भर्खरै :

सिद्धपोखरी उत्तरको जग्गा नगरवासीलाई फिर्ता गर्न पहल

भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर अस्पतालदेखि चोङा गणेशस्थानसम्मको सैनिकको नाममा रहेको जग्गामध्ये सिद्धपोखरी उत्तरको खेलमैदान स्थानीय नगरवासी खेलाडीहरूको लागि खुला गर्ने सम्बन्धमा २०५५ सालमा तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेर राणासँग भएको सम्झौता कार्यान्वयनमा पुनः जोड दिनुभयो । उहाँले चोङा गणेश मन्दिर परम्परादेखि सार्वजनिक प्रयोग भइरहेकोमा जनभावनाअनुरुप पुनः सार्वजनिक कायम गरी पहलका लागि अनुरोध गर्दै हाल नगरपालिकाले फूटबललगायत विभिन्न खेलकुदको तालिम प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र सरसफाइमा जस्तै अन्य क्षेत्रमा पनि नमुनाको रुपमा विकास गर्न आवश्यक योजनाहरू बनाई कार्यान्वयनको लागि तयारी गरिरहेको बताउनुभयो । उहाँले सैनिक इलाका रहेको सल्लाघारीको रानीपोखरी सर्वसाधारण जनताले उपभोग गर्न पाउने गरी जीर्णोद्धार गर्ने र भाज्यापुखु पुननिर्माणसम्बन्धी प्रगतिबारे जानकारी गराउनुभयो ।
भेटमा प्रमुख सेनानी पौडेलले चोङा गणेश क्षेत्रको सदुपयोगसम्बन्धी अध्ययन गरिरहेको बताउँदै सैनिकहरूले नगरपालिकाको विकास निर्माणको कुनै पनि क्षेत्रमा समन्वय गरी कार्य गर्न र नपाको जनहितको काममा सदा सहयोग गर्न तयार रहेको बताउनुभयो । भेटमा प्रमुख सेनानीको साथमा सेनानी पूर्ण प्रजापतिको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *