भर्खरै :

आयोगलाई सफलता मिलोस्

– प्रतीक, भक्तपुर
सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सांसद बनेका विवादास्पद ठेकेदार हरिनारायण रौनियारलाई अन्ततः पक्राउ पुर्जी दिइएको छ । सांसद रौनियारले ठेक्कामा लिएका पुलहरूमा कमसल सामान प्रयोग गर्ने गरेको र कतिपय पुलहरू समयमा निर्माण हुन नसकेको विषयमा जनआवाज आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पुर्जी तयार गर्न आदेश दिएकोे हो । एक जना भ्रष्ट र जनविरोधी सांसदलाई पक्राउ गर्न आदेश दिंदा जनता खुसी देखिनु स्वाभाविक हो भने फोरमका सांसदहरू उनलाई बचाउ गर्न लागिपर्नु दुःखद पक्ष हो ।
पुल निर्माणमा वा लिएका सम्झौताहरूमा भ्रष्टाचार हुनुको दोष सांसद रौनियारलाई मात्र दिनु मनासिब हुँदैन । उनलाई सांसद बनाउने फोरमका नेताहरू स्वयं दोषमुक्त हुनसक्दैनन् । सो ठेक्काको क्रममा उनले फोरमका नेताहरूलाई ठूलै रकम दक्षिणा चढाएका होलान् । तर पनि दलका नेताहरू उनको विरोधमा एक शब्द बोल्दैनन् । नामले समाजवादी हुँदैमा व्यवहारले समाजवादी हुँदैन भने एउटा ज्वलन्त नमुना पनि हो रौनियारको जनविरोधी कार्य ।
कुनै पनि दल एउटा विचार र दर्शनमा स्थापना भएको हुन्छ । सो विचार र दर्शन आत्मसात गर्ने जनता सो दलका सदस्य हुन्छन् तर नेपालको सन्दर्भमा व्यक्तिले दललाई चिनून् या नचिनून्, व्यक्तिले दलका नेतालाई चिनून् या नचिनून् तर दलको पछाडि लाग्ने परिपाटी मौलाएको छ । यसले दल र दलका कार्यकर्तालाई सद्बुद्धि दिंदैन या स्पष्ट विचार दिंदैन । हरिनारायण रौनियारलाई सांसद बनाउनु मनासिब छ÷छैन ? प्रश्न गर्नुभन्दा पनि फोरमको प्रवृत्ति के हो भने विषय बुझ्नु अनिवार्य छ । दल खोल्नु नै पेशा मान्ने र विनालगानी चाँडै धनी हुने सपना देख्ने प्रवृत्तिका कारण आज दल र दलका नेताहरूमाथि समेत आम जनताको अविश्वास छ, यसमा फोरममात्रै अपवाद हुनसक्दैन ।
रौनियारका नाममा पत्र काट्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छायाँमा परेको आफ्नो छवि सुधार गर्ने हो भने यस्ता धेरै मानिसहरूलाई बिना कुनै पूर्वागह र राजनीतिक मुलाहिजा कारबाही गर्नसक्नुपर्दछ । त्यसो नगरेकै कारण आयोगलाई पनि हिजोआज जनताले पत्याउन छाडिसकेका छन् तर जन चाहनाअनुसार भ्रष्टहरूलाई कारबाही गर्दै जाने हो भने कानुनी राज्य प्रत्याभूत भएकोमा जनता खुसी हुनेछन्, गुम्न लागेको छविमा सुधार हुनेछ । रक्षक नै भक्षक भएकोमा चिन्तित जनताको आशामा नयाँ विश्वास पलाउने छ ।
अतः राजनैतिक दलहरूले निर्वाचनमा उम्मेदवार बनाउने सिलसिलामा जसले दललाई आर्थिक र भौतिक सहयोग गर्नसक्दछ त्यस्तलाई टिकट दिन छाडेर विचारको आधारमा राजनीति गर्ने र राम्रो छवि भएका उम्मेदवारलाई छनोट गर्नु आवश्यक छ । जेहोस्, ढिलै भए पनि आयोगले यसपटक एक भ्रष्ट र जनविरोधी प्रतिनिधिलाई पक्राउ गर्नका लागि कदम उठाएको छ । यस्तै काममा आयोगलाई सफलता मिल्दै जान सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *