सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
– मेरिना शाक्य
सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोमा अब शङ्का छैन । प्रधानमन्त्री केपी ओली आफैले मन्त्री र सचिवहरूमाझ छिटो परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्न र अब काम गर्ने शैली र व्यवहार परिवर्तन गर्न निर्देशन दिएबाट सरकारले चित्तबुझ्दो काम गर्न नसकेको थाहा हुन्छ । त्यसो त प्रम ओलीले पहिले पनि काममा ढिलासुस्ती नगरी जनताले पनि अपेक्षा गरेबमोजिम काम गर्न निर्देशन दिएका थिए । तर प्रम ओलीको त्यो अपेक्षा नौ महिना पुग्दा पनि पूरा भएन । उनको निर्देशन बोलीमा सीमित भयो ।
सरकार सञ्चालनको सय दिन पुग्दा मन्त्री र सत्तारुढ दलका नेताहरूले सोचेभन्दा बढी काम भएको भनी नाक फुलाएका थिए । दुई चारवटा विकासका कुरा देखाएर देशमा उथलपुथल भएको जस्तो सान देखाइयो । तर सरकारको त्यो सान कर्कलाको पानीसरह सावित भयो । प्रमले मन्त्री र सचिवहरूलाई निर्देशन दिएर विकास हुँदैन । मन्त्री र सचिवहरूलाई निर्देशन दिएपछि प्रमको जिम्मेवारी पूरा भएको मानिँदैन । निर्देशन दिनुमात्र प्रमको दायित्व होइन । सरकारको नीति तथा कार्यक्रम नै गतिलो भएन, बहुमत जनताको पक्षमा भएन भने मन्त्री र सचिवहरू सक्रिय भएरै विकास अघि बढ्छ, देश समृद्ध र नेपाली सुखी हुन्छ भन्ने होइन ।
आम नेपाली जनताको चाहना कम्युनिष्टको सरकारले कम्युनिष्टको उद्देश्य र विचारअनुसार देशमा काम गर्नुपर्छ भन्ने हो । कम्युनिष्टको सिद्धान्त र विचारअनुसार अघि नबढ्ने हो भने देश–विदेशमा नेपालमा कम्युनिष्टको शासन छ भनेर धाक लगाएर के गर्ने ? कम्युनिष्ट भनिने सरकारको विचार नै खोटो भयो भने विकास गर्ला भन्ने विश्वास कसरी गर्ने ?
विकास नहुनुमा सरकारले देश र जनताको स्वार्थ नहेरी दलगत स्वार्थ हेर्नु हो । सत्तारुढ दलका नेता र मन्त्रीहरूको सङ्कीर्ण र अवसरवादी सोच हो । पद र पैसाको निम्ति राजनीति गर्ने अभिलाषा हो । सत्तारुढ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू निःस्वार्थी नहुनु हो । असल, इमानदार र देशभक्त नहुनु हो । घूस, कमिसन नखाइकन देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना नहुनु हो । अतः सबभन्दा पहिले नेकपा सच्चा कम्युनिष्ट पार्टी हो भने सरकार कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारअनुसार अघि बढ्नुपर्छ । सिद्धान्त र विचार एउटा र काम पुँजीवादी हुनुहुँदैन । पद र पैसाको निम्ति राजनीति गर्ने दलले कहिल्यै देश र जनतालाई सही दिशा निर्देश गर्नसक्दैन ।
Leave a Reply