भर्खरै :

कम्युनिष्टहरू पुँजीवादी सरकारको भागबण्डामा जाँदैनन्’

काठमाण्डौ, ७ मंसिर । ‘‘नेपालमा १२५ जातजाति छन् । सबै जातिको भाषा र संस्कृति मानव सभ्यताकै शृङ्खला हो । भक्तपुरमा नेपालभाषा साहित्य तःमुंज्या ३८ वर्षदेखि भइरहेको छ । यो दबुमा नेपालका अन्य भाषाको साहित्य र मन्तव्य प्रस्तुत हुन्छ । भाषा र साहित्यको दबु पनि वर्गीय हुन्छ । नेपालभाषा साहित्य तःमुंज्याले कामदार वर्गको प्रतिनिधित्व गर्दै आएको छ ।’’
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ‘नेवा राजनीतिक अभियान’को एक भेलामा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
राजनीति दर्शनको आधारमा अगाडि बढ्ने चर्चा गर्नुहुँदै उहाँले कामदार वर्ग राजनीतिमा निर्णायक नभएसम्म मानव जातिको कल्याण नहुने उल्लेख गर्नुभयो ।
औद्योगिक क्रान्तिसँगै समाज पुँजीपति र भाषिक वर्गमा विभाजित भएको उल्लेख गनुहुँदै उहाँले सन् १८७१ को पेरिस कम्युनले मजदुर वर्गको राज्य सत्ता गठन गरेको र सन् १९१७ को अक्टोबर क्रान्तिले पहिलो समाजवादी सरकार गठन गरेको चर्चा गर्नुभयो ।
लेनिन नेतृत्वको बोल्सेविक पार्टीले जारको पुँजीवादी चुनावलाई क्रान्तिकारी उपयोग गरेको तर मेन्सेविकहरू पुँजीवादी सरकारको भागबण्डामा गएर राज्य कोष लुटपाट गरेको उल्लेख गर्नुहँदै सांसद सुवालले नेकपाले पनि पुँजीवादी सरकारको हालीमुहाली गरिरहेको हुँदा नेकपा पुँजीवादी पार्टी नै भएको चर्चा गर्नुभयो ।
काठमाण्डौ उपत्यकाको सांस्कृतिक संरक्षण र पर्यावरणीय सन्तुलनको लागि काठमाण्डौ केन्द्रित जनसङ्ख्यालाई विकेन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै सांसद सुवालले काठमाण्डौको घर भत्काएर सडक चौडा गरियो तर गाडी आयात बढेको हुँदा प्रदूषण पनि बढेको चर्चा गर्नुभयो ।
उहाँले सुन तस्करका ठूला माछा, खराब ठेकेदार, बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही नभएको उल्लेख गर्नुहुँदै वाइड बडी हवाइजहाज खरिद वा भाडाका भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
निर्वाचनमा पैसा र सामान बाँड्ने, झूटा आश्वासन दिने पार्टीहरू नै धेरै स्थानमा जितेका हुँदा वर्तमान सरकारबाट पनि देश र जनताको हित नहुने उहाँले स्पष्ट गर्नुभयो ।
प्रचण्डले ओलीलाई पञ्चायतको प्रम सूर्यबहादुर थापाजस्तो भारतीय दलाल भएको र मानसिक सन्तुलन नभएको बताएको साथै ओलीले प्रचण्डलाई २–३ अर्बको लागि आन्दोलन गरेको र कायरहरूमात्र माओवादीसँग मिल्ने बताएको उल्लेख गर्नुहुँदै सांसद सुवालले नेकपामा ती दुवै अध्यक्ष भएर बस्नु विडम्बना नै हो भन्नुभयो ।
उहाँले प्रदेशको अर्थ पनि विकेन्द्रीकरण र स्वायत्तता भएको तर स्वशासन नभएको उल्लेख गर्नुहुँदै प्रत्येक प्रदेशमा हिमाल, पहाड र तराई भूभाग हुने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
दुईतिहाइ मत आएको दावी गरेका नेकपाका नेताहरूले सरकार गठन गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोल्टी होटलमा बोलाएर एक्लाएक्लै भेटेको नाममा आशिर्वाद लिएको भारतीय दलालको नमुना भएको बताउनुहुँदै वि.सं. २०५१ सालमै तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री मनमोहन अधिकारीले एमाले युरोपको समाजवादी प्रजातान्त्रिक पार्टीजस्तै पुँजीवादी भएको स्वीकार गरेको बताउनुभयो ।
सांसद सुवालले नेपाल–भारत खुला सीमा नियमित गर्नुपर्ने र जन्मको आधारमा वितरण भएको नागरिकताबारे छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *