भर्खरै :

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

–नारायण ढुङ्गाना
काठमाडौं, ५ कार्तिक । दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर सुरु भएको अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी हुनुहुन्छ ।
अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी हुनुहुन्छ ।
यो फिल्डको काम कम छ, बढी डाटामा खेलेर अध्ययन गर्ने हो, बाघका आहारा प्रजाति के के हो, बाघ कहाँ पाइन्छन् भन्ने सबै थाहा छ, त्यही तथ्याङ्कको आधारमा विज्ञले विश्लेषण गरिरहनुभएको छ । पौडेलले भन्नुभयो, “उहाँहरूको प्रतिवेदनपछि उपमहानिर्देशक भट्टराई नेतृत्वको प्राविधिक समितिले छलफल गरेर एउटा निचोड निकाल्छ ।”
अघिल्लो महिना सार्वजनिक भएको प्रतिवेदनानुसार चितवन निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेको पाइएको थियो । “पहिलो चरणमा बाघको अध्ययन थालिएकोले गैंडाको पछि अध्ययन हुने पौडेलको भनाइ छ । यो आर्थिक वर्षमा अध्ययन सक्ने योजना छ ।”
राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किमिमा फैलिएको छ । सन् २०१३ (विसं २०७० तिर) अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थिए ।
यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२(विसं २०७९तिर) सम्ममा बाघको सङ्ख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेकोले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । निकुञ्ज बाघ, गैंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो ।
इकोलोजिष्ट पौडेलले बहन गर्नसक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने उल्लेख गर्नुभयो । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंडाको सङ्ख्या बहन गर्नसक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउनुहुन्छ । अध्ययनको क्रममा बाघ, गैंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल अध्ययन गरेपछि वास्तविक अवस्था पत्ता लाग्ने बताउनुपर्छ । उहाँका अनुसार नेपालमै पहिलो अध्ययन भएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चितवनका संरक्षणकर्मीले भने वासस्थान नाश हुँदै गएकोले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङ मुख्य गरी बासस्थान संरक्षणमा योजना बन्न नसकेको जिकिर गर्नुहुन्छ ।
बाघ परिस्थितिकीय प्रणालीको उच्च स्थानमा रहने जनावर हो । लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जङ्गलमा बस्छ । चुरे क्षेत्रमा आराम गर्न पुग्छ । आहारा प्रजाति र पानीको स्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ । बाघ दिउँसो आराम गर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो । बाघको बासस्थानका लागि चुरे, नदी तटीय क्षेत्र र सालको जङ्गल चाहिन्छ । घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तु हुने भएकाले शिकार खेल्न जान्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *