यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडांै क्षेत्र नं ७ मा जनताद्वारा निर्वाचित सांसद रामवीर मानन्धरलाई पदबाट राजीनामा दिन लगाएर सांसद बन्न नेकपा नेता वामदेव गौतमको प्रयास सफल वा असफल जे भए पनि पछिल्लो समयमा चर्चामा आएको यो राजनीतिक घटनाक्रमले नेपालका शासक दलका नेतामा रहेको जमिनदारी चिन्तन र प्रजातन्त्रविरोधी मानसिकता सतहमा ल्याएको छ ।
प्रजातन्त्रलाई लोकतन्त्र, जनतन्त्र वा अङ्ग्रेजीमा डिमोक्रेसी आदि शब्दले सङ्गेत गरिन्छ । जनताको मतअनुसार चल्ने शासन व्यवस्थालाई नै प्रजातन्त्र भनिएको हो । जनताको अभिमतलाई नै शासन सञ्चालनको आधार मान्ने प्रजातन्त्रको न्यूनतम शर्त हो । त्यही कुरालाई स्वीकारेर नेपालको संविधानमा सार्वभौमसत्ता जनतामा निहीत हुने शब्दावली उल्लेख छ । जनताले आफ्नो मत अभिव्यक्त गर्ने औपचारिक माध्यम भनेको आवधिक निर्वाचन हो । निर्वाचन आफैं किनबेचको प्रक्रिया बनेको आजको पुँजीवादी बन्दोबस्तको विशेषता हो । यस विषयमा अलग छलफलको आवश्यकता छ । जसरी होस्, रामवीर मानन्धर काठमाडांै क्षेत्र नं ७ का जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् । समानुपातिक प्रणालीबाट नभई प्रत्यक्ष रामवीर मानन्धरकै नाममा जनताले मत दिएका हुन् ।
यसप्रकार निर्वाचनमा जनताबाट चुनिएका प्रतिनिधिलाई कुनै अर्को क्षेत्रमा जनताद्वारा पराजीत व्यक्तिलाई सांसद बनाउने लक्ष्यकै लागि राजीनामा दिन लगाउनु जनताको भावनामाथि कुठाराघात हो, राजनीतिक अनैतिकता हो । डोल्पा र बर्दियाका जनताले सांसद बन्न अयोग्य ठहर गरिसकेका वामदेव गौतमले आफू ‘सर्वोत्तम व्यक्ति’ भए पनि जनादेशको अवहेलना गर्न सर्वथा प्रजातन्त्रविरोधी काम हो । नेपाली जनताको गौरवशाली बलिदानबाट हासिल लोकतन्त्रलाई नेताहरूका यस्ता कामले कमजोर बनाउनेछ ।
वामदेव र उनको पक्षधरले आजको संसद, सरकार र पार्टीभित्र उनको खाँचो भएको निकै ठूलो हल्ला गरिरहेका छन् । तर अहिलेको संसदमा वामदेव गौतम नहुँदा केही फरक भएको महसुस जनताले गरेका छैनन् । गृहमन्त्री रामबहादुर थापाको सट्टा वामदेव आए ‘निर्मला बलात्कार र हत्या काण्ड’ को दोषी पक्राउ परिसक्थ्यो भन्नेमा नेपाली जनताले विश्वास गर्ने आधार छैन । विगतमा वामदेव पटक–पटक विभिन्न मन्त्री बनिसकेका छन् । उनी गृहमन्त्री बन्दा आतङ्गकारी तथा विध्वंसकारी नियन्त्रण विधेयक ल्याएका थिए । कैलालीको टीकापुर काण्ड हुँदा देशको गृहमन्त्रालय उनैले सम्हालेका थिए । उनी उपप्रधानमन्त्री र गृहमन्त्री बन्दा पनि देशमा कुनै किसिमको परिवर्तन जनताले महसुस गरेका थिएनन् । बरू त्रास र भयमै जीवन बिताउन बाध्य थिए जनता । त्यसकारण वामदेवको आजको शासनको केन्द्रमा हुनु र नहुनुले नेपाली जनताको निम्ति ठूलो भिन्नता पर्ने तर्क सत्य होइन ।
दसैंको मुखमा आएको यो राजनीतिक हल्लाले केही दिन सर्वसाधारणलाई ‘रिफ्रेस’ गरे पनि यसभित्र रहेको कुरुपता भने कालान्तरको लागि हानिकारक बन्न सक्दछ । लोकतन्त्र भनेको शासन व्यवस्थासँग मात्र सीमित विषय होइन । लोकतन्त्र आचरण र चिन्तनमा प्रतिबिम्बित हुने दर्शन हो । यसको सुरुवात राजनीतिक नेतृत्वबाटै हुनुपर्ने थियो । वामदेव र रामवीर प्रकरणले अझै पनि शासक दलका नेतामा यो आचरणको अभाव प्रकाशित गरेको छ ।
Leave a Reply