भर्खरै :

कृषि विश्वविद्यालयका विद्यार्थी फूलखेती गर्दै

चितवन, २१ कात्तिक  ः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् ।
स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर हुनुपरेको अवस्थामा कृषि शिक्षा पढ्दै गरेका विद्यार्थीले समूह बनाएर फूलखेती गरेका हुन् । विश्वविद्यालयको कृषि शिक्षण सङ्कायका सहायक डीन कल्याणी मिश्रका अनुसार विद्यार्थीले समूह बनाइ जग्गा भाडामा लिएर जिल्लाका विभिन्न ठाउँमा फूलखेती गरेका छन् । विश्वविद्यालय परिसरमा समेत उनीहरुले फूलखेती गरेका छन् ।
विद्यार्थीले चार÷पाँच वटा समूह बनाएर फूलखेती गरेको मिश्रले बताउनुभयो । कृषि स्नातकको अन्तिम वर्ष पढ्दै गर्नुभएका हेमन्त पौडेलले फूलको माग पु¥याउन नसकेको बताउनुभयो । चार जनाको समूह मिलेर कल्याणपुर र क्याम्पस परिसरमा फूलखेती गरेको उहाँले बताउनुभयो । दुई हजार मालाको माग भए पनि आफूहरुले ७०० माला मात्र पु¥याउन सकेको पौडलको भनाइ थियो । फूलमा अझै पनि कोपिला रहेकाले पछि विवाह, सभा सम्मेलनजस्ता कार्यमा बिक्री गर्नका लागि राखिएका छन् । पौडेलले उत्साहित हुँदै भन्नुभयो, “प्रयोगात्मक कक्षा पनि भयो, आम्दानी पनि भयो ।”
स्नातक तेस्रो वर्षमा अध्ययनरत सुमन पौडेलसहितका आठ जना मिलेर पश्चिम चितवनको चनौलीमा चार कट्ठा १० धुर क्षेत्रफलमा फूल लगाउनुभएको छ । उहाँहरुले तिहारमा मात्र एक हजार ५०० माला बिक्री गर्ने लक्ष्य राखेको बताउनुभयो । स्नातकोत्तर पढ्ने समूहले रु ६० देखि ८० सम्ममा माला बेच्दै आएका छन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत अजय यादवसहितका छ विद्यार्थीले क्यान्सर अस्पताल नजिकै दुई ठाउँमा चारकट्ठामा फूल लगाएका छन् । यादवका अनुसार रु एक लाखको फूल बिक्री गर्ने लक्ष्य राखिएको छ । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान उपयोगी बनेको यादवको अनुभव छ । माग बढी भएपछि आफूहरु उत्साहित भएको विद्यार्थी बताउँछन् ।
विद्यार्थीको उत्साह देखेर आफू प्रभावित भएको भन्दै सहायक डीन मिश्रले आउँदो वर्ष विश्वविद्यालय परिसरमा व्यवस्थित फूल खेती गर्ने योजना बनाएको बताउनुभयो । कतिपय विद्यार्थीलाई आफूले काठमाडौँबाट फूलका बिरुवा मगाएको र अन्यले स्थानीयस्तरमा बिरुवा किनेको मिश्रले जानकारी दिनुभयो । यतिबेला विद्यार्थी फूल टिप्ने, माला उन्ने र बिक्री गर्ने काममा व्यस्त भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *