‘भान्छाघर नै औषधालय’ विषयक अभिमुखीकरण कार्यक्रम
- असार २५, २०८३
नीरज लवजू
‘पैसाले पैसा तान्छ ।’ यो कथन उसले किशोर उमेरमै सुनेको थियो । त्यत्तिबेला यसको खास अर्थ त उसले बुझेको थिएन, तर जुन दिनदेखि उसले व्यापारमा हात हाल्यो, उसको लागि यो उखान मूलमन्त्रजस्तै बन्यो । पैसाले पैसा तानेको उसले धेरै ठाउँमा देख्यो, धेरै पटक अनुभव ग¥यो । पैसाले कसरी पैसा तान्ने विषयको विशेषज्ञ नै बनिसकेको छ ऊ ।
उसले पैसा कमाएको र पैसा चलाएको देखेर ताजुब नपर्ने कोही पनि छैनन् । ऊ सरर चिल्लो मोटर गाडी हाँकेर गएको देख्दा फुटपाथमा मान्छेहरू भन्छन्, ‘यो मान्छेले के गरी पैसा कमायो ?’
अड्कल आ–आफ्नै छन् । कोही भन्छन्, ‘‘माओवादी लडाकूहरूले बैङ्क लुटेर भाग्दै गर्दा उसको घरमा एक झोला पैसा फालेर गएका थिए । लडाकूहरू त्यो झोला लिन आउँछन् भनी केही महिनासम्म झोला सुरक्षित रुपमा लुकाएर राखियो । तर धेरै वर्षसम्म झोला कसैले लिन आएन । सायद पैसो भएको झोला फालेर भागेका माओवादी लडाकूहरू कतै इन्काउन्टरमा परे होलान् । उसको लागि फलिफाप बन्यो ।’’
‘भारतले नाकाबन्दी लगाएको बेलामा रक्सौलको एक जना मान्छेले कालोबजारी गरी ल्याएको सामानको जिम्मा लिएपछि ऊ मालामाल भएको हो ।’, कोही भन्छन् ।
घरजग्गावालाले जग्गा किनबेच गर्ने नाममा उसकै नामसँग ठ्याक्कै मिल्ने जग्गाधनी भएको जग्गा भेटाएछन् । मालपोतका कर्मचारीसँग मिलेर घरजग्गा कारोबारीले उसलाई नै वास्तविक जग्गाधनी बनाएर जग्गा बेचे । त्यसको कमिसनबापत उसले प्रशस्त पैसा कमायो । त्यही पैसा उसले घरजग्गा कारोबारमा लगायो । त्यसैले उसलाई धनी बनायो । यस्तो पनि कुरा सुनियो ।
अझ कसैकसैले त उसले चलाइरहेको पैसा आफ्नै नभई पहिले ऊ काम गर्ने अफिसको हाकिमको भिनाजुको हो भन्छन् । हाकिमको भिनाजु बेलाबेलामा मन्त्री बनिरहने नेता हुन् ।
यस्ता धेरै अड्कलबाजी आउनुको मूल कारण भनेको उसले निकै छोटो समयमा अस्वाभाविक रुपमा कमाएको अकुत सम्पत्ति नै हो । उसको टोल छिमेकलाई पाँच वर्षअघि उसको हालत के हो, राम्ररी थाहा छ । निकै नाजुक थियो, उसको परिवारको आर्थिक अवस्था । खानसमेत धौधौ । उसको एक जना बहिनी त ब्रेन ट्युमरको उपचार हुन नसकेर मरेकी थिई । अस्पतालमा राखेको बहिनीको सक्दो उपचारमा सहयोग होस् भनी टोलका केही समाजसेवीले केही रकम जम्मा गरेर उसलाई दिएका थिए । टोलको यस्तो सहयोग हातमा पर्दा ऊ भावुक भएर निकै बेर रोएको थियो ।
उसको बुबा र आमाको जिउमा कहिल्यै पनि सुकिलो लुगा परेन । आज ऊ अकुट सम्पत्तिको मालिक भइसकेर पनि आमाबुबा लगाउन अप्ठेरो मानेर भएका राम्रा लुगा पनि लगाउँदैनन् ।
मुख्य जिज्ञासा के हो भने उसले यति छोटो समयमा यति धेरै पैसा कसरी कमाउन सक्यो ? मानिसहरू बिहान काग उड्नु अघि उठेर भिंद्योको तस्वीरमा सर्वसुगन्धित धुप बालेर रातदिन गोरुले काम गरेजस्तै काम गर्दा पनि यति पैसा कमाउन सकेका छैनन् । तर पहिला हेर्दा पनि गोज्याङ्ग्रो जस्तो मान्छेले कसरी सम्पन्नताको यो उचाइ हासिल गर्न सम्भव भयो !
………………………..
धेरै वर्गीकृत विज्ञापनको पछि लागिसकेपछि एउटा विज्ञापन गरिएको कार्यालयमा उसले सौभाग्यवश काम पायो–पियनको । उसको निम्ति त्यही काम पनि ठूलो भरोसा बनेको थियो । कम्तीमा अब महिना मर्ने बेला केही हजार भए पनि गोजीमा पर्ने भयो । जागिर पक्का भएको दिन उसले भगवानलाई निकै बेर धन्यवाद दिएको थियो । पियन नै सही, दैनिक गाडी चढेर ऊ पनि अफिसमा जाने भयो । शनिबार बिदा मनाउने भयो । झुण्डिने एउटा ठाउँ पायो उसले ।
अफिसमा उसको काम धेरै थिएन–हाकिमले भनेको बेला हाकिमको कार्यकक्षमा चिया टक्राउने । हाकिमले अरु कुनै काम अह«ाए गर्ने । हाकिम असलै लाग्थ्यो । कुन मन्त्रीको सालो रे । मन्त्री नै त्यहाँ आएको त उसले देखेन, तर मन्त्रीका श्रीमतीको बेला–बेला त्यहाँ सवारी भइरहन्थ्यो । मन्त्रीको परिवार आएको दिन हाकिमले कोठामा विशेष कफी बनाउन अह«ाउँथ्यो । त्यो दिन ऊ पनि विशेष मिहिनेत गरी कफी बनाउँथ्यो । कफी गिलासमा मज्जाले फिटेर । दूध पनि मज्जाले उमालेर ।
यसरी नै चलिरहेको थियो जिन्दगी । महिनाको ८ हजारको आँट बोकेर उसले जिन्दगी हाँकिरहेको थियो ।
तर एक दिन यो शिलशिला टुट्यो । शिलशिला टुट्यो भनूँ वा उसको भाग्य खुल्यो भनूँ । परिणाम हेर्दा त त्यो शिलशिला टुटेर उसको भाग्यमा चमकको बहार ल्याइदियो ।
हाकिमले पुतलीसडक गएर केही सामान किनेर ल्याउन अह«ाएको थियो । अरू बेला त्यसरी टाढा सामान किन्न पठाउँदा आफ्नै भए आफ्नै, नभए अफिसको कोही स्टाफको मोटरसाइकल दिएर पठाउने हाकिमले त्यो दिन किन हो, उसलाई गाडीमा जान भन्यो । उसलाई एक क्षण त रिस पनि उठेको थियो, मोटरसाइकल नदिई गाडीमा जान भनेकोेले । तर हाकिमको अगाडि पियनको रिसको के माने हुनसक्छ र !
ऊ लुखुरलुखुर हिंड्यो पुतलीसडक । भीडमा भीड गाडी जाम, गर्मीले बानेश्वरदेखि पुतलीसडक पुगेर फर्कन समय त लाग्ने नै भयो । समय निकै बेर लाग्यो ।
समय धेरै बितेकोले ऊ हतारमा थियो । सिधै ऊ हाकिमको कोठाभित्र पस्यो । हतारमा उसले ढोका ढकढकाउनुपर्ने अनुशासन पनि बिस्र्यो । ऊ हाकिमको कोठाभित्र पस्यो ।
उफ्, कोठाभित्र उसले जे देख्यो, त्यो दृश्य उसले कहिल्यै नदेखेको खालको थियो । एकै क्षण सम्पूर्ण ब्रह्माण्ड नै बन्द भएको जस्तो लाग्यो उसलाई । सबै प्राणीले श्वास फेर्न एकै क्षणलाई बिर्सेजस्तो भयो । सब एकदम ठप्प । तर त्यो क्षणपछि भने उसका लागि सबै संसार परिवर्तन भयो । अचानक र अनपेक्षित रुपमा सबै कुराले रुप बदलिएको जस्तो अनुभव ग¥यो उसले । कोठाभित्र हाकिमसँगै थिए उनका भिनाजुकी बहिनी अर्थात् मन्त्रीकी बहिनी । जसको विवाह भएको महिना दिन पनि बितिसकेको थिएन । हाकिमले आफ्नो प्रेमिकासमक्ष विवाहपछि पनि पे्रम पोख्न छाडेका रहेनछन् ।
………………………..
‘‘तिमीले जे देख्यौ, त्यो सबै जीवनभरका लागि बिर्सिदेऊ ।’’, हाकिमले त सुरुमा उसलाई त्रसित बनाउन चर्को स्वरमा बोलेका थिए ।
उसले केही बोल्नै सकेको थिएन । ऊ मौन बस्यो । मानौं उसले कुनै भयानक सपना देखेको होस् । कोठाभित्र रहेकी महिला केही नबोली बाहिर गइयो, चिल्लो कारमा बसेर बाहिर हुइँकिइन् ।
उसलाई केही भन्नु थिएन । तर हाकिम उसको निर्दोष मौनताबाट निकै आत्तियो । हाकिमले उसलाई हजार कुरा गरेर फकाउन खोजे, तर्साउन खोजे । ऊमात्र मौन बसे । ऊ घर फर्की । रातभरि ऊ सुत्न सकिन ।
भोलिपल्ट उसले कार्यालय नजाने विचार गरेको थियो । तर हाकिमले उसलाई फोन गरेर बोलायो । कार्यालयमा हाकिमले भन्यो, ‘‘हिजो तिमीले जे देख्यौ, त्यो बिर्सिदेऊ । त्यो कुरा कसैलाई भने तिमी र तिम्रो परिवारलाई राम्रो हुनेछैन । बरू म तिम्रो मौनताको मूल्य तिर्न सक्छु । भन तिमी कति पैसा माग्छौ ?’’
विचरा उसले के भनोस् !
हाकिमले उसको मौनताको मूल्य दुई करोड तिर्ने प्रस्ताव ग¥यो । उसलाई केही भन्नु थिएन । त्यो दिनबाट ऊ कार्यालय गएन, हाकिमलाई भेटेन, मन्त्रीकी बहिनीलाई कहीं पनि चिनेजस्तो व्यवहार गरेन । बरू भगवानले छप्पर फाडेर दिएको दुई करोड उसले आफ्नै एकजना साथीमार्फत घरजग्गा कारोबारमा लगायो । अनि ऊ धनी बन्यो । उसको सम्पन्नताको कथा यति हो । तर कथा भने अझै सकिएको छैन ।
………………………..
अनि सुरू भयो उसको समृद्धिको कहानी । हो, त्यही बेलादेखि उसले ‘पैसाले पैसा तान्छ’ भन्ने कथनलाई आफ्नो मूलमन्त्र बनायो । पैसाले कसरी पैसा तान्छ भन्ने कुरा उसले धेरै ठाउँमा पटक–पटक अनुभव ग¥यो । ऊ ठूलाबडाको भोजमा आमन्त्रित पाहुना हुनथाल्यो । उसकी बहिनी अस्पतालको बेडमा अन्तिम श्वास फेर्दै गर्दा टोलभरि सय–डेढ सय रुपैंया जम्मा गरी दिन आएका टोलवासी उसलाई कसो कसो फोहोरी, पुरानो विचारका, समयको सङ्केत नबुझेका लाग्न थाल्यो ।
तिनका अघि भन्न नसके पनि आफ्नो पासासर्कलमा फूर्ति गर्नथाल्यो,‘‘त्यो कृष्णे, त्यत्रो समाज सेवा ग¥यो जस्ताको तस्तै छ । अहिले पनि टोलको धारामा गाग्री बोकेर पानी थप्न आउँछे ।’’
ऊ ठूलै पार्टीको नेताको सङ्गतमा लाग्यो । धाकधम्की, रवाफले सगरमाथा नाघ्यो । उसले आफूलाई ठूलै दर्जामा देख्न थाल्यो । आफ्नो दर्जा देखाउन उसले घाँटीमा सुनको माला, हातमा सुनको ब्रास्लेट लगाएर हिंड्न थाल्यो । उसकी श्रीमतीको त फूर्ति उसको भन्दा कम्तीमा दुई इञ्च अग्लो थियो । मानौं उनीहरू राणाकी छोरी हुन् । केही समय यसरी नै बित्दै गयो ।
जीवनका लागि आवश्यक सबै पाठ समयले सधैं सिकाइरहँदैन । तर मसिनै आकारमा भए पनि यदाकदा समयले धेरै पाठ सिकाइरहेको हुन्छ । उसको सन्दर्भमा पनि त्यस्तो एक दिन आयो–उसको उचाइले एक दिन जमिनमा टेक्ने दिन ।
उसको पछिल्लो समय सरसङ्गत भएको साथी हो–श्रीकान्त । श्रीकान्तको छोरीको जन्म दिनमा आयोजित पारिवारिक भोजमा ऊ स–परिवार आमन्त्रित थिए । श्रीकान्तको परिवार त्यो समुदायको उच्च घरानामा गनिने परिवार हो । त्यो परिवारले उसलाई पारिवारिक भोजमा आमन्त्रण गर्नु भनेको पैसाले पैसा तान्छ भन्ने उसको मूलमन्त्रको अर्को संस्करण थियो । नत्र श्रीकान्तका बाजेले धेरै पटक उसका बुबालाई रामधुलाई गरेको विगत धेरै पुरानो होइन ।
श्रीकान्तको घरमा बर्थडे पार्टीमा जान उसले विशेष तयारी ग¥यो । उसकी श्रीमतीको त हप्ता दिनदेखिको तयारी थियो–साडी, गरगहना, जुत्ता, श्रृङ्गार अनि अरु पनि धेरै ।
उसले पनि आफूलाई निकै मज्जाले सजायो । जीउभरि सबै नयाँ लुगा लगायो । टोपीदेखि मोजासम्म नयाँ । अत्तर छर्कियो जीउभरि । अनि गयो–श्रीकान्तको घरमा ।
श्रीकान्तको भव्य महलको सबभन्दा तल्लो भ¥याङमुनि जुत्ता फुकाल्ने बन्दोबस्त गरिएको थियो । बर्थडे भोजमा धेरै पाहुना थिएनन् । श्रीकान्तका केही आफन्त, श्रीमतीको माइत र केही साथीहरू ।
श्रीकान्त बन्दोबस्तको काममा नै लाग्यो । ‘साथी हो, म यसो बन्दोबस्तमा व्यस्त हुन्छु । तिमीहरू यसो कोठामा रमाइलो गर्दै गरौं ।’, श्रीकान्तले भन्यो ।
सबै कोठाभित्र पसे । चौडा कोठामा ओछ्याइएको भव्य बुट्टेदार कार्पेटमा बसे । श्रीकान्त ब्राण्डेड रक्सीका बोटल र गिलास लिएर पस्यो ।
रक्सी गिलासमा मिठासपूर्वक खन्याइयो । यतिकैमा श्रीकान्तले भन्यो, ‘यहाँ कोठामा के गन्हाएको ?’
सँगैको एक जनाले पनि थप्यो, ‘त्यही त अघि बस्दादेखि मलाई पनि मोजा गन्हाएको जस्तो लागिरहेको छ ।’
सबैले एक अर्काको मुखामुख गरे । तर भोजको आयोजक श्रीकान्तको आँखा भने उसमाथि टाँसिएका थिए । आँखामात्र टाँसिदा केही फरक पर्दैनथ्यो । श्रीकान्तले मुखै फोडेर भन्यो, ‘तिम्रै मोजा गन्हाएजस्तो छ । मोजा धुन भ्याएनौ कि क्या हो ।’
श्रीकान्तको यो वचनसँगै उसमाथि ठूलो आकाश खसेजस्तो उसले महसुस ग¥यो । उसले नयाँ मोजा र जुत्ता लगाएर आएको, लगाएर एक घण्टा भएको छैन । तर पनि श्रीकान्तले किन उसैको मोजा गन्हाएको ठोकुवा ग¥यो । उसको मोजा गन्हाएकै थिएन, तथापि उसैमाथि श्रीकान्त किन पोखियो !
उसले यसो वरपरका साथीहरू हे¥यो, सबै हैसियतवालहरूका सन्तान थिए । ऊ एक्लै थियो, पैसाले तानेर त्यो उचाइसम्म ल्याइपु¥याएको ।
उसलाई अचानक चक्कर लागेको अनुभव भयो । अचानक परेको ठूलो वर्षाजस्तै आकाश नै उल्टिएर आएजस्तै विगतका धेरै घटना मानसपटलमा ओइरिएर आयो । तीमध्ये पनि सबभन्दा पहिलो सम्झना त आफ्नो बहिनी बे्रन ट्युमरले थलिएको बेला जम्मा १५ हजार रुपैयाँ टोल छिमेकबाट उठाएर अस्पतालमा एक किलो स्याउ लिएर कृष्ण आएको याद आयो ।
कृष्णले भन्यो, ‘तिमी कति पनि नआतिनु हामी भएसम्म । हामी सबैले माना कटाएर पनि तिमीलाई साथ दिनेछौं ।’
उसलाई सा¥है सकस भयो । उकुसमुकुस भयो । अनि भन्यो, ‘मेरै मोजा गन्हाएको रहेछ । म जान्छु ।’
उसको कुरा सुनेर श्रीकान्त वाल्ल प¥यो । अरु सबै हेराहेर गर्न थाले ।
त्यो रात पनि ऊ रातभर सुत्न सकेन ।
Leave a Reply