भर्खरै :

सार्क सङ्गठन विघटनसरह !

–प्रकाश
दक्षिण एसियामा अवस्थित देशहरूको साझा विकास र आपसी सहयोगको अवधारणाको आधारमा गठन भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन – सार्क (एसएएआरसी) को शिखर सम्मेलन नभएको तीन वर्ष भइसकेको छ । शिखर सम्मेलनमात्र नभएको होइन सार्कस्तरीय कुनै तहको बैठक पनि बस्न नसकेको बताइन्छ । पाकिस्तानको राजधानी इस्लामावादमा हुने निश्चित भइसकेको सन् २०१६ को सार्क शिखर सम्मेलन भारत आफूले भाग नलिने कूटनीतिक सर्कुलर नै गरेको थियो । एउटामात्र देशको बहिष्कारले पनि सार्कको बैठक हुनसक्दैन र बसे पनि बैठकको अर्थ हुन्न । भारतले आफ्नो प्रतिद्वन्द्वी पाकिस्तानसमेत भएको क्षेत्रीय सङ्गठनलाई महत्वहीन बनाउने र अन्ततः विघटनमा पु¥याउने सोचाइ राखेको व्यवहारले पुष्टि हुँदै आएको छ । सार्कलाई कमजोर बनाउनकै लागि भारतले सार्कका सदस्य राष्ट्रहरू भारत, भुटान, बङ्गलादेश र नेपाल सदस्य रहने गरी बीबीआईएन र यीसहित म्यानमार र थाइल्याण्डसमेत समावेश गरी बनेको बिम्स्टेकलाई बढी महत्व दिइरहेको छ ।
भारत अब सार्कको पुनः सक्रियता चाहँदैन भने अर्को घटना भएको छ । अहिले न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभाको अवसरमा पाकिस्तान र भारतीय विदेशमन्त्रीबीच तय भएको भेटघाट अन्तिममा आएर भारतले एकतर्फी रूपमा रद्द ग¥यो । सार्कको अध्यक्ष राष्ट्र भएको हिसाबले नेपालका परराष्ट्रमन्त्रीले न्युयोर्कमा बोलाएको विदेशस्तरीय अनौपचारिक बैठकको बीचैबाट भारतीय विदेशमन्त्री शुष्मा स्वराज उठेर गएको बताइन्छ । भारतीय विदेशमन्त्रीको उक्त कदम कूटनीतिक वृत्तमा भारत सार्कको सक्रिय पुनर्जीवनको पक्षमा छैन भन्ने स्पष्ट सङ्केत भएको भनाइ कूटनीतिविज्ञहरूको छ । भारतको अनिच्छाका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन –सार्क विघटनसरह हुन पुगेको छ । भारतले दक्षिण एसियाली क्षेत्रको शान्ति, विकास र समृद्धि भारतको उच्च प्राथमिकतामा छ भने तापनि व्यवहारमा दक्षिण एसियामा आफ्नो निर्वाध प्रभुत्वमा मात्रै भारतको प्राथमिकतामा रहेको पुनः पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *