भर्खरै :

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

– कुमार चौलागाई
काठमाडौं, ४ असोज । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिनसक्ने व्यवस्था गरेको छ ।
योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौमा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महिनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ ।
उपत्यकाभित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्नसक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौं आउँदा हुने भएको छ ।
त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६ औं ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुसमा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्नसक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *