भर्खरै :

दसैंमा सरसफाइ गर्नु नागरिकको दायित्व

दसैंको आगमनसँगै सबैतिर बजारमा चहलपहल बढेको छ । खानपिन, भोजभत्तेर, पूजाआजासँगै सहर–बजारमा फोहोरमैला पनि बढ्ने गरेको छ । चाडवाडको रमाइलोमा रमाउँदै गर्दा कतिबेला हाम्रो वरपरका टोलछिमेक फोहोर भएको चालै पाउँदैनौं । यसले एकातिर हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुन्छ भने अर्कोतिर हामी सामाजिक भावनाबाट च्युत बनेको प्रतिबिम्बित हुने गर्दछ । जसरी श्वासप्रश्वास हाम्रो जीवनको लागि अपरिहार्य प्राकृतिक प्रक्रिया हो, त्यसरी नै आफ्नो टोलछिमेक नियमित सफा राख्नु सामाजिक दायित्व र प्रक्रिया हो । चाडवाड भनेर जसरी हामी श्वास फेर्न भुल्दैनौं, त्यसरी नै चाडवाडमा हामीले हाम्रो टोलछिमेकमा सरसफाइ गर्ने दायित्वबाट च्युत हुनसक्दैनौं । यसलाई स्थानीय तहको जिम्मेवारीको रूपमा मात्र लिनुले हाम्रो साँघुरो सोचाइलाई मात्र उजागर गर्दछ ।
चाडवाडको समयमा अरू बेलाभन्दा बढी फोहोरमैला बढ्ने भएकोले यो अवधिमा अझ बढी सरसफाईलाई ध्यान दिन जरूरी छ । रोगव्याधी फैलिने सम्भावना पनि यही बेला बढ्ने भएकोले सरसफाइलाई अभियानको रूपमा अघि लानु आवश्यक हुने गर्दछ ।
चाडवाड मान्नुमात्र सुसंस्कृत हुनु होइन । आफ्नो वरपरको वातावरण स्वच्छ र सफा बनाउनु पनि संस्कृतिकै हिस्सा हो । चाडवाड मान्ने नाममा आफ्नो वरपरको वातावरण दुषित बनाउनुले हाम्रो संस्कारहीनता प्रदर्शित गरेको हुन्छ । सिङ्गो समुदायलाई सफा बनाउने यो अभियानमा केही मानिस वा कुनै संस्थामात्र लागेर सम्भव वा साध्य हुने गर्दैन । यो कसैप्रति बद्ख्वाइँको विषयमात्र पनि पक्कै होइन । सिङ्गो समाज सफा बनाउन सिङ्गो समुदाय नै जागरूक भएर लागेमात्र यो सम्भव हुने कुरा हो ।
आजभोलि सहरबजारमा सहकारी संस्थाहरू बग्रेल्ती छन् । सहकारी निःसन्देह आर्थिक गतिविधि गर्ने क्षेत्रमात्र होइन । आर्थिक गतिविधिसँगै सामाजिक गतिविधि पनि सहकारीको दायित्व हो । दसैं–तिहारजस्तो चाडवाडमा सहकारीहरूले आफ्ना सदस्यको परिचालन समुदायको सरसफाइमा गरिनुले समाजको हितमा योगदान गर्नेछ । स्थानीय रूपमा सक्रिय टीम–क्लव र समूहलाई पनि यो काममा परिचालित हुन उत्साहित गर्नुपर्दछ । विशेषतः युवा पुस्ताको यो अभियानमा परिचालनले समाजमा दीर्घकालीन प्रभाव पार्नसक्दछ ।
सहरीकरणसँगै समाजमा एकाङ्गीपन पनि क्रमशः बढिरहेको छ । एकाङ्गीपनले समाजका स्वार्थी भावनालाई बलियो बनाउने गर्दछ । त्यही स्वार्थी भावनाले मानिसलाई समाजको अवस्थाप्रति चासो नराख्ने बनाइदिन्छ । अनि आफ्नै आँगनमा थुप्रेको फोहोर पनि आफ्नो दायित्व मानिंदैन बरू नगरपालिकाको दायित्व ठानिन्छ । तर चाडवाड सामाजिक भावना विस्तार गर्ने अवसर पनि हो । यसले समुदायलाई एक ठाउँ र एउटै बाटोमा हिंड्ने बनाउन सक्छ । त्यसकारण समुदायको सरसफाइमा परिचालन गर्न सके पुँजीवादी बन्दोबस्तको दोष र सहरीकरणको प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।
नागरिक भावना र सामाजिक व्यवहारले समाजलाई समृद्ध र सभ्य बनाउने गर्दछ । सभ्य समुदाय नै सफा हुने गर्दछ । सभ्य समुदायमा मानिस आफ्नो ठाउँ आफै सफा गर्न अग्रसर हुने गर्दछ । त्यसकारण दसैंमा आफ्नो ठाउँ सरसफाइ गर्नु सभ्यताको चिह्न हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *