भर्खरै :

संयुक्त जनआन्दोलनका सहिदहरूको सम्मान गर्न आवश्यक

२०४६ फागुन ७ गतेको ऐतिहासिक जन–आन्दोलन नेपाली काङ्ग्रेस र वामपन्थी दलहरूको संयुक्त आह्वानमा भएको थियो । उक्त आन्दोलन दुई महिना नबित्दै सफल भएको थियो । आन्दोलनको दोस्रो दिन नेपाल बन्दको क्रममा भक्तपुरबाट चार जनाले वीरगति प्राप्त गरेपछि पञ्चायती व्यवस्था ढल्ने सन्देश देशभरि फैलिएको थियो । हुन पनि आन्दोलन सफल पार्न सङ्घर्षशील भक्तपुरका जनताले विश्राम लिएनन् । प्रत्येक दिनको घोषित आन्दोलन सफल पार्न नेमकिपाका कार्यकर्ताहरू अग्रसर रहे, नेमकिपाको वर्गीय सङ्गठनका कार्यकर्ताहरू आन्दोलनमा सक्रिय रहे । आन्दोलन जिल्ला जिल्लामा फैलिरहेको थियो । आन्दोलनमा किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक र महिलाहरू थपिंदै गए । आन्दोलनमा कर्मचारी, इञ्जिनियर, चिकित्सक, साहित्यकार, कलाकार, वकिल, प्राध्यापकहरूमात्र होइन पाइलटहरूको समेत ऐक्यबद्धता रह्यो । यसरी जन–आन्दोलन व्यापक बन्दै गयो र आन्दोलनकारीहरूमा उत्साह थप्दै गयो ।
निरङ्कुश पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले आन्दोलन दबाउन प्रदर्शनकारीहरूलाई पक्राउ गर्न थाले । पक्राउ परेका प्रदर्शनकारीहरू देशभरिका जेल र खोरहरूमा भरिभराउ हुनथाल्यो । सम्भवतः नेपालको अहिलेसम्मको इतिहासमा सबभन्दा बढी कार्यकर्ताहरूबाट जेल भरिएको २०४६ सालकै आन्दोलन हुनुपर्छ । पक्राउ परेका कार्यकर्ताहरू जेलमा राख्ने ठाउँ नपाएर सरकारलाई समस्या परेको थियो । आन्दोलनमा लागेका प्रदर्शनकारीहरू पनि जेल भर्ने अभियानमा लागे । आन्दोलनले निरन्तरता पायो । आन्दोलन देशव्यापी बन्दै गयो । आन्दोलनमा प्रदर्शनकारीहरू बढ्न थाले । यसरी आन्दोलन व्यापक बन्दै गएपछि सरकारले चैत २४, २५ र २६ गते काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु लागू गर्‍यो । सरकारले उपत्यकाभित्रको सहर, बजारमा मात्र होइन गल्ली गल्लीमा समेत सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीहरू तैनाथ गर्‍यो ।
सरकारले दमन गरे पनि, कर्फ्यु लगाए पनि आन्दोलन कमजोर भएन । बरू जनतामा उत्साह बढ्दै गयो । आन्दोलनकारीमा पञ्चायती व्यवस्था ढालेरै छाड्ने बल मिल्यो । आन्दोलनकारीहरू कफर््यु तोड्दै आन्दोलनमा सरिक भए । ज्यानको बाजी राख्दै जनआन्दोलन सफल नभएसम्म आन्दोलन नटुङ्ग्याउने संयुक्त जनआन्दोलनको निचोड थियो । आन्दोलननमा दुई दर्जनभन्दा बढी सहिद भए, हजारौं प्रदर्शनकारी घाइते भए, हजारौं हजार प्रदर्शनकारीहरू पक्राउ परे । अन्ततः आन्दोलन सफल भयो । २०४६ चैत २६ गते राती बहुदलीय व्यवस्था स्थापना भएको घोषणा भयो र जनताका मौलिक र राजनीतिक अधिकार प्राप्त भयो । यसरी २०४६ को संयुक्त जनआन्दोलन सफल पार्न ज्यानको बाजी राख्ने वीर सपूतहरूको अहिलेसम्म खासै सम्मान भएन, राहत दिलाइएन । यसबारे गणतन्त्रवादी सरकार पनि मौन रह्यो ।
(२०७३ फागुन ८ गतेको ‘मजदुर’ दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *