भर्खरै :

विदेशी मुद्राको कारोवार गर्ने पक्राउ

पोखरा, ७ मङ्सिर ः अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने भारतीयसहित दुई जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा भारत बम्बई महाराष्ट्रका विनायककुमार बाबुलाल शाह र काठमाडाँै महानगरपालिका–३५ की चन्दा थापा रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पर्यटकीयस्थल लेकसाइडको एक होटलबाट पक्राउ परेको उनीहरुका साथबाट अमेरिकी डलर बीस हजार, भारतीय रुपैयाँ ९५ हजार ५५, इङ्ल्याण्ड पाउण्ड १० तथा युरो दुई हजार ३५० र नेपाली मुद्रा २४ हजार ८०५ गरी कूल ३१ लाख २८ हजार ७०९ रुपैयाँ बरामद गरिएको छ ।
वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले उनीहरुका साथबाट डलरसँगै डेल कम्पनीको ल्यापटप एक थान, एमआई कम्पनीको एण्ड्रोइड मोबाइल एक, विभिन्न बैंकको एटिएम ६, चेकबुक चार, सोनी कम्पनीको पेन्ड्राइभ एक र शाह तथा थापाको राहदानी एक–एक थानसमेत बरामद गरेको छ । अभियुक्तलाई आजै आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडाँै पठाइएको प्रवक्ता गुरुङले बताउनुभयो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *