भर्खरै :

पुराना बस्ती नाश गर्दा पछि पछुतो हुने

विकासको अर्थ पुराना सबै कुराको नाश गर्नु होइन । तर विकासका नाममा काठमाडौं उपत्यकामा विगत केही वर्षदेखि भइरहेका क्रियाकलाप हेर्दा विकास भनेकै इतिहास र संस्कृति बोकेका पुराना बस्ती, मठमन्दिर, पाटी–पौवा, ढुङ्गेधारा सबैको विनाश हो कि भनी ठान्न बाध्य पारेको छ ।
हो, समयअनुसार केही फराकिलो बाटो बनाउनुपर्छ, नयाँ बस्ती बसाउन नगर विकास योजना बनाउनुपर्छ । तर त्यस्ता संरचना र बस्ती पुराना ऐतिहासिक सम्पदा र बस्तीभन्दा छुट्टै अर्थात् पुराना बस्ती सुरक्षित राखेर बनाउनु विकास हुन्छ । विश्वका विकसित देशहरूको प्रचलन पनि त्यही छ । तर हामीकहाँ केही विकासप्रेमी भनाउँदा र स्वयम् सरकारी निकायहरू नभत्काई निर्माण हुन्न भन्दै विनाशतिर लम्केका छन् । पुराना ऐतिहासिक बस्तीहरू सभ्यताका प्रमाण हुन्, एक भाग हुन् । त्यस्ता बस्तीमा भएका ऐतिहासिक भवन, पाटी, ढुङ्गेधारा, इनार, बाटो आदिले इतिहास र संस्कृति बोकेका हुन्छन् । त्यहाँ शिलापत्र वा ताम्रपत्र आदि पनि हुन्छन् । विकासको नाममा त्यस्ता बस्ती र सम्पदा मासिंदा इतिहास नै मासिन जाने हुन्छ । त्यसैले द्रुतमार्ग निर्माण गर्ने नाममा खोकनाको पुरानो बस्ती बलजफ्ती उठाउने सरकारी निर्णय सही होइन । खोकनावासीको आन्दोलन जायज छ । बरू नगरको दायाँ बायाँबाट त्यस्तो संरचना लाँदा स्थानीयलाई आपत्ति हुनेछैन । मुआब्जा भनेको कुरा सहमति वा कानुनबमोजिम निर्धारण गर्न सकिन्छ । तर, पुराना बस्ती नाश गर्दा पछि पछुताउनुपर्ने दिन आउने छ । पछि पछुताउनुभन्दा अहिले नै विवेक र विचार पु¥याउनु बुद्धिमानी हुन्छ ।
– सुविज्ञा थापा, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *