भर्खरै :

हजुरबुबाको चिठी

क्रिश्चिना
सौन्दर्य हेर्ने मानिसको आँखामा हुन्छ
– शेक्सपियर
मेरा नाति अमर र नातिना अमृता !
नेपालमा अहिले दसैं, तिहार, न्हूँद र छठको वातावरण छ । घरमा तिमीहरूलाई नपाउँदा मनमा हल्का कमी अनुभव हुँदैछ । सारा जनता आ–आफ्नै परम्पराअनुसार दसैं र तिहारको उत्सव मनाउने वातावरणमा पनि जनताको मुहारमा जस्तो किसिमको खुसी, सुख र सन्तोषको भावना अनुहारमा देखिनुपर्ने हो, देखिन्न । त्यो उत्साह र आह्लादजनक वातावरण देशको राजनैतिक व्यवस्था र राज्यको बन्दोबस्तले पु¥याउँछ । एमाले र एमाओवादी दलको ‘नेकपा’ मा फेरिँदा र मधेसवादी दलहरूले समेत सरकारको समर्थन गर्दा सैद्धान्तिक र राजनैतिक रुपमा एमाले–एमाओवादी भारत र श्रीलङ्गाका पुँजीवादी दलहरूको जस्तो दल बदलको अवसरवादी राजनीति नेपालमा झन्झन् बलियो हुँदै गएको सम्भावना बढ्यो । श्रीलङ्गाको तमिल दल र नेपालका मधेसवादी दलहरूले सरकारको निर्माण र पतनमा महत्वपूर्ण भूमिका खेल्ने र अस्थिरताबाट छिमेकी शक्तिले खेल्ने भविष्य झन्झन् स्पष्ट हुँदैछ । हिजो श्रीलङ्गामा २५ वर्ष तमिल टाइगर र नेपालमा एमाओवादीको खेल दिल्लीबाटै भएको अनि नेपालमा पछि मधेसवादीले क्षेत्रीय नारा दिएकोमा समानता नदेखिएको होइन । बङ्गलादेशको निर्माणमा नेपाली युवाहरूलाई ‘मुक्ति बाहिनी’ को लुगा लगाउन दिई ‘स्काउटको कार्य’ मा पठाउनु र अनि भारती सेना पूर्वी पाकिस्तानमा प्रवेश गर्नु अब कुनै गुप्त नभई लुकाउनै नसकिने सच्चाइ सावित भयो । नेपालको सङ्घ राज्यमा शासक र सबै प्रदेशका मुख्य मन्त्रीहरू, सरकार र सभासद्हरूले गम्भीरतापूर्वक बोल्ने र बुझाउने काम गरेनन् भने नेपालको २ नम्बर प्रदेश अर्को “काश्मिर” हुनेछ ।
प्रिय अमर र अमृता,
समयले सबैलाई ठाउँमा ल्याउनेछ । प्राथमिक कक्षामा छात्र–छात्रालाई अभिभावक र शिक्षकले विश्वविद्यालयमा दाखिल गराउँंदैमा तिनीहरू त्यसको योग्य हुँदैनन् । देशको उत्पादनका साधन र सम्बन्ध समग्रमा अर्थतन्त्र समाज र राजनैतिक स्तर यथोचित नउठेसम्म न प्रजातन्त्र र गणतन्त्र सफल होला, समाजवाद त अझै परको विषय हो । त्यसका शासकहरूले आफ्नो राजनैतिक दलको नाम “कम्युनिष्ट पार्टी” राख्नु जनतालाई विश्वासघात गर्नुबाहेक अरु केही हुनैसक्दैन ।
के यो गाली र विरोध हो ? होइन, यो सच्चाइ हो । केही दिन अगाडि एकजना भाइ आएर मसँग सोधे – बुबा, यो सरकारको केही राम्रा र उदाहरण दिन लायक केही काम बताइदिनु भए अरु साथीहरूसँग छलफल गर्न सजिलो हुन्थ्यो । म निरुत्तर भएँ ।
हाम्रो देश तुलनात्मकरुपले सानो छ, राजधानी पनि सानै छ, पहिले व्यवस्थित र सुन्दर थियो । पञ्चायत व्यवस्थाले गाउँका धेरै जालीफटाहा काठमाडौंका बागमती, विष्णुमती र मनोहराका दायाँ–बायाँ र खाली जग्गा ओगट्दै नक्कली र सक्कली कागज बनाउँदै, घरका सबै ढल खोला र नदीमा खसाल्दै, ऊन र अन्य फोहर फाल्ने मिल र कारखानाका सबै विषालु र फोहर सिधै खोलामा बगायो । उपचार पोखरीको नामै लिइएन । पञ्चहरू अधिकांश स्वार्थी, अन्धविश्वासी, शोषक, गुण्डा, तस्कर, वन म्हासुवा र जनविरोधी एवं मुखले मात्रै देशभक्तिका कुरा गर्ने विदेशीका खुसामती देखिए ।
बहुदल आयो र जनताले गणतन्त्रसम्म ल्याए तर पञ्चायतका दुर्गुणहरूलाई सफा पार्ने नीतिहरू ल्याएनन्, अञ्चल, जिल्ला, गाउँ र नगरहरूलाई सफा, सुग्घर र व्यवस्थित बनाउनुको सट्टा पञ्चभन्दा काङ्ग्रेस र एमाले के कम भन्दै सबै ठूला–ठालू, नेता र कार्यकर्ता सबै राजधानी पुगे, पुनर्वास र बसाइँसराइका सबै पाइने सहुलियत आ–आफ्ना मानिसले पाए, भूमिसुधारको उद्देश्यविपरीत मन्त्रीका पार्टीका सबै कार्यकर्ता भूमिहीन भए र वन फँडानी गर्ने चाँजो मिलाउँदै जग्गा प्राप्ति ऐनअन्तर्गत पाए, लिए, बेचे र पछि पछि शासक दलका हजारौँ हजार राजनैतिक कार्यकर्ताहरू घर–जग्गाका दलाल र व्यापारी बने । आ–आफ्नो अञ्चल, जिल्ला, नगर र गाउँलाई राजधानीमा प्राप्त हुने स्वास्थ्य, शिक्षा, रोजगारी र सहरी व्यवस्थाका सुविधाहरूमार्फत राम्रो, सफल र व्यवस्थित क्षेत्र बनाउने सोच शासकहरूमा कहिले आएन । सबै प्रधानमन्त्री, मन्त्री, नेता र मुख्य–मुख्य कार्यकर्ताहरू सरकारबाट पाइने अनेक प्रकारका रोजगार र सरकारी सहुलियत लिएर काठमाडौंको जनसङ्ख्या २० लाखबाट ८० लाख बनाउँदै गए ।
काठमाडौंलाई राजधानीमात्रै सम्झे, आफ्नो घर बनाइ सकेर पनि मनले आफ्नो सम्झेनन् । काठमाडौं त अर्कै जात र भाषीको हो, यसको सबै बन्दोबस्त ‘ज्यापूहरू’ ले गर्ने हो, हामी त रमाइलो गर्न सहुलियत लिएर आएका मालिक र ‘विजयी’ हौँ भन्ने भावनाले काम गर्न थाले । नेवार, तामाङ, मगर र अन्य जातिले हामी अल्पमतमा छौंँ, हामी शासक होइनौँ भन्ने भावनाले विकासमा अगुवाइ गर्न छोडे – पराजीत मानसिकताले । विजयी शासक जाति र शासक वर्गले ‘हाम्रो काम त यहाँका जनतालाई शासन गर्ने हो भन्ने पुरानै मानसिकतालाई निरन्तरता दिए ।
हो, हिजो बन्दुक र खुकुरीले प्रजा र रैतीलाई तह लगाइन्थ्यो, तर आज कलमले ‘शालीन’, प्रजातन्त्रवादी, गणतन्त्रवादी, सभ्य, सुसंस्कृत, मानव अधिकारवादी, त्यागी, तपस्वी, सङ्घर्ष नायक, वार्ता संयोजक भन्दै फुर्काउँदै प्रतिष्ठा, इमानदारी र देशभक्तिलाई सङ्ख्या र धनले मिति पु¥याइदियो ।
नाति अमर र नातिना अमृता
तिमीहरूले सोच्ने छौ – नेपालमा मात्रै किन यस्तो हुन्छ ? तर संसारका हरेक नयाँ र पुराना सभ्यता, राज्य र देशहरूमा शासक र शासितहरूमा यस्तै लडाइँहरूबाट इतिहास भरिएको छ । ती लडाइँहरू कहिले भौतिक अर्थात् ढुङ्गा, भाला, गँडासो, तलवार, खुकुरी, बन्दुक, बम, टोप र एटमबमको प्रहारबाट भयो । कहिले व्यापार, दूत, उपहार, वार्तालाप, मित, भेटघाट, तारिफ र प्रशंसाको पुलले सरलतालाई रसातलमा पु¥याइदियो । मानिसले बुझ्न थाले – कूटनीति र कुटीलता, सम्पन्नले विपन्नलाई अधीनमा राख्छ, मेहनती नोकर हुने र सम्पन्न अल्छी हुने । अनि सभ्य भनिएका दमनकारीहरूको विरोधमा ‘सभ्य’ शासक र ‘अल्छी’ सहरीहरूमाथि मेहनती र जङ्गली जातिको आक्रमण हुन्छ । यसका उदाहरणहरू अमेरिकाका आदिवासी ‘ताम्र वर्ण’ का जनता, ल्याटिन अमेरिकी ‘हिस्पानियाहरू’ दक्षिण अफ्रिकी जनतामाथि गोराहरूको शासन, अष्ट्रेलिया, न्यूजिल्याण्ड र टसमानियामा समेत त्यहाँका आदिवासीहरू आज पनि पीडित र पद दलित छन् । नेपाली गोरखालीहरू त्यसकै नयाँ मोडलको रुपमा प्रस्तुत छन् । हिजो फलामे सिक्रीले मानिसलाई कज्याउँथे आज सुनकै सिक्रीले । आखिर दास त दासै हो ।
पहिले बेलायतीहरूलाई मात्र सा¥है परम्परावादी, रुढीवादी, पुरानपन्थी, अनुदारवादी आदि भन्थे । तर आज ‘कम्युनिष्ट’ सरकार भनिने एमाले–एमाओवादीको सरकारका राष्ट्रपतिले आफैलाई राष्ट्रपति पदको सपथ गराउने पूर्वन्यायाधीश गोपाल पराजुलीलाई घुँडा टेकाएर दसैंको टीका लगाए । त्यसको तस्वीर देखेर नयाँ र पुराना कम्युनिष्ट नेता र प्रधानमन्त्री मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, प्रचण्ड, बाबुराम भट्टराईहरूप्रति जनताले घृणा र तिरस्कारको भावनाले सम्झे । ६ कार्तिक २०७५ को ‘नागरिक’ दैनिकले शीर्षक दियो – ‘राष्ट्रपतिको राजसी टिका’ ।
त्यसै विषयमा साप्ताहिक ‘नेपाल’ ले एक व्यङ्ग्यचित्र अगाडि पृष्ठमै छाप्यो र भन्यो –‘‘लज्जा शरणम्, परिवर्तनपछि आएको गणतान्त्रिक नेतृत्वमा शाही शासककै धङधङी’’ (साप्ताहिक नेपाल, १८ कार्तिक २०७५)
सत्य यो होइन भने काठमाडौंमा पनि सडक बनाउने र ढल बनाउने नयाँ नयाँ प्रविधि र सामान उपलब्ध छ, विदेशी राष्ट्रपति र प्रधानमन्त्रीको सवारी वा बिम्स्टेकको बैठक हुँदा रातारात काम गर्ने सरकार र सरकारका मेशिनरीहरू (प्रशासन) देश र जनताको सेवामा किन बेवास्ता गर्छन् ? निर्लज्जताको पनि सीमा हुन्छ ! राजधानीको ढल र सडकमा छात्र–छात्राहरू बगाइए, साइकल, मोटरसाइकल डुबे । तर त्यस्तो नयाँ काण्ड दोहोरियो ‘महानगरका धराप सडक’ मा । शनिबार कीर्तिपुर नगरपालिका – १० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुला मङ्गालमा परी डल्लुका ३८ वर्षे श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । (अन्नपूर्ण – ११ कार्तिक २०७५)
११ कार्तिकको नागरिक दैनिकले लेख्यो – ‘‘एम्बुस सडक, २४ घण्टामा चारजनाको ज्यान गयो । डीआईजीसहित तीनको मृत्यु ।’’ ‘खाल्डोबाट बचौँ र बचाऔँ’ को शीर्षक दिँदै बस, मोटर, साइकल, एक महिलाकै अगाडि एक जना मानिस डुबेको व्यङ्ग्यचित्र छाप्यो । ‘सडक जोखिम’ शीर्षकमा सम्पादकीयमा प्रधानमन्त्रीको निर्देशनले समेत राज्य संयन्त्रहरूको असफलताबारेको बेथितिलाई औँल्याइयो । त्यसै अङ्गमा ‘बाइरोडको बाटोमा’ स्तम्भमा गुणराज लुइँटेलले लेखे –‘‘के सोच्यौँ के भयो !’’ तस्वीरमा छिमेकी देश अर्थात् चीनको ५५ किलोमिटर लामो पुल र नेपालमा ‘सामन्ती’ राष्ट्रपतिको टीकाको व्यङ्ग्य चित्र छापियो ।
देश सङ्घ राज्यमा प्रवेश गरेकोमा शासक दलहरू, नेताहरू र मन्त्रीहरू सा¥है रमाएका थिए, बुझेर हो वा नबुझेर ! तर सातै प्रदेशका मुख्य मन्त्रीहरू बैठक बसेर आफ्ना गुनासाहरू पोखे । प्रदेश दुईका कानुन मन्त्रीले धम्की दिए– सङ्घीय सरकारले अप्ठेरो पारे सहन्नौंः मन्त्री यादव (नागरिक– ६ कार्तिक २०७५)
प्रिय अमृता र अमर,
१७ कार्तिकको दिन पत्रपत्रिकाहरूले देवकोटा जयन्तीको रुपमा पाठकहरूलाई देवकोटाकोबारे विभिन्न जानकारीहरू प्रस्तुत गरे । प्रज्ञाप्रतिष्ठानको पूर्वचान्सलर वैरागी काइँलाले लेखे –‘‘खोइ देवकोटाको घर ? उनको चोटा कोठा ? उनका स्वलिखित सामग्रीहरू ? प्रयोग गरेका वस्तुहरू ?’’ अन्नपूर्ण – फुर्सद, १७ कार्तिक २०७५)
महाकवि देवकोटाको भत्किएको कोठामा माहिली छोरी अम्बिकादेवीसँगको कुराकानीमा भनिन् –‘‘भीडमा उभिएका मेरा बा, पेटको पीडा सहन नसकेर बुबा पीपलबोटमा गएर पल्टिनुहुन्थ्यो ।’’
१७ कार्तिकको कान्तिपुरको ‘कोसेली’ मा डा. विपिन अधिकारीको ‘को राम्री, के सुन्दर ?’ शीर्षकको एक चाखलाग्दो लेख छापियो । लेखमा पौराणिक साहित्यका नायक, नायिका र चर्चित घटनाहरूको उल्लेख गरी लेखकले पाठकहरूलाई सुन्दरता भौतिक र आध्यात्मिक दृष्टिले हेरिने बताए । उनले अङ्ग्रेजी भाषाका नाटककार विलियम शेक्सपियरको सौन्दर्यको दृष्टिकोणलाई उल्लेख गरे –‘‘सौन्दर्य हेर्ने मान्छेको आँखामा हुन्छ ।’’
रामायण र महाभारतबारे तिमीहरूले पढेकै हौला, त्यसको साहित्यिक मूल्य र तत्कालीन समाजको चित्रले ती दुई महाकाव्यलाई मानव समाजको सभ्यता र संस्कृतिलाई अतुलनीय ढङ्गले वर्णन गरेको अध्येताहरू बताउँछन् । रावणको बारेमा धार्मिक हिसाबले नकारात्मक रुपले हेर्ने गरिन्छ भने कूटनीति, विद्वता र राजनीतिबारे उनलाई एक उत्कृष्ट चरित्र मान्छन् । त्यस लेखमा रावणको सुन्दरताको बयान आफ्नो लेखमा गरे ।
रावण मृत्यु शैय्यामा पुग्दा रामले लक्ष्मणलाई रावणसँग शिक्षा लिन पठाउँछन्, किनभने रावण अदम्य शक्ति, साहस, क्षमता र नीतिशास्त्र बुझेका मानिस हुन् । उनी बिदा हुँदैछन् । उनको जीवनको शिक्षा उनीसँगै खेर जान हुँदैन ।
लक्ष्मणलाई युद्धमा ढालेका रावणले दुःखेसो गर्छन्, ‘‘हे लक्ष्मण, मलाई लङ्गाको चारैतिरका सय योजन समुद्रको पानी गुलियो पार्ने मन थियो । म मेरो सुनको लङ्गा रहर बासना आउने बनाउन चाहन्थें । जिउँदै स्वर्ग जाने भ¥याङ तयार हुनै लागेको थियो । मैले मृत्युलाई पनि वशमा राख्न सक्ने थिएँ । तर, यस्ता जाबो काम भनेर मैले बेलामै गरिनँ, सिध्याइनँ । आज पूरा गर्नसक्ने यो सबै इच्छा मेरा लागि अतृप्त इच्छा भए ।’’
अर्र्ती लिन आएका लक्ष्मणलाई रावणले भने– “कुनै कामलाई सानो नमान्नू । राम्रो कुरा जतिसक्दो चाँडो गर्नुपर्छ –शुभस्य शीघ्रम् । आफ्नो शत्रुलाई कहिल्यै आफूभन्दा सानो नभन्नू । मैले यिनै भुल गरेँ । मैले जसलाई साधारण बाँदर–भालु भने, उनीहरूले मेरो सम्पूर्ण सेनालाई सिध्याइदिए । मैैले ब्रह्माजीसँग तपस्याको बलमा अमरताको वरदान माग्दा मान्छे र बाँदर –भालुबाहेक कसैले मेरो बध गर्न नसकोस् भन्ने दम्भपूर्ण वर मागें । मलाई मान्छे र बाँदर– भालु दुवै तुच्छ लाग्थे । मेरो बलका अगाडि यी को हुन् र ? भन्ने लाग्थ्यो । मबाट ठूलो गल्ती भयो । आफ्ना सूत्रहरू पनि अरुलाई भन्नु हुँदैनथ्यो । मैले आफ्नो मृत्युको सूत्र भाइ विभीषणलाई भन्नु हुँदैनथ्यो । गल्ती गरेँ, भाइले पनि दया ग¥यो । तिमीहरूलाई पोल लगायो … इत्यादि ।”
रावणको सुन्दरता यस्ता कुरामा खोज्नुपर्ने लेखकको भनाइ छ ।
त्यस्तै ‘‘एउटा मिथकीय पात्रको रुपमा रावण भनेको द्रविड, शुद्र, दलित, आदिवासीले अपनाइएका र गहिरो सम्मान गरिएका पात्र हुन् । महात्मा फुले पेरियार रामासामी नायकर र बीआर अम्बेदकर आदिले रावणको (सकारात्मक) छवि प्रस्तुत गरेका छन् । (दिवाली, मृत्यु उत्सव– काँचा इलैया –‘मजदुर’ २३ कार्तिक २०७५) । साथै दक्षिण भारतमा राम, सीता र लक्ष्मणको पुतला जलाउँछन्, जसरी उत्तरी भारतमा रावणको पुतला जलाउँछन् ।
प्रिय अमृता र अमर,
दसैंको बेला जसरी ठाउँठाउँमा साहित्य गोष्ठी, बृहत् साहित्य सम्मेलन, तंःमुज्या ‘अर्थात् नेपालभाषाका कामदार जनताको प्रतिनिधित्व गर्ने बृहत् साहित्य सम्मेलन गरिएजस्तै विविध भाषा साहित्य सम्मेलन पनि भयो । तःमुंज्यामा नेपालभाषा वा नेवारीभाषाबाहेक तामाङ, मैथिली, भोजपुरी, नेपालीभाषा आदिको साहित्य वाचन गरिएजस्तै विविध भाषा साहित्य सम्मेलनमा पनि देशका विभिन्न भाषामा साहित्य वाचन र अनेक विषयमा विशेषज्ञहरूले आ–आफ्नो विषयमा प्रवचन दिई स्रोता, दर्शक सहभागीहरूलाई मन्त्रमुग्ध पारे । अन्तमा नाचगानको कार्यक्रमले कामदार जनताको चेतनाको स्तर उठाउन कोशिश हुँदै आएको छ ।
यस न्हूँद (नयाँ वर्ष) मा ‘ख्वप पौ’ भन्ने नेपालभाषाको नयाँ बुलेटिन प्रकाशित भयो– जसमा कार्ल माक्र्सको जीवनी छापिएको छ । तिमीहरूलाई थाहै होला । यस वर्ष विश्वका सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको द्विशतवार्षिकी वर्षभरि नेपालमा मनाइँदै छ । साथै अक्टोवर क्रान्तिको १०० वर्ष पनि अनेक भेला, गोष्ठी र अन्तरक्रियाहरू गरी मनाइँदै छ ।
मेरा नाति र नातिना,
केही दिनमै काठमाडौंको ठाउँठाउँमा छठ पर्व हुँदैछ । गएको वर्ष तराईका भोजपुरी र मैथिली भाषा बोल्ने स–साना बालबालिकाहरूसमेत आ–आफ्ना आमाहरूसँग पोखरीमा धार्मिक कार्य सम्पन्न गरी हाँसी हाँसी फर्कंदाको दृश्य हेरेर मलाई सा¥है आनन्द लागेको थियो । हो त, संसारको सबै देश, जाति र भाषा–भाषी बालबालिका, किशोर र किशोरीहरू सारमा अभिभावकहरूको आँखाको नानी र सबै जनताको भविष्यको निम्ति फुल्दै गरेका फल हुन् ।
बाबु अमर र नातिना अमृता,
वर्तमान नेपालको सुख–दुःखको कुरो मैले बताएँ । सारमा भविष्य अत्यन्त सुन्दर छ हुस्सुले ढाकेको बिहानी सूर्यको उदयसँगै फाट्नेछ र संसारको अगाडि नयाँ विश्व प्रस्तुत हुनेछ । त्यो नयाँ सूर्यलाई ल्याउने प्रयास समाजवादले गर्छ । बिदा, अरु अर्को पत्रमा लेखुँला, तिमीहरूको पत्रको प्रतिक्षामा छु । मेरो स्वास्थ्य राम्रो छ । राम्रा राम्रा पुस्तकहरू पढ्नू/बिदा !
तिमीहरूलाई सधैं माया गर्ने हजुरबुबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *