भर्खरै :

स्ववियु निर्वाचनः हुन सकेन विगतभन्दा भिन्न

स्ववियु निर्वाचनको मिति नजिकिएसंगै क्याम्पस क्याम्पसमा झडप र विवादहरु बढ्ने थालेका छन् । बिहीबार बिहान पाटन संयुक्त क्याम्पसमा निर्वाचन समितिले बोलाएको बैठक शुरु नै हुन सकेन । अनेरास्ववियु र नेविसंघका विद्यार्थीहरुले क्याम्पसमा भएका निर्वाचन प्रयोजनका सबै भर्ना खारेजीको माग गर्दै बैठक कोठामा तोडफोड गरेका थिए ।
उनीहरुले भर्ना विवाद समाधान नभएसम्म चुनाव गर्न नदिने भन्दै विरोध जनाएका थिए ।
यसैबीच बुधबार नेपाल ल क्याम्पस र त्रिचन्द्र क्याम्पसमा फेरि तालाबन्दी भएको छ । त्रिविको स्ववियुसम्बन्धि नियममा रहेको ‘स्ववियुको कुनै पदमा निर्वाचन भएको विद्यार्थी आफू निर्वाचित हुँदाको संकाय र तहको अन्तिम सैद्धान्तिक परीक्षा सकेलगत्तै सो पदबाट मुक्त हुने’ प्रावधान खारेजीको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका हुन् । केन्द्रले तालाबन्दी नगर्ने निर्णय गरेको भए पनि नेपाल ल क्याम्पसमा नेविसंघ, अखिल, अखिल क्रान्तिकारीले पनि तालाबन्दी गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसमा भने केही स्वतन्त्र विद्यार्थीका नाममा तालाबन्दी भएको छ ।
तालाबन्दीको कारण त्यहाँको सबै निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
चर्को शुल्क
निर्वाचनमा उम्मेद्वारी दर्ताको लागि क्याम्पस–क्याम्पसमा लागु भएको शुल्क अत्याधिक भए पछि विद्यार्थी संगठनहरु मार्कामा परेका छन् । कैलालीको लम्की बहुमुखी क्याम्पसमा समानुपातिक चुनाव लड्न एउटा विद्यार्थी संगठनले ३ हजार शुल्क तोकेको छ ।
काठमाण्डौ उपत्यकाका क्याम्पसहरुमा पनि उम्मेद्वारी शुल्क अचाक्ली महंगो भएको विद्यार्थी संगठनहरुले गुनासो गरेका छन् ।
विशेषतः यसले साना विद्यार्थी संगठनहरुलाई मार्कामा पारेको छ । सम्बन्धन प्राप्त क्याम्पसहरुमा त शुल्ककै कारण कतिपय क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेद्वारी नै दिन नसकिने अवस्था छ ।
शुल्क घटाउने विषयमा विशेषतः अखिल क्रान्तिकारी प्रचण्ड नकारात्मक भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
आचारसंहिताको धोती
आचार संहिता लागु भएको हप्तौं भए पनि क्याम्पस क्याम्पसमा त्यसको कुनै पनि पालना भएको छैन । आचारसंहिता विपरीत प्रचार सामग्री राख्ने मात्र नभई पार्टीका नेताहरु नै क्याम्पसहरुमा पुगेर चुनावको प्रचारमा लागेका छन् । बिहीबार नेकां नेता प्रकाशशरण महतले शंकरदेव क्याम्पसमा पुगेर भाषण गर्न भ्याए भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाल कमर्श क्याम्पसको कार्यक्रममा पुगेर बोलेका थिए ।
आचार संहिताको विशेषतः तीन प्रमुख भनिएका विद्यार्थी संगठनहरुले धोती लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *