भर्खरै :

गौतमबुद्ध विमानस्थल आगामी जेठभित्र उडानयोग्य हुने

भैरहवा, ६ मंसिर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।
हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमि धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ ।
यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा तीन तहको कालोपत्रे गर्नुपर्ने भएकोले पहिलो चरणको काम सकिएपछि क्रमशः दोस्रो र तेस्रो चरणको कालोपत्रे गर्न १५÷१५ दिनको समय लाग्नेछ ।
विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आयोजनाको कूल लागत मूल्य अभिवृद्धि करसहित रू. ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रहेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार हाल निर्माण व्यवसायीले दुई वटा अलकत्रा र गिट्टी घोल्ने यन्त्र जडान गरेर धावनमार्गमा कालोपत्रे गरिरहेको छ ।
सन् २०१९ को जून २८ सम्म सञ्चालन योग्य बनाउने गरी काम भइरहेको छ । राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति न्यून र आशातीत रूपमा राम्रो नभइरहेको अवस्थामा गौतमबुद्ध विमानस्थलको काम लोभलाग्दो तवरले भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दैनिकजसो नै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी लिने र समस्या आए समाधान पनि तत्काल नै गर्ने गर्नुभएको छ ।
विमानस्थलको अन्य भौतिक निर्माणको कामसमेत द्रुतगतिमा नै अगाडि बढाइएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सवस्टेशन, अग्नि नियन्त्रक कक्ष, पानी ट्याङ्की, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
ट्याक्सी वे को निर्माण भने सम्पन्न भइसकेको छ । सञ्चालनमा रहेको धावनमार्गलाई समेत उपयोग गर्ने नीति लिइएको छ । धावनमार्ग, अन्तर्राष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँग एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । सो विमानस्थलमा बोइङ ७७७–२०० सम्मका जहाज उडान तथा अवतरणलाई योग्य हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत विकल्पमा सो विमानस्थललाई सञ्चालनमा ल्याउन सकिनेछ ।
आयोजनाका लागि थप ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालसम्म अधिग्रहण गर्न रू. १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रू. ११ अर्ब चाहिनेछ ।
सञ्चालनमा रहेको धावनमार्गलाई पार्किङस्थल बनाएर निर्माणाधीन धावनमार्ग नै सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्री अधिकारीको भनाइ थियो । सन् २०१९ सम्ममा त्यहाँबाट अन्य गन्तव्यमा समेत उडान गरिनेछ ।
निर्माण व्यवसायी चिनियाँ कम्पनी ग्रुपका परियोजना निर्देशक सुइले पनि विमानस्थल निर्माणमा कुनै पनि समस्या हुन नदिन आफूहरू प्रयत्नशील रहेको र तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो ।
“हामी प्रयत्नशील छौँ, सबै प्रकारको क्षमताको उपयोग गरेका छौँ, प्रगति असाध्यै राम्रो भइरहेको छ । यो काममात्रै होइन नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा उठाउने अभिभारा पनि हो” सुइले भन्नुभयो ।
भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *