भर्खरै :

‘छेउ लागेर’ ले चिनाएका हृदयचन्द्रसिंह

सीतु
नेपाली साहित्यको उन्नयनमा हृदयचन्द्रसिंह प्रधानको उल्लेखनीय योगदान रहेको जगजाहेर छ । ‘एक चिहान’, ‘स्वास्नीमान्छे’ उपन्यासले उनको औपन्यासिक कौशल देखाउँछ । ‘भानुभक्तः एक समीक्षा’, ‘केही नेपाली कविता र उसका प्रतिनिधि कवि’, ‘केही नेपाली नाटक’ ले उनको समालोचक व्यक्तित्व उजागर गर्छ । ‘गंगालालको चिता’, ‘उनी देवता हुन्’, ‘छेउ लागेर’ जस्ता कृतिले प्रधानको नाटकसम्बन्धी फराकिलो ज्ञान तथा गहिरो खुबीसित परिचित गराउँछ । ‘जँुगा’, ‘अफसोस’ ले स्रष्टा प्रधानको सुन्दर तथा सरल लेखनशैलीसँग साक्षात्कार गराउँछ ।
साहित्यकार हृदयचन्द्रले नाटकसम्बन्धी आप्mनो गम्भीर विचार ‘छेउ लागेर’ को भूमिकामा अभिव्यक्त गरेका छन् । पुस्तकको भूमिका खण्डमा एकाण््कीको परिभाषा, वस्तु, तन्त्र, पात्र, भाषा, सन्देश, रङ्गमञ्च, संगीत आदिबारे विस्तृत छलफल गरिएको छ । नाटकबारे आफ्नो अभिमत उनी यसरी राख्छन् – ‘‘नाटकले शिथिल वार्ता, गन्थन कुरा र साधारण घटनाबाट एकदमै बच्नुपर्छ । प्रभावशालीता, भावात्मकता र चुट्किलोपनाले परिपूर्ण हुनु नै नाटकको सजीवता हो । भनाइमा वेग छैन, सिर्जनामा सौन्दर्य छैन र भावमा मार्मिकता छैन भने त्यस नाटकमा ज्यान हुँदैन ।’’ साहित्यकार प्रधान नाटकमा निबन्धको जस्तो विचार परिपक्वता, कहानीको जस्तो कथा कौतुहल, कविताको जस्तो र्मािर्मक, साङ्केतिक र सुन्दर भावचित्रण, समालोचनाको जस्तो तितोमिठो उक्ति, निष्पक्षता र निर्भिकता हुनुुपर्ने धारणा राख्छन् । नाटकको प्रभाव र प्रकृतिबारे उनी सरल भाषामा आफ्नो भनाइ प्रस्ट शब्दमा यसरी राख्छन् –‘‘एकाण््कीको कथावस्तु सुरुदेखि नै प्रभावपूर्ण ढङ्गमा एकाएक हुरी उठे जस्तै उठेको हुनुपर्छ । हुरी उठेर साम्य हुँदा जस्तो मानिसहरूको मनोजगतमा एकचोटी चिमोटिएको हुन्छ, त्यस्तै एकाण््की नाटक पनि उसको अन्तपछि मानव हृदयमा छोएर, कुत्कुत्याएर, चिमोटेर सनसनी फैलाउने हुनुपर्छ ।’’ साहित्यकार प्रधान सजीव भएर रङ्गमञ्चमा उतार्न सकिने सरस घटना वा भावचित्रको नाम नै नाटक हुने तर्क गर्छन् । उनी यसरी प्रस्टयाउँछन् –‘‘प्रत्येक वाक्य र शब्दमा सजीवता भएर भावोद्गार छन् र दृश्यात्मक भएर कलात्मक सत्यता पनि छन् भने उपर्युक्त सबै कुरा नाटक हुन सक्छन् ।’’ ‘कीर्तिपुरको युद्धमा’, ‘गंगालालको चिता’, ‘मरुभूमिका लेखक’ जस्ता उनका नाटक नेपाली नाटक क्षेत्रका अनुपम नमूना (मास्टरपिस) मान्न सकिन्छ ।
हृदयचन्द्रको ‘छेउ लागेर’ सरल तथा सङ्क्षिप्त प्रकृतिका बा¥ह वटा नाटकहरूको सङ्ग्रह हो । सम्पूर्ण नाटक वि.सं. २००२ देखि २००६ सालभित्र लेखिएका हुन् । यी नाटकले तत्कालीन सामाजिक परिवेश, जीवनशैली, सांस्कृतिक स्तर, चिन्तनको क्षेत्र तथा शैली प्रस्तुत गर्दछ । हरेक नाटकले सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । नारी पात्रको सशक्त भूमिका र विद्रोही चेतले ओतप्रोत हुनु उनको नाटकको विशेषता हो । साधारण पात्र, सरल कथानक तथा सन्देशमूलक अन्त्य नाटकको अर्को सुन्दर पक्ष हो । हरेक नाटकले तत्कालीन भाषाशैली, पारिवारिक वातावरण, शोषणका तवर–तरिका, लैङ्गिक तथा सामाजिक भेदभावको सजीव चित्र उदाङ्गो पारेको छ ।
‘छेउ लागेर’ यस सङ्ग्रहको शीर्ष नाटक हो । अन्य नाटकमा झैं यसमा पनि कममात्र पात्रको प्रयोग भएको छ । यसलाई नाटककार प्रधानको नाट्य विशेषता मान्न सकिन्छ । यस नाटकमा सामान्य विषयवस्तु लिइएको छ । प्रहरी काठमाडौंको सडकमा बटुवाहरूलाई छेउ लागेर हिंड्ने काइदा सिकाइ रहन्छ । त्यही क्रममा आइपरेका झै–झमेला, असमझदारी तथा नियम उल्लङ्घन र भ्रष्ट आचरणका घटनाले आधुनिक सहरी जीवनको उषाकालीन अवस्थाको चित्रसमेत प्रस्तुत गर्दछ । हास्यव्यङ्ग्यको प्रयोगले नाटक थप रोमाञ्चकारी बनेको अनुभूत हुन्छ । नाटकले गम्भीर विषयवस्तु नसमेटे पनि नागरिक भावनाको विकासबारे सन्देश दिएको र प्रहरी प्रशासनका कमी–कमजोरीबारे सङ्केत गरेको छ ।
‘‘नित्यबहादुर’ नाटकले सहरिया मध्यम वर्गीय परिवारको दयनीय स्थितिको एउटा तस्वीर प्रस्तुत गर्दछ । नित्यबहादुरलाई दरबारबाट बोलावट आउँछ । जान लाग्दा लाउनको निम्ति झुत्रो जुत्ताबाहेक फेला पर्दैन । नित्यबहादुर निकै अप्ठेरोमा पर्छ । छोरोले भर्खरै किनेर ल्याएको जुत्ता दिन आनाकानी गर्छ । जुत्ता लाउने प्रसङ्ग सँगसँगै पारिवारिक बेमेल र मनस्थिति मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ । ‘‘हिजोआज गरिबीमाथि मायालु भाव कसैको हुँदैन … ।’’, ‘‘… गरिबले इज्जतको आशा राख्नु ठीक पनि छैन ।’’ जस्ता अभिव्यक्तिले नाटकलाई गम्भीर मोडतर्फ लान्छ र कारुणिक चित्रले सबैलाई सोच्न बाध्य पार्छ ।
‘बिरामी’ नाटकले औषधोपचारसमेत गर्न नपाएर ज्यान गुमाउनुपर्ने आक्रोश प्रस्तुत गर्दछ । यसले समाजको डरलाग्दो स्थिति र त्यो परिस्थितिले जन्माएको विद्रोही भावना तथा बदलाको सोच पेश गरेको छ । नाटकका बिरामी यसरी असह्य पीडाका साथ आक्रोश पोख्छन्– ‘‘मैले बाँच्न पाउँदिनँ भने खोई खुकुरी दिनोस्, म संसारलाई पनि बाँच्न दिन्नँ, – सबैलाई काटेर टुक्राटुक्रा पारिदिन्छु । मलाई औषधी गरि नदिने डाक्टर, वैद्यहरूलाई पनि काट्छु, ओखती उधारो नदिने पसलेहरूलाई पनि काट्छु !’’
पुरानो समाज भत्काएर नयाँ समाजको जग बसाल्न आवश्यक भएको भावना ‘बिरामी’ यसरी पोख्छन्– ‘‘… यो संसार सिद्धिएपछि, अनि चाँडै अर्को नयाँ संसार बन्लान् । त्यो संसारमा सबैले बाँचिरहन पाउलान्. सबैले प्रेम गरिरहन पाउलान्. सबैले हाँसिरहन पाउलान् ।’ एउटा गरिब बिरामी युवकले ओकलेका आगोजस्ता शब्दले समाजमा व्याप्त असमानता र त्यसले हुर्काइराखेको विद्रोह चेतको तस्वीर अगाडि राख्छ ।
‘श्रीमैयाँको इयर्लिङ’ ले एउटा खान्दानी परिवार तर समयक्रमसँगै गरिबीको सिकार भइसकेको परिवारको सामाजिक प्रतिष्ठा सण््कटमा पर्दाको दुःख–पीडा प्रस्तुत गरेको छ । दसैं मनाउनसमेत धौ–धौ परेको परिस्थितिको दयालाग्दो चित्रणले जो–कसैको मन द्रवित तुल्याउँछ । केही गर्दा नि कतैबाट ऋणसमेत पाउन नसकेपछि अन्तिममा छोरी श्रीमैयाँको इयर्लिङ बन्धक राखेर भए पनि इज्जत थाम्ने निर्णय भइरहँदाको स्थितिले कसको मन नदुख्ला ? गहभरि आँसु गरी इयर्लिङ फुकालेर आमाको हातमा सुम्पिँदै श्रीमैयाँ भन्छिन् – ‘‘शिरबन्दी, पाउजूहरू पनि सबै यसै गरी लिइबक्स्यो, अब यो इयर्लिङ एक जोर पनि नभएपछि बुच्चो कानले टिका जाने ?’ ‘यसपाली टिका पनि जान्न म !’’
‘विमलाकुमारी’ नाटकमा शिक्षाविरोधी जमिनदारको सामन्ती चिन्तनशैली र त्यसविरुद्ध शिक्षा ग्रहणको निम्ति विमलाकुमारीले गरेको सङ्घर्ष देखाइएको छ । स्वास्नीमान्छेले कठपुतली बन्न स्वीकार नगर्ने उद्घोष गर्दै विमलाकुमारी चर्को स्वरमा भन्छिन् – ‘‘…मीठो–मीठो खान, राम्रो–राम्रो लाउन र गहनाको निमित्त मर्ने आइमाई पनि तपाईं यथेष्ट पाउनुहोला । तर विमलाबाट यस्तो रछ्याने आशा नगर्नुहोला, पतिब्रता–धर्म यही हो भने विमला नर्क जान पनि तयार छे ।’’
‘म जान्न’ नाटकले पनि सशक्त नारी आवाज प्रतिध्वनित गर्दछ । नारीलाई कसैको दास ठान्नु गलत भन्दै पुन्माइचा आक्रोश पोख्छिन् – ‘‘के आइमाईलाई जङ्गलबाट समाएर ल्याएको जन्तु सम्झेको ?’’ विधवा बनिसकेकी तर दोस्रो विवाहको तरखरमा रहेकी पुन्माइचा चण्डीरुप धारण गर्दै कानमा लाइराखेका टुकीहरू झिक्दै फ्यालेर चिच्याउँछिन् – ‘‘लौ मलाई स्वास्नी बनाएँ भन्ने तेरो सेखी यसैमा न हो र दुइटा छुसी टुकी दिएर अर्कामाथि त्यसै हुकुम चलाउन खोज्ने होइन ? के स्वास्नी मानिस सित्तै आएका हुन् र कसैको पुतली बनेर हिँड्छन् ?’’
‘त्रिपासाका दुई खेलाडी’ ले समाजमा व्याप्त भेदभाव, बेथिति र विकृतिबारे बताउँछ । जुवा–तास खेल्ने बानीले कयौं परिवारको बिजोग भइरहेको यथार्थ चित्रण यस नाटकमा छ ।
‘सतीशको रहर’ यस संग्रहको अलि पृथक शैलीमा लेखिएको नाटक हो । यस नाटकले अलि बढी आश्चर्य, उत्सुकता तथा कौतुहलता जगाउँछ तर घटनाक्रमको आश्चर्यजनक ढङ्गमा विकास हुन्छ र फरक मोडमा पुग्छ । विपुलालाई उनको श्रीमान् बितिसकेको बताइन्छ र पुनः विवाहको प्रस्ताव उनको आमाले राख्छिन् । तर उनी मान्दिनन् । अकस्मात् श्रीमान् एक फरक युवकको भेषमा आइपुग्छन् । तर विपुलाले त्यसको कुनै पत्तो पाउदिनन् । त्यस युवकले विवाहको प्रस्ताव राख्छन् । जवर्जस्ती गर्न खोजेपछि विपुलाले विष खाएर मरेको अभिनय गर्छिन् । त्यसपछि त्यो युवकले आफ्नो वास्तविक पहिचान खुलाउँछ । विपुलाले पनि विष खाइसकेकी हुदिनन् तर आप्mनै श्रीमान्ले त्यस्तो अनावश्यक शण््का गरी परीक्षा लिएकोमा चर्को आक्रोश पोख्छिन् । यस नाटकमा विधवा विवाहको पक्षमा आवाज उठाइएको आभाष हुन्छ ।
‘तीन उरन्ठेउला’ हास्यप्रधान नाटक हो । हजामको पसलमा कपाल कटाउने क्रममा घटेको सामान्य घटनालाई हास्य रस दिंदै नाटक अगाडि बढाइएको छ ।
‘त्यो जान सकेन’ नाटकमा एक नोकरले आफ्नो इज्जतप्रति देखाएको चासो अभिव्यक्त गरिएको छ । नोकर ‘सेते’ ले हेपाइ सहन अस्वीकार गर्दै भन्छन् – ‘‘सुब्बा बाजे, मलाई बिदा दिनोस्, खान नपा’र मर्न परे तापनि म हजुरको नोकरी गर्न चाहन्नँ र’’ अर्को प्रसङ्गमा उनी भन्छन् –‘‘… नोकरै भए पनि मेरो पनि त इज्जत छ ।’’ यसरी हृदयचन्द्रका नाटकमा साधारण पात्रहरूले आफ्नो स्वाभिमान जोगाउन गरेको कठिन सङ्घर्ष, नारीले आफ्नो अस्मीता जोगाउन चालेका शक्तिशाली पाइला, शासकप्रति पोखिएको आक्रोश आदि बोधगम्य तवरमा प्रस्तुत गरिएको छ ।
‘डाक्टर’ नाटकले एक कठोर, गरिवविरोधी तथा द्रव्यभूत डाक्टरको कथा बताउँछ । अग्रिम पैसा नतिरी विरामी हेर्न नजाने डाक्टरको कठोर निर्णयको कारण विरामीको मृत्यु हुन पुग्छ । त्यसपछि डाक्टर बोलाउन आएको शङ्करलाल श्रीमतीको मृत्युको खबरले आक्रामक हुन पुग्छन् । उनमा आक्रोशको ज्वाला दन्किन्छ – ‘‘… धनका भूत, धनको निमित्त बाँचिरहने तँ द्रव्यपिशाच डाक्टरलाई नमारीकन म जान्नँ ।’’ यस सङ्ग्रहको अन्तिम नाटक ‘पहिलो पोइको श्राद्ध’ मा महिला अधिकारको वकालत गर्दै महिलासँग अन्तर्निहित शक्ति र सच्चाइ चिन्न आवश्यक हुने विचार व्यक्त गरिएको छ ।
नारीपात्रहरूको सशक्त आवाज तथा अधिकार चेत, दीनहिनहरूको विद्रोही स्वरले तत्कालीन नेपाली समाजले बोकेको परिवर्तनको सपनाको सङ्केत गर्दछ । सामन्ती व्यवस्थाविरुद्धको बिमति तथा चरम् असन्तुष्टि हरेक नाटकमा भेटिन्छ र परिवर्तनको आह्वान गरिएको सुनिन्छ । नाटककार प्रधान तत्कालीन आडम्बरी समाजको चिरफार गर्न सफल देखिन्छन् । आजभन्दा सात दशक अगाडि लेखिएका यी नाटकको सान्दर्भिकतामा आज पनि कुनै कमी आएको देखिंदैन । नेपाली साहित्यमा नाटक विधाको विकासको नालीबेली बुझ्न पनि अध्ययन गर्नैपर्ने पुस्तक हो – ‘छेउ लागेर’ । ‘छेउ लागेर’ मार्फत साहित्यकार प्रधानले नेपाली नाट्य–फाँट फराकिलो पारेका छन् । छोटो जीवन बाँचेर साहित्यका विविध क्षेत्रमा कलम चलाई अतुलनीय योगदान पु¥याउने स्रष्टा हृदयचन्द्रसिंह प्रधानलाई साहित्यिक क्षेत्रले सदा सम्झिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *