भर्खरै :

पर्यटन प्रवद्र्धनमा चीनको चासो

–सिवी अधिकारी 
काठमाडौँ, २७ कात्तिक  : नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।
नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग आज पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लुले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ सहयोग अभिवृद्धिबारे चासो व्यक्त गर्नुभएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको छ ।
पर्यटन मन्त्रालको ‘नेपाल टुरिजम स्टाटिटिक्स–२०१७’ का अनुसार एक लाख ४६ हजार ६४ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा एक लाख चार हजार, सन् २०१५ मा ७७ हजार ९८४,सन् २०१४ मा एक लाख २३ हजार ८०५ र सन् २०१३ मा एक लाख १३ हजार १७३ चिनियाँ पर्यटक नेपाल आए ।
नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महीनामा एक लाख २१ हजार ३७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डले पनि चिनियाँ भाषामा वेबसाइट बनाएर प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डको अभियानलाई मन्त्री लुले प्रशंसासमेत गर्नुभयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनलाई पर्यटनको मुख्य स्रोत बजारका रुपमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउने र चिनियाँ पर्यटन बढीभन्दा बढी आउने वातावरण सिर्जना गर्ने सन्दर्भमा आवश्यक चिनियाँ भाषा र अरु प्रवद्र्धनका कामलाई प्रभावकारीरुपमा अघि बढाउनेबारे सहमति भएको पर्यटनमन्त्री अधिकारीले जानकारी दिनुभयो ।
“पर्यटन प्रवद्र्धनमा खास काम गर्ने, भ्रमण वर्षलाई सफल बनाउने सँगसँगै सन् २०३० सम्म एक दशकसम्म प्रवद्र्धनका गतिविधिलाई निरन्तरता दिनेबारे छलफल भएको छ”, उहाँले भन्नुभयो ।
विश्व सम्पदामा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनःनिर्माणमा चिनियाँ सहयोग अभिवृद्धि तथा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार नुवाकोट दरबार निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनःनिर्माणले गति लिई सातवटै सम्पदा क्षेत्र खुला भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले एक वर्षभित्र बाँकी पुनःनिर्माणको काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसमा चिनियाँ सहयोगको प्रतिबद्धता आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *