भर्खरै :

महिला कार्यकर्ता गोमादेवी शाहीको निधन

कोहलपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिका सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिका अध्यक्ष गोमादेवी शाहीको बुधबार साँझ राँझा विमानस्थलबाट कोहलपुरतिर आउने क्रममा विद्युत्रोड चोकमा भएको सवारी दुर्घटनामा परी निधन भएको छ । श्रीमान् अञ्जिरबहादुर शाहीले हाक्नुभएको मोटरसाइकलमा बसी घर फर्किने क्रममा पछाडिबाट आइरहेको भे १ च १६७२ नं को म्याजिक गाडीले ठक्कर दिंदा उहाँको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमान् अञ्जिरबहादुर शाहीको खुट्टा भाँचिएको छ । शाही दम्पत्ती काठमाण्डौ जान छोरा राजकमल शाहीलाई राँझा विमानस्थलमा पु¥याएर घर फर्किरहनुभएको थियो । घटना साँझ ७ बजे भएको थियो ।
म्याजिक गाडीका वास्तविक चालक गिरफ्तार नहुँदा बिहीबार साँझ पनि मृत्तक गोमादेवी शाहीको लास परिवारले बुझेको छैन । प्रहरीले गाडीमा फेला परेको सवारी चालक अनुमतिपत्रको फोटोकपीका आधारमा बर्दिया जिल्लाका जनक दहितलाई गिरफ्तार गरेको छ । तर दहितले आफूले सो गाडी डेढ महिनाअघि नै छोडिसकेको र घटना हुँदा आफूले सो गाडी नचलाएको बयान दिएका छन् । दहितकै बयानका आधारमा गाडीका धनी रमेश दहितको खोजी भइरहेको तर अझसम्म गिरफ्तार नभएको बताइएको छ ।
गोमादेवी शाहीको छोटो परिचय
वि.सं २०१५ चैत १४ गतेका दिन बुबा जोगिराम शाही र आमा राजकुमारी शाहीको पहिलो सन्तानको रुपमा दैलेख जिल्लाको चामुण्डा विन्दासैनी नपा ६ को एक साधारण किसान परिवारमा गोमादेवी शाहीको जन्म भएको थियो । उहाँका दुई बहिनी र दुई भाइ हुनुहुन्छ । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने शाही दैलेखकै अञ्जिरबहादुर शाहीसँग वैवाहिक जीवनमा बाँधिनुभएको थियो । गोमादेवी शाहीलाई समाजको सेवा गर्न पे्ररणा दिने उहाँका श्रीमानसँगै २०४६ सालमा बाँके जिल्लाको कोहलपुरमा बसाइ सरेपछि हाल कोहलपुरमै बस्दै आउनुभएको थियो ।
तत्कालीन समाज र परिवेसका कारण औपचारिक रुपमा शिक्षा हासिल गर्ने मौका नपाए पनि उहाँले व्यावहारिक र राजनैतिक ज्ञान हासिल गर्नुभएको छ । सानै उमेरदेखि अन्याय र अत्याचारको विरुद्धमा उभिनुहुुने शाहीले महिलाले भोग्नु परेका सामाजिक कुरीतिविरुद्धं आवाज उठाउँदै कामदार वर्गका महिलाहरूलाई राजनीतिक रुपमा सचेत गराउन धेरै समय खर्चिनुभएको छ ।
राजनीतिमार्फत देश र जनताको सेवा गर्ने इच्छा राख्ने शाहीको सक्रियतालाई मध्यनजर गर्दै २०४६ सालको जनआन्दोलनपश्चात् पार्टीले शाहीलाई विभिन्न जिम्मेवारी दिँदै आयो । पार्टीले दिएको जिम्मेवारीलाई शाहीले सफलतापूर्वक पूरा गर्दै आउनुभयो । उहाँले क्रान्तिकारी महिला सङ्घको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीसमेत वहन गरिसक्नुभएको छ । पार्टीको निर्देशनलाई आत्मसात गर्दै समाज सेवामा सक्रिय भई गलत कुराको डटेर विरोध गर्ने र सही कुराको पक्षमा वकालत गर्ने उहाँ सामाजिक मेलमिलापकर्ताको रुपमा चिनिनुहुन्छ ।
विस २०५९ वैशाख १२ गते घरमा सुतिराखेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले माओवादी भएको आशङ्कामा गोमादेवी शाहीलाई पक्राउ ग¥यो । इलाका प्रहरी कार्यालयको हिरासतमा राखी उनलाई अमानवीय ढङ्गले शारीरिक तथा मानसिक यातना दिइएको थियो ।
विभिन्नखाले अप्ठेराहरूका बीच समाजवादी व्यवस्था स्थापना गर्ने पार्टीको दीर्घकालीन उद्देश्यलाई पूरा गर्न क्रियाशील उहाँले २०४८ सालदेखिका विभिन्न निर्वाचनहरूमा भाग लिँदै आउनुभएको थियो । उहाँ २०७४ मंसिर २९ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका निम्ति समानुपातिक उम्मेदवारको रुपमा जनतामाझ आउनुभएको थियो ।
जनताको प्रजातन्त्र समाजवादी गणतन्त्र स्थापना गर्न, देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको निम्ति विगतमा संसदमा उठेको नेमकिपाको देशभक्तिपूर्ण आवाजलाई निस्तेज पार्न भारतीय शासकहरूको निर्देशनमा लादेको ‘थ्रेस होल्ड’ को विरोधमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *