भर्खरै :

रौतहटमा शुभकामना आदानप्रदान

रौतहट, २७ कार्तिक । हिन्दूहरूको चाड शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा नेमकिपा रौतहटले देवाही–गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न ग¥यो ।
कार्यक्रममा सभापतिको आसनबाट नेमकिपाका केन्द्रीय सदस्य तथा नेमकिपा रौतहटका अध्यक्ष दिनेशप्रसाद साहले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए तापनि कामदार जनताको समस्या ज्यूँका त्यूँ नै रहेको उल्लेख गर्नुभयो ।
स्थानीय जनप्रतिनिधिहरूले विकास निर्माणभन्दा हिजो चुनावमा गरेको खर्च ब्याजसहित असुलउपर गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले सस्तो लोकप्रियता कमाउनको लागि बिनापूर्वाधार ठाउँ–ठाउँमा नगरपालिका घोषणा गरे पनि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा केही सुधार भएको देखिंदैन तर जनताले हिजोभन्दा अहिले कर धेरै तिरिरहेको उहाँले बताउनुभयो ।
“अहिले देशमा कम्युनिष्टको सरकार भए पनि यसले पुँजीपति वर्गको सेवा गरिरहेको छ । कम्युनिष्ट सरकारले जहिले पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने गर्दछ । तर वर्तमान ओली सरकार कम्युनिष्ट सरकार नभई हिजोको काङ्ग्रेस र पञ्चायतकै कार्यको सिलसिला रहेको छ ।” उहाँले स्पष्ट पार्नुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हक, अधिकार सुनिश्चित गर्ने भएकोले नेमकिपाले समाजवादी व्यवस्थाको बारेमा जनतामाझ स्पष्ट पारिरहेको बताउनुभयो । नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साहले अक्टोवर क्रान्ति सर्वहारा वर्गको पहिलो सफल क्रान्ति भएको बताउनुभयो ।
नेक्रायुसङ्घका जिल्ला अध्यक्ष लालबाबु चौधरीले कृषिप्रधान देश भए पनि सरकारले व्यवस्थित सिंचाइ र समयमा गुणस्तरीय मल खाद्यको व्यवस्थापन गर्न नसक्दा किसानले समस्या भोगिरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक छोटेलाल प्रसाद, भरत माली, रामपुकार प्रसाद, केदार यादव, जीतेन्द्र प्रसाद, जनक प्रसाद, स्वास्थ्यकर्मी आनन्द साह, प्रदिप साह, विद्यार्थी सुशील साह, विवेक साह, अवधेस पटेल, रविकुमार, अनिशा साहलगायतले नगरपालिकाभित्र खस्कँदै गएको शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणको विषयमा आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *