भर्खरै :

‘संशोधनवादीहरू देश र जनतालाई धोका दिंदैछन्’

भक्तपुर, ७ मंसीर । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण १ नं वडा समितिको आयोजनामा जनतासँग सांसद कार्यक्रम शुक्रबार दुवाकोटमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले रूसमा क्रान्तिपूर्व बोल्सेविक पार्टीका नेताहरू पुँजीवादी सरकारमा नगई संसद्लाई जनताको पक्षमा उपयोग गरेजस्तै नेमकिपाले पनि संसद्मा गएर देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘‘रूसमा अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि बीस–तीस वर्षमै समाज परिवर्तन भई जनताले सुख पाएकाले नेपालमा पनि समाजवादी क्रान्ति सफल पार्नु जरूरी छ ।’’
रूसमा क्रान्तिपूर्व मेन्सेविकहरू सरकारमा गई राज्यकोष लुटपाट गरेजस्तै नेपालमा पनि नेकपा नामधारी संशोधनवादी पार्टीले देश र जनतालाई धोका दिईरहेकोले जनता सचेत हुनुपर्ने आवश्यकता औल्याउनुहुँदै सांसद सुवालले कम्युनिष्ट नामधारी पार्टीको सरकारले ठूलठूला व्यापारीहरूलाई कर छुट दिने र साना उद्योगी व्यवसायीलगायत सर्वसाधारण जनतामाथि करको भार थोपरेर शोषण गरिरहेको तथा सुन तस्कर, खराब ठेकेदार, निर्मला हत्याकाण्डका अभियुक्त र भ्रष्टाचारीहरूलाई पनि सरकारले संरक्षण गरिरहेको बताउनुभयो ।
“शासक दलहरूले चुनावमा करोडौँ खर्च गरेर जनतालाई झक्याएका हुन्” उहाँले भन्नुभयो ।
प्रम ओलीले पहिलो प्रम कालमा ‘भातैमात्र खानको लागि काम गर्न नपर्ने बरू घरघरमा ग्यासको सिलिण्डर ल्याइदिने’ बोलेको तर केही काम गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । सांसद सुवालले भन्नुभयो, ‘‘देशको सन्तुलित विकासको निम्ति काठमाण्डौ उपत्यकाबाहिर पनि विकास निर्माण पु¥याउनु जरूरी छ । अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र प्रदेशको राजधानी पनि उपत्यकाबाहिर राखे देशको सन्तुलित विकास हुनेछ ।’’
भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी जमिन मिचेको र ४० लाख भारतीयल नेपाली नागरिकता लिएकोतर्फ सरकारहरू मौन रहेको चर्चा गर्नुहुँंदै उहाँले यो समस्या समाधानको लागि नेपाल–भारत खुला सीमा नियमित गर्नुका साथै जन्मको आधारमा नागरिकता वितरणलाइ्र्र छानबिन गर्नुपर्ने विचार राख्नुभयो ।
सांसद सुवालले चीन र संरा अमेरिकाको व्यापार युद्धले अन्ततः संरा अमेरिकालाई नै घाटा हुने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले चाँगुनारायण नपाले ९ करोड उठ्ने पर्यटन शुल्कमा गतसाल ५१ लाखमा ठेक्का दिई नगरवासीलाई नोक्सान हुने काम गरेको र पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिर वरिपरि बालुवाखानी सञ्चालनको ठेक्का दिएर सम्पदा नष्ट गर्न खोजेकोले जनस्तरबाटै त्यसको विरोध गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले विकास निर्माणका काममा उपभोक्तामार्फत काम गरे हिसाब पनि पारदर्शी हुने र काम पनि बढी हुने भएकोले जनता आफै सचेत भई ठेकेदारको बदमासीलाई रोक्नुपर्ने बताउनुभयो । साथै नेपाल मजदुर किसान पार्टीले संसद् विकास कोषको रकम खर्च गर्दा पारदर्शितालाई ध्यान दिएको पनि बताउनुभयो ।
नेमकिपा चाँगुनारायणका कुमार तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटा, रमेश सापकोटा र गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीयवासीले नेपाल इन्जिनियर कलेजदेखि सशस्त्र प्रहरी गण निलबाराहीसम्मको सडक ट्रिपर ओहोरदोहोरको कारण बिग्रेको हुँदा ट्रिपर सञ्चालन रोक लगाउनुपर्ने,
सडकमा ग्राभेल राख्नुपर्ने र बेरोजगारीको कारण युवाहरू कुलतमा फस्दै गएकोले रोजगारी सृजना हुने तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *