भर्खरै :

नेपालमा शिक्षाको विकासको एक झलक

न्हुछेरत्न बुद्धाचाय
“शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो
जसको सहारामा तिमी संसार बदल्न सक्छौ”
–नेल्सन मण्डेला
शिक्षा नै जीवनको ज्योति हो । शिक्षाविना मानव समाज विकसित हुँदैन । हालसम्म हाम्रो देशमा के कस्ता शिक्षाको विकास भए बुझ्नको लागि यसको चर्चा आवश्यक छ । तसर्थ यहाँ प्राचीनकालदेखि आधुनिककालसम्मको नेपालको शिक्षा विकासको सङ्क्षिप्त जानकारी दिने जमर्काे गरेको छु ।
प्राचीनकाल
प्राचीनकालमा शिक्षाको उद्देश्य विद्यार्थीहरूलाई शारीरिक, मानसिक र सामाजिक गुणको विकास गरी योग्य नागरिक बनाउनु हो । गुरुकुल विद्यालयहरू सहरिया वातावरणदेखि अलग्ग प्रकृतिको काखमा रहन्थे । गुरुहरू पनि आफ्नो उच्च आचारमा रहेका हुन्थे । जसको छाप विद्यार्थीहरूको कोमल मस्तिष्कमा पर्नु स्वाभाविक थियो । शिक्षामा आचार निर्माणलाई साह«ै ठूलो स्थान प्रदान गरिएको थियो ।
नेपाल र दक्षिण पूर्व एसियाका धेरै विद्यार्थीहरूले नालन्दा विश्वविद्यालयमा अध्ययन गरेका थिए । नेपालका पण्डित बागीश्वरकीर्ति त्यहाँका अध्यापक थिए । अर्को नेपाली पण्डित कनकश्री विक्रमशील विद्यापीठका द्वार पण्डित थिए ।
एघारौं शताब्दीमा पाटन, फर्पिङ, काठमाडौं विद्याका केन्द्र थिए । पाटनका पण्डित महाकरुणाकर प्रसिद्ध थिए । नेपाली विद्वान विभूतिचन्द्रले व्याकरण शास्त्रमा ठूलो पुस्तक लेखेका छन् । धेरै विहारहरू विद्याका केन्द्र थिए । जहाँ तन्त्रशास्त्र, मूर्तिकला पुस्तक लेखनकला, धातुकला आदिको शिक्षा दिइन्थ्यो । नेपालमा लिच्छविकालमा उच्च कोटिका संस्कृत, नेपालभाषा आदि भाषामा लेखिएका शिलालेखबाट पनि जनतामा प्रशस्त शिक्षा फैलिएको थाहा पाउन सकिन्छ । त्यसबेलाका चिनियाँ यात्री ध्वेनसा·ले लेखेका छन्, नेपालका लिच्छवि राजाहरू धेरै विद्वान छन् । नेपाली जनता शिल्प विद्यामा साह«ै निपुण छन् । अंशुवर्माले शब्द विद्यामा दैनिक जीवनसँग घनिस्ट सम्बन्ध राख्ने व्यावसायिक शिक्षामा जोड दिइएको देखिन्छ । यसका लागि प्रमाणस्वरुप कला शिक्षालाई लिनसकिन्छ । त्यस समयमा कलासूत्र शिक्षा निकै प्रचलनमा थियो । सूत्र शिक्षाका माध्यमबाट कलाकारहरू अनुपम कलात्मक मूर्तिहरू तयार पार्थे । यसरी प्राचीनकालको शिक्षाको उद्देश्य र आदर्श आध्यात्मिक र व्यवहारमूलक शिक्षा दिनुमा केन्द्रित रहेको स्पस्ट हुन्छ ।
मध्यकालः
मध्यकालीन शैक्षिक व्यवस्थालाई हेर्दा बौद्धधर्म तन्त्रशास्त्र, मूर्तिकला, चित्रलेखन आदिको राम्रो उन्नति भएको देखिन्छ । मध्यकालीन शिक्षा दुई भागमा बाँडिएको थियो । पहिलो आध्यात्मिक शिक्षा जसमा धर्म, दर्शन, सङ्गीत आदि पर्दथ्यो । दोस्रो जीवनमूलक शिक्षा जीवन धान्न अपनाइने चित्रकला, मूर्तिकला वास्तुकला आदि थिए । पहिलो प्रकारको शिक्षा आनन्द प्राप्तिको लागि उच्चधरानासँग सम्बन्धित थियो भने दोस्रो प्रकारको शिक्षा तल्लो वर्गको जीवन धान्ने प्रतिभासँग सम्बन्धित थियो ।
मल्ल कालको प्रारम्भतिर नेपालको नजीक पर्ने भारतीय क्षेत्रका नालन्दा, विक्रमशीलजस्ता शैक्षिक केन्द्रहरूले शिक्षा प्रचारमा महत्वपूर्ण भूमिका खेलेका थिए । पछि मुसलमानहरूको आक्रमणपछि त्यहाँ कैयौं शिक्षाविद्हरू शरण लिन नेपालभित्र पसे । यो घटनाले गर्दा यहाँको शिक्षा पद्धतिमा निकै परिवर्तन आयो ।
त्यसबेला नेपालको कला शिक्षाले नेपालमा मात्र नभएर छिमेकी देशमा पनि निकै प्रभाव पारेको थियो । प्रसिद्ध नेपाली कलाकार अरनिको र उनका प्रतिभा मध्यकालीन समाजले नै पाएको थियो । मध्यकालीन शिक्षा जीवनमूलक शिक्षाको रुपमा कलाले नै महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसबेला चित्रकला र मूर्तिकलामा राम्रो ज्ञान हासिल गर्न विभिन्न शास्त्रहरूको अध्ययन गर्नुपथ्र्यो ।
चौधौं शताब्दीमा जयस्थिति मल्लले आफ्ना प्रजालाई विभिन्न व्यावसायिक समूहमा विभाजन गरेर सीप सिकाउन व्यवस्था गरेका थिए । जयस्थिति मल्लले शिक्षा केन्द्रमा हेरविचार गर्न गुठीको व्यवस्था गरी शिक्षा विकासमा जोड दिएका थिए । उनले व्यवसायिक शिक्षाको सुरुआत गरे । पृथ्वीनारायण शाहको उदय भएपछि संस्कृत र फारसी शिक्षाको प्रारम्भ भएको देखिन्छ । यिनले राज्यबाट छात्रवृत्ति दिने प्रथाको प्रथम सुरुवात गरेका थिए । नेपालको एकीकरणपछि आफ्ना सैनिक जवानका टुहुरा बच्चाहरूलाई राष्ट्रको तर्फबाट छात्रवृत्ति दिने प्रथाको प्रथम सुरुवात भएको थियो । उनीपछिको रणबहादुर शाह तथा गीर्वाणयुद्ध विक्रम शाहको पालामा पनि लेखक, कवि तथा विद्वानहरूको कदर गर्ने परम्परा कायमै भएको पाइन्छ । गीर्वाणयुद्ध विक्रम शाहको पालामा ‘सत्कर्म रत्नावली’ भन्ने कृति प्रकाशित भएको थियो । उनकै पालामा भीमसेन थापाले फ्रेन्च अफिसर झिकाई आधुनिक सैनिक शिक्षा दिएका थिए । राजेन्द्रविक्रम शाहको पालामा सुन्दरानन्दको त्रिरत्न सौन्दर्य गाथाको रचना भएको थियो ।
राणाकाल
जङ्गबहादुर राणाले बेलायतबाट फर्केपछि वि.स. १९१० मा थापाथलीस्थित दरवारको दाख चोकमा नेपालको पहिलो अङ्ग्रेजी विद्यालयको स्थापना गरेका थिए । यस स्कूलमा राजाका छोराछोरी तथा राणाका सन्तानलाई शिक्षा दिने व्यवस्था मिलाइएको थियो । प्रधानमन्त्री वीर शमशेरका पालामा दरवार स्कूलमा सर्वसाधारण जनताका सन्तानले प्रवेश पाउने भए । उनको पालामा आएका भारतका गंगावाइ भन्ने एक महिलाले काठमाडौंमा आधारभूत प्राथमिक शिक्षा सुरु गरेकी थिइन् । यसैको प्रभावबाट नेपालमा महिला शिक्षाको सुरु गर्न प्रेरणा प्राप्त भएको मानिन्छ । प्रधानमन्त्री देव शमशेरको पालामा भाषा पाठशालाको स्थापना नारी मुलुकका विभिन्न भागमा प्राथमिक शिक्षा दिने परिपाटीको थालनी गरिएको थियो । देव शमशेरले विद्यार्थीहरूलाई लेख्ने सिलोट र अक्षराङ्क शिक्षा नामक पुस्तक निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएका थए । देव शमशेर शिक्षाप्रेमी राणा प्रधानमन्त्रीमा गनिन्थे ।
चन्द्रशमशेरले वि.स. १९७२ मा काठमाडौं उपत्यका बाहिर पहिलो अङ्ग्रेजी स्कूलको रुपमा सिराहामा चन्द्रमिडिल स्कूलको स्थापना गरे । वि.स. १९७५ भदौ २७ गते चन्द्रशमशेरले त्रिचन्द्र कलेज स्थापना गरे । त्रिचन्द्र कलेज खोल्दा उनले भनेका थिए –“कलेज खोल्नाले परिणाममा नेपालका राणाका लागि असल होला भन्ने त म देख्दिन, कालबखत बेलाले मात्र मैले यो काम गर्नुपर्ने भएको हो ।” वि.स. १९८९ मा जुद्ध शमशेरले कृषि विकासका लागि कृषि स्कूलको स्थापना गरेका थिए । नेपालको शैक्षिक इतिहासमा वि.स. १९९० कार्तिक १६ का दिन एस.एल.सी. बोर्डको गठन भयो । नेपालमा एस.एल.सी. बोर्डको परीक्षा त्यही साल पुसको अन्तमा प्रथम पटक सुरु भएको थियो । वि.स. १९९५ चैत २८ गते जनताको तर्फबाट प्रात्ेट स्कूल खडा गर्ने स्वीकृति प्रधानमन्त्री जुद्ध शमशेरबाट दिइएको थियो ।
वि.स.२००२ मा पद्मशमशेर प्रधानमन्त्री भएपछि २००३ मा भक्तपुरमा पद्म हाइस्कूलको स्थापना गरियो । वि.स. २००४ मा आधारभूत शिक्षाअनुरुप ३०÷४० वटा आधार स्कूलहरूको स्थापना भयो । आधार शिक्षाको प्रमुख काम स्कूलको शैक्षिक प्रशासन सुचारुरुपले सञ्चालन गर्नु हो । २००५ मा सर्वप्रथम काठमाडौंमा मन्टेश्वरी पूर्वप्राथमिक विद्यालयको स्थापना भएको थियो । सोही वर्ष विश्वविद्यालय स्थापनाको लागि एक सभाको गठन गरियो ।
वि.स. २००७ सम्म नेपालको शैक्षिक स्थिति यस्तो थियो ः–
प्राथमिक विद्यालय – ३१० हाइस्कूल – ११
संस्कृत विद्यालय – ४० कलेजहरू – २
जम्मा – ३६३
यसरी सङ्क्षेपमा हेर्दा २००७ साल पूर्व शैक्षिक स्थिति दयनीय थियो भन्दा अत्युक्ति हुँदैन ।
आधुनिक काल
वि.स. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र प्राप्त भएपछि स्वतन्त्रपूर्वक सबै कार्य गर्र्न जनताले पाउने भए । २००७ मा शिक्षा मन्त्रालयको स्थापना भयो । अधिराज्यका विभिन्न गाउँ ता सहरहरूमा विद्यालयहरूको स्थापना गरियो । २०१० सालमा अधिराज्यलाई ७ डिभिजनमा विभाजित गरी प्रत्येक डिभिजनमा एउटा डिभिजन इन्सपेक्टर अफ स्कूलस कार्यालयहरूको स्थापना गरियो । डिभिजनल इन्सपेक्टर अफ स्कूलसको काम विद्यालयहरू स्थापना गर्ने, स्वीकृति दिने, सरकारबाट दिने आर्थिक सहायता वितरण गर्ने र विद्यालयहरुको निरीक्षण गर्ने आदि थिए ।
वि.स. २०११ मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोग बन्यो । उक्त आयोगले दिन प्रतिदिन बढ्दै गएको शिक्षण संस्थाहरूको लागि स्थापना गरिएको डिभिजनल इन्स्पेक्टर कार्यालय अपर्याप्त भएको कुरा देखाउनुका साथै शैक्षिक निरीक्षण तथा विद्यालय प्रशासनको लागि त्यसबेला भएका २८ वटा जिल्लामा जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्थापना गरी राजपत्र अनङ्कित कर्मचारीलाई जिल्ला शिक्षा निरीक्षक नियुक्त गरियो । वि.स. २०१८ मा नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । सोही वर्ष सर्वाङ्कीण राष्ट्रिय शिक्षा समिति गठन गरियो । त्यसबेला डिभिजनल इन्सपेक्टर अफ स्कूल कार्यालयलाई खारेज गरी १४ वटा अञ्चल शिक्षा अधिकारी कार्यालयको स्थापना गरियो ।
शिक्षामा आवश्यक सुधार ल्याउन २०२५ मा राष्ट्रिय शिक्षा सल्लाहकार समिति गठन भयो । २०२७ मा १४ वटा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज गरी स्कूलहरूको सङ्ख्या बढी भएका २९ जिल्लामा जिल्ला शिक्षा अधिकारीका कार्यालयहरू व्यवस्था गरिए ।
२०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भयो । यो शिक्षा योजनाले उत्पादनशीलता व्यवसायिकमूलक बनाई देशको राष्ट्रिय आवश्यकताअनुरुप बनाउन व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको थियो । अनि फेरि २०४९ मा राष्ट्रिय शिक्षा आयोग गठन गरियो । बहुदलीय व्यवस्थाको स्थापनापछि देशमा शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने ठानियो ।
यसरी देशमा शैक्षिक विकास हुँदै आएको देखिन्छ । शिक्षाको विकास जनताको चेतना जागृतिको विकास सँगसँगै भएको छ । यसरी नेपालको शैक्षिक विकासको आफ्नै स्वरुप देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *