भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
श्यामकृष्ण खुलिमुली
हिंडेर फर्कने कि गाडीमा ?
यस विषयमा व्यापक छलफल भयो । हुन त हिंड्ने भनेरै मुस्ताङ गएका थियौं । तर लोमान्थाङदेखि चेलेसम्म हिंड्दा कम्तीमा तीन दिन लाग्न सक्छ । त्यसमाथि सबै बाटो उस्तै लाग्छ, बीचमा अलमलियौं भने झन् बढी समय लाग्नसक्छ । साथीहरू पनि सबैजना त्यत्रो लामो बाटो हिंड्न समर्थ होला जस्तो लागेन । हिंडेपछि दुई छाक खाना, चियानास्ता, बासको खर्च हिसाब गर्दा त बरु गाडीमा फर्कन नै सजिलो होला जस्तो लाग्यो । मैले र कृष्णप्रसाद तुइतुईले यसबारेमा बालकृष्ण बनमालालाई भन्यौं । सुरुमा हिंडेरै फर्कने भने पनि पछि सहमत भए ।
गाडी पाउने हो कि होइन ?पाएन भने फेरि यतै कुर्नुपर्ने होला । यस्तै सोचेर हामी साढे छ बजे नै काउन्टुमा पुग्यौँ । तर काउन्टर खोलिसकेको थिएन । चेले फर्कनेहरूको भीड थियो । सबैजना ढोकामा धर्ना दिएर टिकट लिन तँछाडमछाड गरिरहेका थिए । एउटा समूहले त हिजोदेखि नै टिकटका लागि धाइरहेको बतायो ।
पार्कमा दुईवटा जीप थियो । एकजना त अस्ति यहाँ आउँदाकै पे्रम दाइ रहेछन् । हामीलाई त ढुङ्गा खोज्दा देउता मिलेझैं भयो ।
‘ओहो, प्रेम दाइ पो रहेछ ।’ अलि ढुक्क हुँदै साथीहरूले खुसी प्रकट गरे ।
पुरानै गाडी देखेपछि अब फर्कन पाउने कुरामा ढुक्क भयौं । काउन्टरमा टिकटका लागि कु¥र्यौं । काउन्टर खोलेपछि प्रेम दाइ पनि हाम्रो लागि टिकट मिलाउन लागिपरे ।
अन्ततः टिकट मिल्यो । चिया पनि खाइसकेका थियौं । फर्कने बेला नभएसम्म हामी कुरेर बस्यौं । एकजना मानिस घोडा लिएर आउँदै थियो ।
‘कहाँबाट ल्याउनुभो ?’ उसको आफन्तले सोध्यो ।
‘किनेर ल्याएको ।’ उसले जवाफ दियो ।
‘कति प¥यो ?’
‘सत्तरी हजार ।’
घोडा गर्भवती थियो । यहाँको यातायातको मुख्य साधन नै घोडा, बाइक र जीप थियो ।
समय घर्किंदै थियो । बिहानको आठ बज्यो । हामी दुई समूह बनाई दुइटा गाडी चढ्यौं । एउटा समूह प्रेमदाइको गाडीमा थियो, हामी भने अर्कै गाडीमा थियौं । तैपनि लोमान्थाङलाई बिदाइको हात हल्लायौं ।
सराङ, घमी, घिलिङ हुँदै साँढे दश बजे घ्याम्देको स्याङमोचेस्थित होटल निलगिरीमा पुगी खाना खायौं । त्यसपछि फेरि अगाडि बढ्यौं । त्यस अगाडिसम्म खासै नबोलेका ड्राइभर अब भने बोल्न थाले । उनले आफू हिजोमात्र पाँचखालबाट आइपुगेको बताए ।
‘दाजुलाई कति दिन्छ नि ?’ बालकृष्णले सोधे ।
‘महिनाको तेत्तीसहजार दिन्छु भनेको थियो । त्यसबाहेक होटलले टिप्स दिन्छ । त्यति नै हो ।’ उनले जवाफ दिए तर त्यति खुसी देखिंदैनन् । उनले भनेअनुसार यो सिजनपछि सायद यहाँ आउँदैनन् होला ।
कुरा गर्दा गर्दै फेरि त्यही ठाउँ आइपुग्यो, डरलाग्दो चट्टाने भीर र झरना । डरलाई निचोर्दै हामी अघि बढ्यौं र समरमा आइपुग्यौं । त्यहाँ फेरि गाडी रोकियो । गाडीमा तेल हालियो । त्यहाँ गाडी साहुले ड्रम ड्रममा तेल ल्याएर राख्दारहेछन् । एकैपटक नौ महिनालाई पुग्ने गरी तेल ल्याउँदा रहेछन् । लोमान्थाङ आउन जान ३५ लिटर तेल लाग्दोरहेछ । ड्राइभरले ड्रममा पाइप घुसारी तेल निकाले । साथीहरूले पनि सहयोग गरे । तर गाडीमा हाल्दा पोखियो । यसैक्रममा ठूलो जर्किनबाट तेल पोखिएर न्हुज किजूको लुगाभरि लाग्यो । तेल राखेर हामी फेरि अगाडि बढ्यौं । नेपालको मरुभूमि छिचोल्दै, सुख्खा तर आकर्षक र मनमोहक अनि नजिकैझैं लाग्ने हिमाली चित्रपट हेर्दै हामी अगाडि बढ्यौं । त्यही चटाने भीरपाखा छिचोल्न र चीनसँग जोड्ने राजमार्गको निर्माण कार्य हुँदै थियो । घ्याकर हुँदै चेले पुग्दा सवा एक बजेको थियो ।
चेलेमा कालिगण्डकी वारिपारि चटानी भीरको आकर्षक कला थियो । रातो मोजाइक, मानौ कम्प्युटरमा राख्ने गरिएको वालपेपरझैं । चट्टान कुँदेर बनाएको प्राकृतिक क्यानभासझैं । त्यही बसेर सबैले व्यक्तिगत र सामूहिक फोटो पनि खिच्यौं ।
बा¥ह बजेपछि हुरी चल्छ भनेर सुनेका थियौं । नभन्दै हुरी आइरहेको थियो कालीगण्डकीलाई छोपुलाझैं गरेर । मानौं कालीगण्डकी त बालुवा र धुलोको कुहिरीमण्डल नै बनेको थियो । बालुवाका कणकणसमेत उडेको थियो । यस्तो बेलामा हिंड्नु परेपछि त सुसज्जित हुनुप¥यो । टाउकोमा क्याप, आँखामा सनग्लास, नाकमुखमा मास्क लगाएर हिंडे । सबैजना त्यसरी नै हुरीबिरुद्ध सुसज्जित भएर हिंड्न थाले । हामी कालीगण्डकीको किनारै किनार हिंड्यौं ।
छुसाङ हुँदै हाम्रो यात्रा कागबेनीतर्फ अगाडि बढ्दै थियो । हुरीसँग पौंठाजोरी खेल्दै कालीगण्डकीको तिरैतिर हिंड्यौं । एकाधपटक त यस्तरी हुरी चल्यो कि झण्डै उडाएन । त्यसमाथि आफू त दुब्लो पातलो मान्छे, उडाउने नै पो हो कि भन्ने डरले छेउमा लागिनँ । भित्ता च्यापेर हिंडे । हुरी त रोक्ने कुरै छैन । चल्या चल्यै थियो । यो मान्छे उडाउने हुरीलाई ऊर्जामा रुपान्तरण गर्न पाए मुस्ताङमात्र होइन देश नै झल्लमल्ल हुन्थ्यो होला । तर विडम्बना देश हाँक्नेहरू सपनामात्र बेचिरहेका छन् । उखानटुक्काको बिस्कुन फिंजाइरहेका छन् । महँगोमा भारतबाट बिजुली ल्याएर हाम्रा खोला नदी तिनकै पोल्टामा हाली हामी दीपावली मनाइरहेका छौँ ।
साथीहरू कोही निकै अगाडि थिए, कोही निकै पछाडि । म भने अगाडि र बीचतिरै थिएँ । अलिकति हिंडे, हुरीलाई पन्छाउन खोजें । तर फेरि ठूलो आवाजका साथ हुरी आइहाल्ने । धूलो र बालुवाका कण उडाएर अनुहारभरि हान्यो, जिउभरि हान्यो । मानौं, देवतालाई भक्तजनले अक्षताले हानेझैं । एकपटक त क्याप नै उडायो, धन्न समातें ।

श्यामकृष्ण खुलिमुली
Leave a Reply