भर्खरै :

भारत, चीन र ब्रिक्समा बोल्सोनारोको विजयले के प्रभाव पार्ला ?

 अरविन्दो जेभियर्स
गएको २८ अक्टोबरमा सामाजिक उदार पार्टी (द सोसियल लिबरल पार्टी) का अतिदक्षिणपन्थी उम्मेद्वार जायर बोल्सोनारो ब्राजिलको नयाँ राष्ट्रपतिमा निर्वाचित भए । उनले कूल खसेकोमध्ये ५५.१ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो । उनका प्रमुख प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका उम्मेद्वार हर्नान्डो फडाडले ४४.९ प्रतिशत मत प्राप्त गरेका थिए । ६३ वर्षका नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी १ का दिन पद तथा गोपनीयताको सपथ लिनेछन् ।
बोल्सोनारोसँग मनग्य चुनावी प्रचार स्रोत थिएन । उनीसँग प्रमुख राजनीतिक दलको भरपर्दो समर्थन पनि थिएन । तथापि पूर्वसैनिक कप्तान बोल्सोनारोले ५ करोड ७० लाखभन्दा बढी मत प्राप्त गरे । उनले भ्रष्टाचार, अनियन्त्रित अपराध र थिलथिलो अर्थतन्त्रजस्ता ब्राजिलले आज भोगिरहेका समस्याको समाधान गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।
बोल्सोनारोको चुनावी विजय भने ब्राजिलका केही सामाजिक समुदायको लागि खतराको घण्टी सावित बनिरहेको छ । विशेषतः ब्राजिलका अल्पसङ्ख्यक समुदायले बोल्सोनारोको विजयलाई सुखद् रुपमा लिएका छैनन् । चुनावी अभियानका क्रममा नवनिर्वाचित राष्ट्रपतिले धेरै पटक महिलाविरोधी, जातिवादी र समलिङ्गीप्रति पूर्वाग्रही अभिव्यक्ति दिएका थिए । अफ्रो–ब्राजिली दासका सन्ततिहरूलाई उनले ‘अल्छीका पोका’ भनी आलोचना गरेका थिए । ब्राजिलका केही महिला सांसदलाई ‘बलात्कार गर्न पनि अयोग्य’ भन्ने अभिव्यक्ति दिएर उनी विवादमा तानिएका थिए । ‘आफ्नो कोही सन्तान समलिङ्गी भए उसलाई आफूले माया गर्न नसक्ने र त्यो सन्तान बरू कुनै दुर्घटनामा परेर मर्दा आनन्द हुने’ भनी बोल्सोनारोले तेस्रो लिङ्गी समुदायविरुद्ध विभेदकारी अभिव्यक्ति दिएका थिए । उनले पटक–पटक ब्राजिलका आदिवासी जनतालाई आफ्नो प्रहारको निशाना बनाएका थिए ।
राष्ट्रपति निर्वाचनमा जितेलगत्तै भने बोल्सोनारोले आफू ब्राजिलमा शान्तिको पक्षमा रहेको भनी बोली फेरेका थिए । “यो देश सबै जनताको हो, जन्म र मनदेखि ब्राजिली सबै जनताको । भिन्न–भिन्न विचार, रङ्ग र आस्थाका ब्राजिली जनताको देश हो ब्राजिल ।”, उनले भनेका थिए । नयाँ राष्ट्रपतिले आफ्नो सरकार ‘संवैधानिक र प्रजातान्त्रिक’ बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ब्राजिल दक्षिण अमेरिकाको सबभन्दा बढी जनसङ्ख्या भएको देश हो । साथै विश्वकै आठौं ठूलो अर्थतन्त्र पनि हो । त्यसकारण ब्राजिलमा बोल्सोनारो राष्ट्रपति बन्नुको विश्वव्यापी प्रभाव हुनु स्वाभाविक हो । बोल्सोनारो चुनावबाट राष्ट्रपति पदमा निर्वाचित भएको घोषणालगत्तै विदेश मामिला र व्यापारबारे कममात्र अनुभव भएका नवनिर्वाचित राष्ट्रपतिले आफूभन्दा अघिका राष्ट्रप्रमुखहरूले भन्दा नितान्त भिन्न विदेश नीति अँगाल्ने विज्ञहरूले विश्लेषण गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा पनि बोल्सोनारोले यस्तै मनसाय व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय वृत्तमा उनको निर्वाचनले पार्ने अरू धेरै प्रभावसँगै भारत र चीनसँगको सम्बन्धमा पनि यसले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै ब्राजिलसहित रूस, भारत, चीन र दक्षिण अफ्रिकासम्मिलित विश्वको पाँच प्रमुख अर्थतन्त्रको सङ्गठन ब्रिक्सको शक्ति राजनीतिमा पनि यसले प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
भारतमा सम्भावित प्रभाव
सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा भारतको सबभन्दा महत्वपूर्ण व्यापार साझेदार ब्राजिल हो । सन् २०१७ मा दुई देशबीचको कूल व्यापार ७ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको थियो । भारतले ब्राजिलबाट उखु, तामा र भटमासको तेल आयात गर्ने गर्दछ भने ब्राजिलमा भारतले डिजल, जैविक रसायन, औषधिजन्य पदार्थ, आणविक रिएक्टर र मेसिनरी सामान निर्यात गर्ने गरेको छ । भारतले ब्राजिलमा निर्यात गर्ने कूल वस्तुमध्ये डिजल ४०–५० प्रतिशत हुने गरेकोमा सन् २०१७ मा भने निकै घटेको थियो । तथापि दुई देशबीचको व्यापार ३५ प्रतिशतले बढेको थियो ।
भारतमा जस्तै ब्राजिलको अर्थतन्त्रको आधार भनेको कृषि नै हो । त्यही भएर कृषि क्षेत्रका एउटा उत्पादनमा दुई देशबीच प्रतिस्पर्धा पनि छ । सन् २०१८ को लागि ब्राजिल संसारकै सबभन्दा बढी गाईको मासु निर्यात गर्ने देश हुने अपेक्षा गरिएको छ । ब्राजिलपछि भारत, अस्टे«लिया र संरा अमेरिका गाईको मासु निर्यात गर्ने ठूला उत्पादक देशहरू हुन् । कुखुराको मासु निर्यातमा पनि ब्राजिल संसारकै सबभन्दा ठूलो देश हो । बोल्सोनारोको कार्यकालमा भारत र ब्राजिलबीचको व्यापार सम्बन्ध पनि प्रभावित हुने देखिएको छ ।
नवनिर्वाचित राष्ट्रपति बोल्सोनारो कृषिव्यापारका बलिया पक्षधर हुन् । वास्तवमा उनको राजनीतिका आधारहरूमध्ये कृषिव्यापार क्षेत्र पनि एउटा हो । उनी यो क्षेत्रमा नयाँ व्यापारमुखी अवधारणाका पक्षपाती हुन् । उनलाई समर्थन गर्ने अधिकांश समर्थकहरू ‘रुर्लिस्टास’ भनिने समुदायका छन् । किसानी र कृषिव्यापार क्षेत्रका मानिसहरूको समुदायलाई ब्राजिलमा ‘रुर्लिस्टास’ भन्ने गरिन्छ । ब्राजिलको राजनीतिमा यो वर्गका मानिसको बलियो प्रभाव भएको मानिन्छ । बोल्सोनारोले प्रस्ताव गरेजस्तै ब्राजिलका कृषि मन्त्रालय र वातावरण मन्त्रालयलाई एउटै बनाए विभिन्न उत्पादन विशेषतः गाईको मासु र भटमासको आपूर्ति रेखामा ठूलो प्रभाव पार्न सक्दछ । बोल्सोनारोले कृषि क्षेत्रसँग जोडिएका वातावरणीय कानुनमा ठूलो परिवर्तन ल्याउने वचनबद्धता व्यक्त गरेका छन् । वनजङ्गल फडानी, जङ्गल क्षेत्रलाई कृषि क्षेत्रमा परिणत गर्ने बोल्सोनारोका प्रतिबद्धता कार्यान्वयनमा लगिए भारतलगायत संसारकै कृषि व्यापारमा प्रभाव पार्नेछ । त्यसको अर्थ कृषि व्यापार क्षेत्रमा भारत र ब्राजिलको द्विपक्षीय लगानी प्रवद्र्धन गर्ने अवसर भविष्यमा दुरुह हुन सक्दछ । कृषिव्यापार क्षेत्रलाई अन्य क्षेत्रले पुनःसन्तुलनमा ल्याउन त्यत्ति सजिलो भने हुने छैन ।
तर मुम्बईका लागि ब्राजिलका पूर्व महावाणिज्य दूतावास फाउस्टो गोडो दुई देशका नेताले राम्रै नतिजाको लागि काम गर्ने अपेक्षा गर्छन् । बोल्सोनारो र नरेन्द्र मोदीका मुद्दा र विचारबीच समानता खोज्ने प्रयास गरिनुपर्ने तर अहिलेसम्म त्यस्तो कुनै विशेष समान मुद्दा र विचार भेटिनसकेको फाउस्टोको भनाइ छ । दुवै नेता निजी क्षेत्रको विकास, सार्वजनिक वा सरकारी क्षेत्रमा कर्मचारीतन्त्रको अन्त्य तथा भ्रष्टाचारको विरोधमा रहेको उनको भनाइ छ । मोदी र बोल्सोनारोको विचार र कार्यशैलीबीच धेरै समानता भएको दाबी गर्दै फाउस्टोले दुई जनाबीच सम्पर्क कायम गर्न सके राम्रो परिणाम आउन सक्ने उनको धारणा छ ।
ब्रिक्समा के होला ?
बोल्सोनारोले कस्तो विदेश नीति अङ्गीकार गर्लान् भन्ने विषयमा उनले अक्टोबर २० मा आयोजित पत्रकार भेटघाटमा व्यक्त मन्तव्यबाट पूर्वसङ्गेत पाउन सक्छौं । उक्त कार्यक्रममा बोल्सोनारोले आफूलाई संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका थिए । “संरा अमेरिकालाई महान बनाउन जसरी डोनाल्ड ट्रम्पले भूमिका खेलिरहेका छन्, त्यसरी नै ब्राजिललाई महान बनाउनु मेरो लक्ष्य हो ।”, उनले पत्रकारहरूसँग भनेका थिए । उनलाई संयुक्त राष्ट्र सङ्घमा ट्रम्पले बोलेको एउटा वाक्यले पनि ज्यादै प्रभावित बनाएको देखिन्छ । “हामी विश्वव्यापीकरणको विचारधारा मान्दैनौं, हामी देशभक्तिको सिद्धान्त अङ्गीकार गर्छौं ।” त्यसकारण अन्तर्राष्ट्रिय मिडियाले ‘दक्षिणी गोलाद्र्धका ट्रम्प’को उपनाम दिएका बोल्सोनारोले आफूभन्दा अघिका राष्ट्रपतिले जस्तै ब्रिक्सको बारेमा चासो नराख्ने विश्लेषकहरूको बुझाइ छ ।
चुनावी अभियानको क्रममा राष्ट्रपति बोल्सोनारोले वर्कर्स पार्टीको कथित ‘वामपन्थी’ मुद्दा त्यागेर उदार नीतिमा जाने घोषणा गरेका थिए । उनले अघिल्ला सबै राजनीतिक मोर्चाबन्दीलाई पुनरावलोकन गर्ने बताएका थिए ।
ब्राजिलको लागि चीन विदेशी लगानीको प्रमुख स्रोत हो । साथै चीन नै ब्राजिलको सबभन्दा ठूलो व्यापार साझेदार पनि हो । तर आफ्नो चुनावी भाषणमा बोल्सोनारोले पटक–पटक ब्राजिलका खानी र ऊर्जा क्षेत्रमा रणनीतिक महत्वका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण जमाएको भन्दै चिनियाँ लगानीकर्तालाई चेतावनी दिएका थिए । “चीनले ब्राजिलमा किनिरहेको छैन, चीनले ब्राजिल किनिरहेको छ ।”, अगस्टको एउटा भाषणमा बोल्सोनारोले भनेका थिए ।
पहिलेका सरकारको भन्दा बोल्सोनारोको विदेश नीतिमा भिन्नता आउने लगभग पक्का भए पनि उनको विदेश नीतिको दिशा कस्तो हुने हो, निश्चय गरिहाल्ने समय भइसकेको छैन । विश्लेषक फाउस्टोका अनुसार ब्रिक्सको सम्बन्धमा नयाँ राष्ट्रपतिले खासै कुनै सङ्गेत गरिसकेका छैनन् । तर उनी दक्षिणी गोलाद्र्धका देशहरूबीच एकताको विपक्षमा देखिन्छन् । ब्रिक्स देशहरूमध्ये बोल्सोनारोले सुरूमा चीनप्रति मात्र नकारात्मक तर निकै सावधान टिप्पणी गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि भने उनले चीनप्रतिका अभिव्यक्तिमा परिवर्तन गर्दै सकारात्मक अभिव्यक्ति बोल्दै आएका छन् । चीन ब्राजिलको सबभन्दा ठूलो व्यापार साझेदार देश भएका कारण त्यसो गर्नुको उनीसँग अर्को विकल्प पनि छैन ।
लेखक अरविन्द जेभियर्स भारतको गोआ समाज लुसाफोनका सभापति हुन् ।
स्रोतः स्क्रोल.आईएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *