‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
कुनै बेला थियो, दसैंको दिन राजदरबारभित्र राजाको हातबाट टिका थाप्ने हजारौंको लाइन लाग्थ्यो । कोही राजाका खुट्टा ढोग्थे, कोही राजाको जयजयकार गर्थे । सारमा राजाको गुणगान गाएर खुसी बनाउने प्रयास हुन्थ्यो । अलि अघि राणाकालमा राणा शासकलाई खुसी बनाउन मानिसहरू राणाका दरबारमा चाकडी जान्थे । जसले राणाको मनमा करुणा जगाउन सक्यो, त्यो मान्छेको राज्यकोषबाट फलीफाप हुन्थ्यो । राजनीतिक भाषामा त्यस्तो बन्दोबस्तलाई सामन्तवाद भनियो । कुनै व्यक्ति वा परिवारको जयजयकार गरे पछि वा कसैको कृपाको भरमा चल्ने त्यो बन्दोबस्त जनतालाई मन परेन । जनता आफैं सार्वभौम बन्न सङ्घर्ष गरे । राजाको परिवारमात्र शासक बन्ने बन्दोबस्तको ठाउँमा जनताका छोराछोरी पनि शासक बन्न सक्ने बन्दोबस्त स्थापना भयो ।
जनताले आशा गरेका थिएः अबदेखि कुनै पनि काम कसैको कृपामा निर्भर रहनेछैन । कसैलाई चाकडी गरेकै भरमा राज्यको हात आफ्नो थाप्लोमा पर्नेछैन । बरू क्षमता र परिश्रमको भरमा काम हुनेमा जनता आशावादी भए । राजनीतिक भाषामा त्यस्तो राजा र राणा नभएको बन्दोबस्तलाई गणतन्त्र भनियो । राज्य आफैं कुनै धर्मको पक्ष वा विपक्षमा हुनुहुन्न भन्ने विचारबाट अभिप्रेरित भएर धर्मनिरपेक्ष राज्य घोषणा गरियो । तर गणतन्त्र स्थापना भएको दसकौं बितिसक्दा पनि देशको चालामालामा भने कुनै भिन्नता आएन । हिजो राजा बसेको सिंहासनमा नयाँ मान्छे बस्यो । तर उसका चालामाला राजाको भन्दा कुनै अर्थमा भिन्न भएन ।
राजाको सिंहासनमा राष्ट्रपति बसे । राजाले गर्ने सबै चालचलन राष्ट्रपतिले सम्हाले । दसैंको दिन राजदरबारमा लाग्ने लाइन राष्ट्रपति भवनमा स¥यो । हिजो राजावादी लाइन लाग्ने गरेजस्तै आज एमालेका कार्यकर्ता लाइन लाग्ने भए । यो कस्तो परिवर्तन !भित्री आन्तर्य उही, बाहिरी आवरण मात्र परिवर्तन, नेपाली जनताको अपेक्षा पक्कै थिएन । तर आज भइरहेको छ त्यस्तै । हिजो राजा र राजपरिवार ‘प्रजामाथि शासन गर्न शक्ति’ माग्दै शक्तिपीठ धाउने गरेकोमा आज राष्ट्रपतिले तिनै शक्तिपीठहरूमा शक्तिको अराधना गर्ने गरेका छन् ।
राष्ट्रपति एक जना व्यक्तिको रुपमा कुनै धर्मप्रति आस्था हुनु अस्वाभाविक कुरा होइन । तर राज्यकोषको प्रयोग गरी उनले कुनै शक्तिपीठको पूजाआजा गर्नु, राजाले प्रजालाई ‘आर्शीवाद’ दिए जस्तै आफ्नो निवासअघि लाइन लगाएर टिका लगाउनु नेपालले आज अङ्गालेको राज्यव्यवस्थाको भावनाविपरीत हो । राणा शासकहरूबीच कसको दरबारबाहिर कति जनाको चाकडी जम्मा गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुन्थ्यो । त्यो राणाशाही संस्कार आजका राष्ट्रपतिमा पनि हुनुले राजनीति बदलिए पनि राजनीतिक संस्कार र चिन्तन नबदलिएको निष्कर्षमा पुग्न करै लाग्छ ।
राष्ट्रपतिले दसैंको सार्वजनिक रुपमा टिका लगाउने सूचना सार्वजनिक भएसँगै समाजशास्त्रीहरूले निकाल्ने निष्कर्ष भनेको, यो देशमा कुनै बेला राजाले, कुनै बेला राणाले, कुनै बेला पञ्चले त कुनै बेला काङ्ग्रेसले शासन चलाएजस्तै अहिले एमाले र माओवादीले शासन चलाइरहेको मात्र हो । तर उनीहरूका आधारभूत चरित्रमा कुनै तात्विक भिन्नता भने छैन ।
कुनै बेला एउटा नामैले मात्र भए पनि कम्युनिष्ट कहलिएको पार्टीकी नेतृ आज राष्ट्रपति पदमा पुग्दा हिजो राजाले चलाएको चलनलाई नै निरन्तरता दिन खोजेको अवस्थामा तिनले हिजो कम्युनिष्ट पार्टीमा रहेर पढेका वा अङ्गाल्न शपथ खाएका आदर्श सबै सत्तामा उक्लिने भ¥याङ भएको प्रमाणित गरेको छ ।
सबै पुराना परम्पराको अनुशरणले नयाँ नेपालको नारा जनतालाई झुक्याउने गुलियो पोतिएको विषमात्र भएको ठहर हुन्छ । जनतालाई समाजवादको सपना देखाएर उनीहरूले सामन्तवादकै जरा जोगाउनेतिर लागेका छन् ।
Leave a Reply