भर्खरै :

तःमुंज्याको दबली अगाडिबाट

सुन्दर वासी
नेपालभाषा साहित्य तःमुंज्याको ३८ औं साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम कार्तिक ४ र ५ गते भव्यताका साथ सम्पन्न भयो । साहित्यिक र सांस्कृतिक प्रस्तुतिले मात्र होइन, विभिन्न विषयका विज्ञहरूको ओजपूर्ण प्रवचनले पनि समारोहलाई सार्थक र गरिमामय बनायो ।
ऐतिहासिक कमलविनायक पोखरीको समीपमा, व्यापक जनसहभागिता बीचमा सञ्चालित समारोहमा क्यान्सर रोगबारे डा. सुदीप श्रेष्ठले प्रवचन दिए । क्यान्सर रोगबारे एकैपटक सयौं मानिसलाई प्रशिक्षित बनाउन पाउँदा डा. श्रेष्ठ पुलकित भए । खुला ठाउँमा पनि कक्षा कोठामा जस्तै, आज्ञाकारी विद्यार्थीजस्ता स्रोताहरूले धैर्यतापूर्वक र उत्सुकताका साथ मन्तव्य सुनेको देखेर डा. श्रेष्ठ प्रभावित भए । त्यसैले डा. श्रेष्ठलाई ३८ वर्षदेखि निरन्तर अखण्ड दीप जस्तै प्रज्ज्वलित तःमुंज्याको संस्थापकबारे जान्ने जिज्ञासा जाग्यो ।
तःमुंज्या व्यक्ति विशेषको चाहना र साहित्यकारहरूको रचना वाचन गर्ने सामान्य रुचिले साहित्यिक मण्डलीबाट स्थापना भएको संस्था होइन । सिङ्गो नेपाली समाजलाई सुसंस्कृत बनाउने र देशमा आमूल परिवर्तन ल्याउने उद्देश्यले तःमुंज्या स्थापना भएको हो । जनताले बनाएको मञ्चमा जनताको गीत गाउनुपर्छ र जनताको भाषा बोल्नुपर्छ भन्ने दृढ इच्छाशक्तिले स्थापना गरेको संस्था हो – तःमुंज्या । कामदार जनता पनि मञ्चमा उठ्नसक्छ भन्ने उच्च आत्मविश्वासका साथ स्थापना भएको संस्था हो – तःमुंज्या । नेपालभाषा साहित्य तःमुंज्या प्रस्ट राजनीतिक विचारको आधारमा नेपाल मजदुर किसान पार्टी र पार्टी नेतृत्वको अग्रसरतामा स्थापना भएको संस्था हो । भाषा र साहित्यको नाममा कामदार जनतालाई कज्याउने, होच्याउने, हेप्ने अनि अमूर्त साहित्य लेख्ने र हुनेखाने मानिसहरूको निम्ति मात्र मञ्च सजाइ दिनुपर्ने गलत धारणाको विरोधमा वर्गीय चेतनाबाट सचेत भई वर्गसङ्घर्षको क्रममा स्थापना भएको संस्था हो – तःमुंज्या । नेपालभाषा साहित्य तःमुंज्या नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) निर्वासनबाट नेपाल फर्किनु भएपछि स्थापना भएको संस्था हो भन्ने तथ्य उजागरमात्र हुँदा पनि नयाँ पुस्तालाई उद्वेलित बनाउँछ ।
भाषा र साहित्यको सेवामा तल्लीन किसानहरूलाई साहित्य सम्मेलनको मञ्च बनाउन ज्याला दिनु नपर्ने मजदुरमात्र सम्झने अनि भाषा र साहित्यको विकासमा समर्पित हुन लालायित मजदुर र किसानहरूलाई मञ्चमा उक्लन नदिने शासकीय प्रवृत्ति र दमनकारी सोचले एउटै भाषा र एउटै जातिमा पनि वर्गभेद रहेको उदाङ्गो पा¥यो । भाषावादी र जातिवादीमात्र हुनुले शोषक र शासकहरूको मात्र सेवा हुने प्रस्ट देखायो । एउटै भाषा, एउटै जाति र एउटै क्षेत्रको नाममा हुने एकताले काम गरेर खाने जनताको हित नहुने प्रस्ट देखायो । यसकारणले जनकवि चन्द्रबहादुर उलकको कवितामा जस्तै ‘वर्गीयरुपले मात्र नाता जोडिन्छ’ साथसाथै ‘आफू आफू मात्र नभनौं साथी आफैभित्र पनि शत्रु हुन्छ’ भन्ने वर्गचेत बुझे । वर्गीय चेतनाबाट ओटप्रोत भएर स्थापित तःमुंज्या आफैमा एउटा वर्गसङ्घर्षको दबु बनेको छ । वर्गीय चेतना फैलाउने मञ्च बनेको छ । त्यसैले तःमुंज्याले निरपेक्ष भाषाको पक्ष लिंदैन । तःमुंज्याको नाम नेपालभाषामा भए पनि नेपालभाषाबाहेकका अन्य भाषाका साहित्य पनि वाचन हुन्छ । साहित्य सम्मेलन भने पनि साहित्यबाहेकका विषयमा पनि विशेषज्ञहरूबाट प्रवचन हुन्छ । यसले तःमुंज्याका स्रोताहरू बहुविषयमा एकैपटक लाभान्वित हुन पाएका छन् । तःमुंज्याको यही विशेषताले तःमुंज्याप्रति मोह बढेको छ ।
यो वर्ष विश्व सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सको दुई शताब्दी जन्मोत्सवको वर्ष हो । त्यसैले यसपटक तःमुंज्यालाई कार्ल माक्र्सप्रति समर्पित गरेको देखियो । तःमुंज्याको डबलीबाट माक्र्सप्रति समर्मित कविताहरू वाचन भए । माक्र्सका बारेमा प्रवचन भए । अझै मञ्चको अग्रभागमा राखिएको माक्र्सको प्रतिमाले तःमुंज्यालाई थप शोभायमान बनाएको थियो । त्यसै पनि तःमुंज्याको मञ्च सजावट हरेक वर्ष परिष्कार हुँदै आएको छ । मञ्चको श्रृङ्गार झन् झकिझकाउ बनाउन हरेक वर्ष स्थानीय आयोजकहरूको, कलाकारहरूको अघोषित प्रतिस्पर्धा नै हुने गर्छ । यसपटक परम्परागत शैलीमा सजिएको मञ्च धुरीमुनि केन्द्रमा राखिएको माक्र्सको तस्बिरलगायत माक्र्सको प्रतिमाले दबलीलाई जगमगाएको थियो । दर्शकहरूलाई मोहित पारेको थियो । कार्यक्रमस्थलको सेरोफेरोमा राखिएका माक्र्सका सारगर्भित भनाइ भएका व्यानरहरूले सामान्य दर्शकहरूसँगसँगै अतिथिहरूको मनलाई पनि आकर्षित पारेका थिए ।
तःमुंज्यामा सधैंभरि ऊर्जाको स्रोत बन्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले छोटो मन्तव्यमा माक्र्सभन्दा अगाडिका वेट्लिङ्गलगायत कम्युनिष्टहरूसँग तुलना गर्दै माक्र्सवादका सारभूत विषयमाथि प्रकाश पार्नुभयो । नेपालमा कम्युनिष्ट पार्टीको नाममा चोर, डाँका, शोषक, ठेकेदार, राजा, नाफाखोर र कालोबजारीसँग मिलेमत्तो गरी शासन सत्तामा गइरहेका छन् । त्यो कम्युनिष्ट चरित्र होइन । त्यसरी कामदार वर्ग विरोधी वर्गसँग मिल्ने कुरामा माक्र्स सहमत नभएको ऐतिहासिक तथ्यबारे चर्चा गर्दै अध्यक्ष रोहितले माक्र्सले आफ्नो समयमा गर्नुभएको अनुभवबाट सिकेर नेपालमा पनि आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष रोहितले प्रस्ट शब्दमा बोल्नुभयो, “बहुमत जनतालाई सङ्गठित र सचेत गरी सङ्घर्ष नगरी समाजमा परिवर्तन हुनसक्दैन ।”
देशमा कम्युनिष्ट नाम गरेको पार्टीको सरकार छ । दुईतिहाइ बहुमत प्राप्त सरकार छ । तर सरकारसँग कम्युनिष्ट सिद्धान्तअनुसार श्रमजीवी जनताको हुकुम चलाउने इच्छाशक्ति छैन । वास्तवमा अहिलेको सरकारसँग सामान्य सरकारको जति पनि साहस छैन । सरकार अकर्मण्य छ । एक जना किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाएर सजाय गर्ने आँट छैन । तःमुंज्याको दबलीमा उभिएर अध्यक्ष रोहितले यही विषयमा स्पष्ट पार्नुभयो । घटनाको अनुसन्धान गर्न रोक्ने, प्रमाण नष्ट गर्ने, प्रहरी अधिकारीहरूलाई समेत कर्तव्यच्युत गराउने र आफै कर्तव्यबाट च्युत भएको एसपी दिल्ली विष्टसँग सरकार नै डराइरहेको छ । अध्यक्ष रोहितले एसपी विष्ट प्रचण्डसँग सम्बन्धित व्यक्ति हो कि, भारतसँग सम्बन्धित मानिस पो हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो । एसपी विष्टलाई पक्राउ गरे प्रचण्डले सरकारको समर्थन फिर्ता लिने, काङ्ग्रेस र मधेसवादी दलहरूसँग मिलेर अविश्वासको प्रस्तावमार्फत सरकार ढाल्ने सम्भावना व्यक्त गर्दै अध्यक्ष रोहितले आफ्नो सरकार ढल्ने डरले ओली बाध्य भएर चुपचाप बसिरहेको तर्क प्रस्तुत गर्नुभयो । नेपाली जनताले चासो दिइरहेको निर्मला पन्तको प्रकरणबारे अध्यक्ष रोहितको अनुमानले बजार ततायो । ‘निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही गरे सरकार ढल्ने’ शीर्षकको समाचार सामाजिक सञ्जालमा ‘भाइरल’ नै भयो । अध्यक्ष रोहितले घटनाको स्वाभाविक प्रक्रियामा अनुसन्धान गर्न नदिने एसपी विष्टले कथित जनयुद्धमा सहयोग गरेको र भारतीय शासकहरूसँग सम्बन्ध हुनसक्ने औंला तेर्साएपछि तिरमिराएको सिकेलालले त सरकारको बचाउ गरेको भनी गलत व्याख्या गरे र अध्यक्ष रोहितको खेदो खन्न मरिहत्ते गरे । तःमुंज्याको दबलीमा अध्यक्ष रोहितबाट व्यक्त अभिव्यक्तिले नेपाली समाजलाई तरङ्गित पा¥यो । सरकारको उदाङ्गो पा¥यो ।
३८ औं यो साहित्य सम्मेलनमा नेपाली लोकगीतको विषयमा विद्यावारिधि गरेका संरा अमेरिकी अध्येता आना स्टीरले थप ध्यान तान्न सफल भए । उनले नेपाली समाजमा लोकभाकामा सन्देश दिंदा अझ प्रभावकारी हुने निष्कर्ष सुनाए । सहज रुपमा नेपाली भाषा बोल्ने संरा अमेरिकी स्टीरले गरेको नेपाली लोकसाहित्यको व्याख्याबाट स्रोता दर्शकहरू एकाग्र भए, मन्त्रमुग्ध भए । यसपटक पनि तःमुंज्याको दबलीमा धेरै विद्वानहरूले आ–आफ्नो विषयमाथि प्रकाश पारे ।
तःमुंज्याको दबलीमा साहित्यकार, कलाकार, भाषा साहित्य तथा संस्कृतिका विज्ञहरूमात्र होइन, समाजका विभिन्न विषयका विज्ञहरू र सरोकारवालाहरूले पनि मन्तव्य दिने गर्छन् । तःमुंज्याका सहभागीहरू स्वास्थ्यलगायत जीवनसँग सम्बन्धित विषयगत प्रवचन सुन्न आतुर हुन्छन्, दत्तचित्त भएर सुन्छन् । अन्य समारोहहरूमा “मन्तव्य सुनेर दिक्क लागेको होला एउटा गीत सुनेर रमाइलो गरौं” भनेर उद्घोषण गर्न बाध्य हुन्छन् । परन्तु तःमुंज्या आफैमा सांस्कृतिक कार्यक्रम भएर पनि सहभागीहरू प्रवचन सुन्न व्यग्र हुन्छन् र धैर्यवान हुन्छन् । यो आफैमा तःमुंज्याको गौरवको विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *