भर्खरै :

आकाशमा तारा धेरै हुन्छन्, जून एउटै हुन्छ

प्रेमसिंह बस्न्यात
नेपालभाषा साहित्य बृहत् सम्मेलनमा म आउन थालेको तीन वर्ष हुन थाल्यो । मलाई पत्याएर, माया गरेर यहाँ बोलाउनुभएकोमा म हार्दिक नमन गर्छु । म नेवारी भाषा त राम्रो बुझ्दिनँ । तर मैले यहाँ प्रस्तुत भएका साहित्य बुझ्ने कोसिस गरिरहेको छु । मलाई लाग्छ, तपार्इंहरूले युवा र उमेर भएका मानिसहरूलाई रगत तात्ने सन्देश दिनुभएको छ । यस्ता कुरा नेपालबाट मरिसकेका छन् । नालापानी, विस्तारवादका कुरा गर्ने, मेरो नेपाल भन्ने नेपालीहरू अब सकिनै सके । नासिन लागिसके । तर मलाई लाग्छ, भक्तपुरवासीहरू अनुशासित फौज हुुनुहुन्छ । वर्षौ वर्ष तालिम गरेका फौजजस्तै तपार्इं अनुशासित रुपमा एक शब्द ननिकाली यो समारोहमा बस्नुभएको छ । तपाईहरूलाई नमन छ । तपाईंले चिनेका नेताहरूले यो देशको प्रतिनिधित्व गर्नुभएको छ । उहाँहरूप्रति मेरो नमन छ । यो मैले कसैको चाकडी गरेको होइन । मेरो आत्माले भनेको कुरा हो ।
यो कार्यक्रममा प्रस्तुत कवितामा राष्ट्रभक्ति, देशभक्ति भावना पाउँछु । नेपाल त्यहाँ भेटाउँछु ।
आकाशभरि लाखौं तारा छन् । तर जून त एउटै हुन्छ । त्यही जूनले प्रकाश दिने गरेको हुन्छ । शासन–प्रशासनको लागि भक्तपुर एउटा नमुना बनेको छ । यहाँका नेताहरू नमुना बनेका छन् । मेरो नारायणमान बिजुक्छेंसँग अनुरोध छ–अरू धेरै नारायणमान बिजुक्छें जन्माइदिनुस् । तपाईंको खाँचो भक्तपुरमा मात्र होइन, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म खाँचो परेको छ । यहाँ कविता भन्नेहरूलाई पाटन, काठमाडांैका डबलीमा पनि कविता वाचन गर्ने वातावरण बनाउन जरुरी छ । राजधानीका नेवार समुदायभित्र पनि धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पसिसके । अब यहाँका नेवार समुदायलाई नेवार भाषा बोल्न लाज हुने अवस्था आइसकेको छ । हाकुपटासी लगाउन लाज हुने अवस्था भएको छ । भक्तपुर नेवारी रीतिथितिको सुरूवात भएको ठाउँ हो । जयस्थिति मल्लको पालादेखिकै केन्द्र हो भक्तपुर । भक्तपुर तराई, पहाड र हिमालको सङ्गमथलो थियो । सिम्रौनगढसँग यहाँको इतिहास जोडिएको छ । आज भक्तपुरवासीले भक्तपुरको इतिहास पढ्नुपर्ने भएको छ । तपार्इंहरूले मलाई टोपी लगाइदिनुभयो । यो टोपी, हाकुपटासीमा नेपाल बसेको छ । तर आज नेपालमा टोपी लगाउने मानिस हराउने अवस्था आइरहेको छ । भक्तपुरमा तपाईंहरूले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई पस्ने दिनुभएको छैन । यहाँको नेतृत्वको कारण यो सम्भव भएको हो । भविष्यमा पनि यस्तै नेतृत्वको म कामना गर्दछु ।
अर्को वर्षदेखि म नेपालभाषामा कविता बोकेर यो साहित्य सम्मेलनमा सहभागी बन्न आउनेछु । फेरि फेरि पनि यस्ता सम्मेलनमा सहभागी बनी तपार्इंहरूको अनुशासनबाट सिक्न पाऊँ । म एक जना अवकाश प्राप्त जर्णेल हुँ । तर मैले तपाईंहरूबाट अनुशासनका धेरै कुरा सिक्न बाँकी छन् ।
(पूर्वजर्नेल एवं नेपाली सेना प्रेमसिंह बस्न्यातले ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन राख्नुभएको मन्तव्यको सार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *