भर्खरै :

शासकहरूको कमजोरीले विदेशीलाई अवसर

प्राचीन शासन व्यवस्थामा शत्रु देशलाई बदनाम गर्न, अस्तित्वमा रहेको शासकप्रति जनताको असन्तोष भड्काउन र त्यस देशलाई कमजोर पारी सरकारविरोधी पक्षलाई पैसा र पछि शासनमा राख्ने आश्वासन दिएर विषकन्या प्रयोग गरी, बाबा, हात हेर्ने, फकीर र अनेक साधु सन्तको भेषमा चरहरू पठाएर, राजा, प्रधानमन्त्री, कमाण्डर इन.चीफ, आई. जी, गुप्तचर विभागको मुख्य–मुख्य मानिसहरू र सीमाका भन्सार कार्यालयदेखि अर्थमन्त्रालय तहसम्म पहुँच पु¥याई, देशलाई विदेशीको हातमा पु¥याएका इतिहासमा धेरै घटनाहरू दास युगदेखि सामन्तवादी व्यवस्थासम्म पाइन्छ । तर नेपालमा औद्योगिक क्रान्ति नहुँदा जसरी सामन्ती समाजका अवशेषहरू समाप्त हुनुपर्ने हो, त्यसो नहुँदा शासक दलका नेता, प्रधानमन्त्री र मन्त्रीहरूमा पुराना सामन्तहरू तथा सम्भ्रान्त वर्गका प्रवृत्ति सत्तामा पुग्नासाथै देखिने गरेको सबैले अनुभव गर्दैछन् ।
निर्मला हत्याकाण्डबारे पश्चिमाञ्चल क्षेत्रमा एकै स्वरले सरकारी पक्षकै हात भएको बताउँछन् भने दोषीको रूपमा ‘कम्युनिष्ट’ नेताहरूप्रति नै चोर औंला तेर्सिएको सत्य हो । माओ त्से तुङको ‘उदारवादको विरोध गर’ भन्ने लेखमा नातागोता, सहयोगी, सहपाठी, जात–भाइ जस्तोसुकै ठाउँमा पुगेको व्यक्ति भएपनि उदारता प्रकट गरी दोषीलाई कारबाही र दण्ड नदिएमा क्रान्तिकारी सङ्गठनको निम्ति अचाक्ली हानिकारक हुन्छ भन्ने उल्लेख छ । उदारतावादले सङ्गठनमा एकता भङ्ग हुन्छ, मित्रतालाई कमजोर पार्छ, काममा निस्क्रियता पैदा गर्छ र कलहको सिर्जना हुन्छ । पार्टीमा त्यसले अनुशासनलाई कमजोर पार्छ, नीतिहरू पूर्णरूपले लागू हुन छोड्छ, पार्टी नेतृत्व जनसमूहबाट अलग्गिन्छ । उदारतावादले स्वार्थी र अपराधीहरू माथि पुग्नेछन् सामूहिक जीवन समाप्त भई पार्टी र नेताहरूसमेत पुँजीवादी दलदलमा फस्नेछन् ।
शत्रु देशले तारो बनाएको देशमा हत्या, हिंसा र बलात्कारजस्ता घटनाहरूलाई बढावा दिन आफ्ना गुप्तचरहरूलाई सक्रिय पार्नेछन् तथा अपहरण, हुलदङ्गा, चोरी, डकैती र अन्य अपराधहरूलाई चर्काउने छन् । ८ असोज २०७५ को ‘नागरिक’ ले लेख्यो– ‘७ नम्बर प्रदेशमा निर्मला हत्यापछि विभिन्न ठाउँमा बलात्कारका २८ घटनाहरू घटे ।’, ‘प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही’ र ‘प्रधानमन्त्रीलाई चस्मा उपहार दिएर समस्या समाधान होइन बरु झन् जटिलता थपिंदै जानेछ ।’
बलात्कारका घटनाहरू बढ्नमा ‘मदिरा सेवन, लागु पदार्थ प्रयोग, दण्डहीनता र समाज छाडा गतिविधितर्फ उन्मुख हुनु, मोबाइलमा अश्लिल सामग्रीको पहुँच, नैतिक शिक्षाको खडेरी’ जस्तो कारण देखाइयो । (नागरिक– ८ असोज २०७५)
तर बलात्कारी बाबुले भने–‘‘मलाई फाँसी देऊ ।’’
(नेपाल समाचारपत्र–८ असोज २०७५) ललितपुरको त्यस समाचारमा उख्लेख छ– ‘आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । बाबुले छोरीलाई बलात्कार गर्दा छोरीले पेट बोकिन् ।’ यस घटनामा युवायुवतीहरूलाई विदेश पठाउने र विदेशको सेवा गराउने सरकारी नीति दोषी छ । सरकारका नेता र शासक दलहरू विदेशी कम्पनीहरूका दलालहरूको घेरामा छन् ।
केही मानिसहरूलाई आज पनि के भ्रम छ भने महिलाहरूलाई मन्त्री बनाएमा, संसदीय समितिमा सभापति बनाएमा वा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रहरी कार्यालयहरूमा हाकिम बनाएमा अपराध र महिला हिंसामा कमी हुनेछ । व्यवहारले देखायो –यस्तो भावुक कुराहरूमा धेरै दम हुने गर्दैन । नेपालमा हाल राष्ट्रपति नै महिला छन् । अहिले जर्मनी, बेलायत र अन्य देशहरूमा महिला नै कार्यकारी पदमा छन् । समाजमा आमूल परिवर्तन नगरी देशमा हत्या, हिंसा, बलात्कार र अन्य अपराधहरूमा कमी आउने छैन–जस्तो संरा अमेरिका र भारत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *