्यो नाटकमा एक जना पात्र छन्– अभिनाश । अभिनाशले भन्छ, ‘‘मेरो दाइले भोगेको डिप्रेसनको समस्या कुनै जन्मजात मनोवैज्ञानिक समस्याको परिणाम पक्कै होइन । त्यसको जरा अर्थतन्त्र, सामाजिक संरचना र राजनीतिक बन्दोबस्तमा गाडिएको हुनसक्छ ।’ उसको त्यो भनाइ सुनेर अभिनाशका बुबा कडकिंछन्, ‘‘यसको राजनीतिसँग के सम्बन्ध छ र ? आज तिमीले जे भोगिरहेका छौ, त्यो तिम्रो नियतिको फल हो ।’’
सङ्कटकालः भालेको डाँक
सङ्कटकालले हामीलाई हाम्रो आत्मश्लाघाबाट व्युँझाइदियो । भारतको स्वतन्त्र यता प्रजातन्त्रको स्याउमा पहिलोपटक आफ्नो कुरुप अनुहारका साथ किरा देखाप¥यो । त्यत्तिबेला पहिलोपटक हामीले बिन्दुहरू जोड्न थाल्यौं । श्रीराम लागोको भनाइ निकै चर्चित बन्यो, हामी खाना खाएर भातेनिद्रा सुत्ने पुस्तामा प¥यौं । तर आजसम्ममा हामी त पूरै व्यँुझिसकेका छौं । मुम्बईमा प्रजातान्त्रिक अधिकार रक्षा समिति गठन भएको छ । अन्यत्र पनि अरु नागरिक अधिकार सङ्गठनहरू स्थापना भएका छन् । इतिहासमा अमेरिकामा (बब) वडवार्ड र (कार्ल) बर्नस्टिन)ले वाटरगेट काण्डको अनुसन्धान गरेका थिए । सङ्कटकालले अनुसन्धानमुखी पत्रकारिता हाम्रोतिर पनि ल्याइपु¥यायो । रचनात्मक लेखकहरूलाई ब्युँझन आह्वान गरियो र आफ्नो परिचय देखाउन भनियो । जीपी देशपाण्डेले आफ्नो आधुनिक शास्त्र ‘उद्दवस्ता धर्मशाला’ लेखे । मैले त्यो कृतिलाई ‘ए म्यान इन डार्क टाइम्स’ भनी अनुवाद गरें । एउटा नाटकमा एक जना प्राध्यापकलाई माक्र्सवादी पार्टीको सङ्गठित सदस्य भएको आशङ्कामा विश्वविद्यालयले सोधपुछ गर्छ । त्यो नाटक गैरअमेरिकी गतिविधि सम्बन्धमा अमेरिकाको एउटा संसदीय समितिको प्रतिवेदनमा प्रेरित नाटक थियो । सङ्कटकाल घोषणा हुन एक वर्षअघि सो प्रतिवेदन सार्वजनिक भएको थियो । अमेरिका र भारतबीच त्यत्ति धेरै भिन्नता थिएन । निःसन्देह सङ्कटकालको समयमा त्यस्तो कुनै सोधपुछ त गरिएको थिएन । बरु भिन्न विचार राख्ने राजनीति विपक्षलाई सरकारले सिधै टपक्क टिप्थ्यो, जेलमा कोच्थ्यो र यातना दिने गथ्र्यो । प्रहरी आफ्नो कर्तव्य मन लगाएर पूरा गर्थे । अनि त्यत्तिबेला कसैले पनि बोल्न सकेका थिएनन्, किनभने मिडियामाथि कडा सेन्सर थोपरिएको थियो । आज मिडियामा कुनै बाहिरी सेन्सरको आवश्यकता नै छैन । किनभने तिनका रक्तनलीमा यसरी भयको सुई दिइएको छ, उनीहरू आफैं सेन्सर गरिरहेका छन् ।
सन् १९७० दसक सम्पूर्णतः हाम्रो पुस्ताको आँखा खोलिदिने दसक थियो । सङ्कटकाल लाग्नु दुई वर्षअघि हामी सबैका टाउकामा नामदेव धसालको कवितासङ्ग्रह ‘गोल्पिथ’ ले घनप्रहार ग¥यो । त्यो कवितासङ्ग्रह र त्यसको प्रकाशनपछि आएका दलित आत्मकथाहरूले हामी सुत्दै आएको नरम ओछ्यानबाट हामीलाई अर्कोतिर बग्ने गरेको खुला नालीमा पु¥याइदियो । हाम्रा सबै नवकथा र नवकाव्य त मध्यवर्गको चिन्ता र चासोका विषयमा मात्र थिए । पक्कै पनि हामी आक्रोशित थियौं । हाम्रो निरस दैनिकीबारे हामीलाई चित्त बुझेको थिएन । पुस्तान्तरण, भ्रष्टाचारबारे हाम्रो मन मानेका थिएनन् । हामी यी यस्ता सबै पीडा राम्रा शब्दमा अभिव्यक्त गर्दथ्यौं । तर के हामीले लेख्ने गरेको अङ्ग्रेजी भाषाले दुर्गमका दलितको जीवनको व्याख्या गरेका थिए ? मानव समाजको सीमान्तमा निर्मम जीवन बाँच्न बाध्य ती मानिसका आवाज हाम्रा भाषामा समेटिएका थिए ? हाम्रा ती शब्दलाई अनुवाद गर्ने अनुवादक भेटाउनु हाम्रो लागि चुनौती थियो । सन् १९८० दसकमा म महिला पत्रिका ‘फेमिना’ को साहित्यिक खण्ड सम्पादन गरिरहेकी थिएँ । त्यसक्रममा मैले मराथी भाषामा लेखिएको एक जना दलित महिलाको पहिलो आत्मकथाबाट एउटा पाठ अनुवाद गरें । शान्ताबाई काम्बलेको ‘मज्या जलमाची चिट्टरकथा’ थियो त्यो कृति । मैले त्यो किताबमा रहेको ‘चिट्टरकथा’ शब्दको सही अर्थ पहिल्याउन आधा दर्जन शब्दकोष धाउनुप¥यो । कुनैमा पनि त्यसको अर्थ भेटिएन । पछि मैले त्यसको शाब्दिक भन्दा पनि परिवेशजन्य अनुवाद गरें । त्यसको शीर्षक राखियो,‘द स्टोरी अफ माई टाट्टर्ड लाइफ’ (मेरो जीर्ण जीवनको कथा) ।
सन् १९७० को अर्को आँखा उघार्ने पक्ष भनेको महिलावाद हो । सिमोन डी बुभरले सन् १९४९ मा द सेकेण्ड सेक्स (महिला) भन्ने पुस्तक लेखिन् । म किशोरावस्थामै हुँदा मैले त्यो पुस्तक पढेकी थिएँ । तर त्यत्तिबेला मैले सोचेको थिएँ, यी सब पश्चिमा समाजका कुरा हुन् । तर आजभोलि ती सबै हाम्रा कुरा भएको महसुस गर्दैछु । हामी सबैको लागि लेखिएको पुस्तक । मेरो पहिलो उपन्यास ‘रीता विलेङ्कर’ मेरो यही चेतनाले जन्माएको कृति हो । हामी सबै पितृसत्ताका शिकार हौं–हामी जो पनि हुनसक्छौं, एक जना श्रीमती, बाहिरिया वा यौनकर्मी, ब्राम्हण वा दलित, हिन्दू, क्रिस्चियन वा मुसलमान, दक्षिणपन्थी वा वामपन्थी, घरभित्र वा कार्यस्थलमा ।
भयको ‘सङ्क्रामक किटाणु’
सन् १९८८ मा सलमान रुज्दीले ‘साटानिक भर्सेस’ पुस्तक लेखे । त्यो पुस्तक लेखेबापत उनीविरुद्ध फतवा घोषणा गरियो । भारत सरकारले त्यो पुस्तकमाथि बन्देज लगायो । तर भारतका लेखक र कलाकारहरू अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सो पुस्तक बन्देज गर्ने निर्णयको विरोधमा उभिए । आज पनि हामीले त्यो क्रम चालू राखेका छौं । तर अहिलेको सामाजिक वातावरणमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार अभ्यासमा ल्याउन घातक रुपमा खतरनाक बनिरहेको छ । बोल्नु मेरो अधिकार हो भन्ठान्ने जोकोही लेखकको टाउकोमाथि आज तरबार झुण्डिएको अवस्था छ । लेखक कलाकारलाई कानुनअनुसार विभिन्न धर्म, क्षेत्र, भाषा र जातिमा विभाजित मानिसबीच बैमनस्यता बढाउने गलत मनसाय पालेको भन्ने अभियोगमा सजाय दिने गरिएको छ ।
म प्रायशः अफसोसका साथ (हान क्रिस्चियन) एन्डरसनको बादशाहको विषयमा सोच्ने गर्दछु जसले चलाखीपूर्वक अदृश्य पोशाक लगाएका थिए । बफादार भारदार र अधिकारीहरूले त्यो अदृश्य पोशाकको लुगा र शैलीको बढाइचढाइ या तारिफ गरेका थिए । तर मानिसको भीडबीच बसिरहेको निर्दोष आँखा भएका बालकले बादशाह नाङ्गै भएको घोषणा गरेका थिए । मानिसहरूले जे हो त्यही सत्य देखे । बादशाहले पनि आफ्नो नग्न अवस्था महसुस गरे । तर पनि बादशाह आँखा चिम्म गरी हिंडिरहे । उनलाई लागेको थियो, आफ्ना अधिकारीहरूसामु आफू जतिसुकै मूर्ख र तुच्छ भए पनि उनीहरूले आफ्नो कुभलो गर्नसक्दैनन् । आज बादशाहहरूले आफू सुरक्षित नभएको जानिसकेका छन् । त्यही भएर आज सत्य बोल्नेहरूलाई गिरफ्तार गरिन्छ र जेलमा कैद गरिन्छ ।
सौभाग्यवश हामी सर्वसत्तावादी राज्यका लेखकहरूकै डुङ्गामा छैनौं । म भित्री मनदेखि त्यो दिन कहिल्यै नआओस् भनी कामना पनि गर्दछु । तर हामी पक्कै पनि ओरहान पामुकको डुङ्गा भने छौं । उनलाई सन् २००६ मा पहिलो विश्वयुद्धको क्रममा भएको आमनरसंहारमा टर्कीले हजारौं अर्मेनियालीको हत्या गरेको कुरा लेखेर टर्कीको गौरवको अपमान गरेको अभियोग लगाइएको थियो । अन्तर्राष्ट्रिय दबाबका कारण इस्टानबुल अदालतले उनीमाथिको अभियोग फिर्ता त लियो, तर सडकको अदालतबाट भने उनले मुक्ति पाएनन् । उनको अपमान गरियो, कुटपिट भयो, उनी अदालतभित्र पस्न लाग्दा र बाहिर निस्कंदा अण्डा प्रहार भयो । अनि हामी इजिप्टका उपन्यासकार नगिब महफौजको डुङ्गामा छौं जसमाथि ज्यान मार्ने हिसाबले छुरा प्रहार भएको थियो । उनका उपन्यासका कारण उनलाई एकजना इस्लामवादीले छुरा प्रहार भएको थियो । उनका उपन्यासलाई इस्लामिक कट्टरपन्थीहरू धर्मविरुद्ध भएको मान्छन् । महफौजमाथिको हमला यति महङ्गो साबित भयो, उनी दिनको केही मिनेटबाहेक केही लेख्न नसक्ने भए । हामीलाई आफ्नै अनुभवबाट पनि थाहा भएको कुरा हो, जब कुनै राजनीतिक र धार्मिक शक्तिले मानिसलाई संस्कृति, नैतिक र राष्ट्रवादको आत्मकेन्द्रित र एकोहोरो परिभाषाबाट प्रशिक्षित बनाउँछ भने त्यस्तो परिस्थितिमा सडकमा हिंडिरहेको मानिसले कोही अर्को थरी वा विचार बोकेको मानिसमाथि कुटपिट गर्न सक्ने शक्ति हासिल गरेको हुन्छ । त्यसरी कुटपिट गर्नेलाई राज्यले संरक्षण दिएको हुन्छ, अझ कहिलेकाहीं त पुरस्कारसमेत दिने गर्दछ ।
भय हाम्रो जीवनमा सङ्क्रामक किटाणुसरह पसिसकेको छ । ‘मुम्बई मिरर’ पत्रिकाको लागि संस्कृति स्तम्भ लेख्दा हालसालसम्म पनि म राजनीतिक संस्कृतिको आलोचनामा लेख्ने गर्दथेँ । सन् २०१३ मा मैले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारप्रति व्यङ्ग्य गरेर स्तम्भ लेखेकी थिएँ । सन् २०१५ मा पनि मैले शिवाजी पार्कमा प्रधानमन्त्रीको नाट्य प्रस्तुतिबारे लेखेको थिए । त्यो स्तम्भ पढेका मेरा साथीहरूले मलाई भनेका थिएँ, ‘अलि होसियारी हुनु ।’
सन् २०१६ मा गोविन्द निहालानीले मञ्जुला पद्मनाभानले सन् १९८६ मा लेखेको नाटक लाइट आउटमा आधारित मराथी भाषाको चलचित्रका लागि पटकथा र संवाद लेख्न मलाई आग्रह गरे । तर त्यो नाटकले मलाई त्यत्ति छोएन । मनलाई नछोएको नाटकको चलचित्रको संवाद लेख्ने कसरी ? त्यो वास्तवमा असान्दर्भिक भइसकेको थियो । हाम्रो समयको सामाजिक आर्थिक जटिलतालाई त्यसले प्रतिबिम्बित गर्न सकेको थिएन । त्यसमा दैलोमा ठूलठूला घटना भइरहेको समयमा पनि मौन रहने उच्च मध्यम वर्गको बानीलाई नै मूलभूत रुपमा एकोहोरो जोड दिइएको छ । त्यसलाई टुक्राटुक्रामा विभाजन गरी तहगत विश्लेषण गर्न आवश्यक थियो ।
मैले गोविन्दसँग त्यो नाटकमा रहेका केही निरस पात्रहरूको फ्याकेर नयाँ पात्र रचना गर्ने विशेष अधिकारको माग गरें । त्यसो गरेमात्र त्यसलाई आजको सन्दर्भमा सान्दर्भिक चलचित्र बनाउन सकिने थियो । मञ्जुलाको नाटकमा केटीहरू बलात्कृत हुन्छन् तर आफ्ना उच्च मध्यम वर्गीय छिमेकीका सामु खुला रुपमा केही नभएजस्तो गर्छन् । मेरो कथामा ती केटीलाई बेचिएका केटीहरू बनाइएका छन् । मूल नाटकमा रहेको मौन नोकर्नीको सट्टामा मैले चलाख र जवान आदिवासी केटीलाई पात्र बनाएँ । त्यो आदिवासी केटीलाई अर्को कोठामा के भइरहेको छ थाहा हुन्छ र आफ्नो पनि त्यही नियति हुनेमा डर मान्छ । चलचित्रमा मैले एक जना भयाक्रान्त, मौन प्रमुख पात्रलाई अन्तिममा भावनात्मक उत्कर्षमा पु¥याएर प्रहरीलाई फोन गर्नेमा पु¥याएको छु । प्रहरी जब त्यहाँ आइपुग्छन्, उनीहरू पनि केटी बेच्नेहरूसँगै मिलेको पत्ता लाग्छ, तथापि चलचित्र जसरी बनेको छ, त्यसमा निहालानीले प्रहरीसम्बन्धी जटिलतालाई आपसी कुराकानीबाट मिलाएको देखाएका छन् । मैले उनलाई किन भनी सोधिनँ । मैले मलाई थाहा भएजस्तो लाग्यो । सन् १९८३ मा निहालानीको हिट चलचित्र ‘अर्धसत्य’ मा प्रहरी, राजनीतिक नेता र अपराधीबीचको सम्बन्धमा आधारित थियो । तर पछिल्लो चलचित्रमा उनले प्रहरीसँग मेलमिलापमा कुराकानी टुङ्गयाएको देख्दा मलाई विरोधाभासपूर्ण लागेको थियो । त्यो चलचित्रमा मैले दुई मिनेटको छोटो भूमिका खेलेको थिएँ । म प्रहरी अत्याचारविरुद्ध सार्वजनिक रुपमा बोल्ने एक जना वामपन्थी कार्यकर्ता बनेकी थिएँ । आजभोलि त्यस्तो खालको सक्रियता सङ्कटमा परेको छ । आदिवासी र दलित अधिकारको पक्षमा लडिरहेका अधिकारकर्मीहरू त अझ समस्यामा छन् । हालसालै त्यस्ता पाँच जना अधिकारकर्मीमाथि ‘सहरी नक्सलहरू’ को बिल्ला लगाइयो । उनीहरू जो भए पनि उनीहरूको गिरफ्तारी गैरकानुनी छ ।
गएको साल दलित लेखिका उर्मिला परवारले मलाई एउटा सल्लाह मागिन् । उनलाई एउटा सेमिनारमा बोलाइएको रहेछ । उनलाई सो सेमिनारमा आफूले भन्न चाहेको कुरा बोल्दा आफ्नो अपमान पो हुने हो कि भन्ने डर रहेछ । उनले भन्न चाहेको कुरा थाहा पाएपछि मैले उनलाई एउटा दाउपेच सिकाएँ । मैले उनलाई विजय तन्डुल्करको नाटक ‘घाशिराम कोटवाल’को स्मरण गराएँ । त्यो नाटक सन् १९७० मा लेखिएको थियो । त्यत्तिबेला महाराष्ट्रमा कम्युनिष्ट पार्टीलाई काउन्टर गर्न काङ्ग्रेसले शिव सेनालाई मलजल गरिरहेको थियो । त्यसो गरेर काङ्ग्रेसले सम्भावित फ्रान्केन्स्टाइन जन्माइरहेको थियो । तर त्यो अवस्थालाई उनले कसरी नाटकमा ढाल्न सक्थे । संयोगवश उनले त्यही बेला एउटा कथा भेटाए । पेश्वा मन्त्री नाना पदनभिसले एक जना कनाउजी ब्राम्ह्ण घासिरामलाई पुणे सहरको प्रहरी प्रमुखमा नियुक्त गरे । तर तिनै घासिरामले पेश्वाका सबभन्दा बफादार कार्यकर्ता र समर्थकमाथि रामधुलाई गरे । मैले उर्मिलालाई एक जना लेखकको लागि प्रतीकात्मक लेखनबिना कुनै क्षति सत्य औंल्याउने सबभन्दा चलाखीपूर्ण र वैधानिक बाटो भएको बताएँ । मराथी भाषामा एउटा भनाइ छ, लेकी बोले, सुने लागे । (छोरी कुटी बुहारी तर्साउने ।) बुहारीले विरोध गर्ने धेरै ठाउँ त पाउँछिन् तर गर्न सक्दिनन् किनभने सासूले बुहारीलाई केही भनेकै हुन्नन् ।
जहाँ ज्ञान स्वतन्त्र छ
एक जना लेखिकाको रुपमा महास्वेता देवी मेरो जीवनको लागि निकै महत्वपूर्ण प्रेरणाका स्रोत हुन् । सन् २०१२ मा उनलाई फ्रान्कफर्ट पुस्तक मेलामा भारतीय संस्कृतिबारे बोल्न आमन्त्रण गरिएको थियो । उनले भारतीय संस्कृतिलाई ‘धेरै रङ्ग र धागोले बुनिएको पछ्यौरी’ को रुपमा चर्चा गरेका थिए । कहीं कतै त्यो पछ्यौरी उध्रिएको छ । कहीं धागो खुकुलो बनेको छ । तर जे भए पनि त्यो पछ्यौरी नै बनिरहेको छ ।’ जसरी शताब्दियौंसम्म यो जोडिएकै छ, त्यसरी नै यो जोडिएर नै बस्नेछ । तर धर्म र संस्कृतिको रटान लगाइरहने मानिसले मात्र त्यस्तो जोडाइ टुक्र्याउन सक्दछन् । एके रामानुजानको निकै गहिरो अध्ययनपछि लेखिएको लेख ‘तीन सय रामायण’ विश्वविद्यालयको इतिहास विषयको पाठ्यक्रमबाट हटाइनु हुन्नथ्यो । बरु विद्यार्थीहरूलाई हाम्रो संस्कृतिले यति समृद्ध सम्भावना भएको महाआख्यान उत्पादन गर्न सकेकोमा गौरव गर्न उत्साहित गर्नुपर्दछ । दक्षिण एसियाभरिमा रामायणलाई मात्र तीन सय विभिन्न शैलीमा कथिएको र आफ्नो बनाएकोमा गौरव गर्न सिकाउनु पर्दछ ।
मेरो दोस्रो उपन्यास ‘त्या वर्षी’ र त्यसको अङ्ग्रेजी संस्करण ‘क्रोफल’ को प्रकाशनपश्चात् मैले संस्कृति, नैतिकता र राष्ट्रवादका एकोहोरो विचारले युवा दिमागलाई सीमित बनाइएको प्रत्यक्ष अनुभव गरें । पुणे चलचित्र तथा टेलिभिजन प्रतिष्ठानबाट पटकथा लेखनमा डिप्लोमा गरेका एक जना युवक मकहाँ आए र मेरो उपन्यासमा आधारित चलचित्र बनाउन अनुमति मागे । उनले त्यो उपन्यास दुई पटक पढिसकेका रहेछन् । त्यो उपन्यासमा प्रस्तुति गरिएको परिवेश उनलाई नितान्त भिन्न र नयाँ लागेको रहेछ । म चकित परें । मैले त यो पृथ्वीमा कहींकतै नभएको विषयमा पो लेखेकी रहेछु । त्यो उपन्यास राजनीतिक मनसायबाट मच्चाइएको हिंसाको पृष्ठभूमिमा एक समूह साथीहरूको जीवनको एक वर्षमा गरेको रचनात्मक सङ्घर्षको विषयमा आधारित छ । त्यसको पृष्ठभूमि भनेको सन् २००४ हो र त्यसमा प्रयोग गरिएको फ्लासव्याक भनेको सन् १९९२–१९९३ को मुम्बई हिंसा थियो ।
चलचित्र बनाउने प्रस्ताव लिएर आएका युवाले नबुझेको कुरा के रहेछ भने उपन्यासका ती साथीहरू भिन्न सामाजिक समुदाय र जातिका भएर पनि उनीहरूबीचको मेलमिलाप कसरी सम्भव हुन गयो ? दुई घण्टा उपन्यासबारे कुराकानी गरिसकेपछि युवा निर्देशकले भने, ‘‘म त अलमलमा परेको रहेछु । वास्तवमा मलाई त्यस्तो स्वतन्त्र परिवेशमा हुर्काइएन । तर म त्यस्तै जीवन बाँच्न मनपराउँछु ।’ त्यो घटना मेरो लागि चेनता नै सावित भयो । इमानदारीका साथ भन्ने हो भने त्यो त मेरो लागि विथोल्ने घटना नै बन्यो । निकै मसिनो पाराबाट त्यो घटनाले मलाई किन लेखकहरूलाई खतरनाक मानिसको रुपमा लिइने रहेछ भन्ने कुरा बुझायो । युवा दिमागहरूलाई स्वतन्त्रतापूर्वक विकास भएको नचाहने, शङ्का, प्रश्न र सपना देख्न नपाउने अवस्थामा पु¥याउन चाहनेले लेखकहरूलाई खतरनाक रुपमा लिनुको कारण महसुस गरें ।
फ्रान्कफर्टको आफ्नो मन्तव्यमा महास्वेता देवीले भनेकी थिइन्, ‘‘सपना नभएको ठाउँमा मानिसको विकास पनि हुनसक्दैन ।’’ आफ्नै लागि उनले भनेकी थिइन्, ‘म भारत भय नभएको देश भएको हेर्न चाहन्छु, जहाँ ज्ञान स्वतन्त्र होस्, जहाँ शब्दहरू हृदयको गहिराइबाट आएको होस्, जहाँ पूर्णताको लागि अथक हातले काम गरिरहेको होस्, जहाँ तर्कको सफा खोला खराब बानीको रुखो मरुभूमिमा गएर बाटो हराएको नहोस् ।’
मूलस्रोतः स्क्रोल.आईएन
नेपाली अनुवादः नीरज
Leave a Reply