भर्खरै :

मौरीपालकको गुनासो ः ‘दोषी पहिचान भएन, क्षतिपूर्ति पाएनौँ’

रीता लामा
घोराही, १० मंसिर । गत कार्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा अज्ञात व्यक्तिले विष हालिदिंदा ४४ घार मौरी एकै पटक नष्ट भयो । ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकैपटक विषादी परेर नष्ट हँुदा किसान चिन्तित भए ।
दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको मागसँगै पीडित किसान विकास नेपाल र सूर्यबहादुर सिञ्जालीले जिल्ला प्रहरी कार्यालय, घोराही उपमहानगरपालिका र ५ नं प्रदेश कार्यालयमा समेत निवेदन दिनुभयो । तर घटना घटेको एक महिना पुगिसक्दा र मौरीको चरन याम जानै लाग्दा पनि कुनै निकायबाट पहल नभएको भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।
बिएण्ड बिपी मौरी फार्मका नेपालले आफूहरूलाई प्रहरीले पनि दोषीको खोजीकार्यको लागि कुनै पहल नगरिदिएको हँुदा समस्यामा परेको बताउनुयो । उहाँले अब मौरीको चरन याम(मौसम) सकिन लागेको र फेरि मौरीको घार चितवन लगेर फर्कनुपर्ने समय आइसक्दा पनि कुनै पक्षबाट न्यायको लागि पहल नहुँदा अन्यायमा परेको महसुस भएको बताउनुभयो । चितवनका नेपाल मौरी चरनका लागि घार लिएर घोराही आउनुभएको थियो ।
“दोषी पत्ता लगाई कारबाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन”, उहाँले भन्नुभयो । रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित सिञ्जालीले बताउनुभयो ।
विषादीबाट नेपालको ४० र सिञ्जालीको चार घार मौरी नष्ट हुँदा करिब रु. १६ लाख क्षति भएको बताइएको छ । लामो समयदेखि मौरी पालिरहेका नेपालले आफ्नो ठूलो क्षति भएको हुँदा उचित क्षतिपूर्ति नपाए यो पेशाबाटै पलायन हुने अवस्था आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेलले मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गरेर दिनसक्ने जानकारी दिनुभयो ।
“क्षतिपूर्ति दिनैपर्ने बाध्यात्मक व्यवस्था छैन”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर राहतस्वरुप केही रकम दिनसकिन्छ ।” उहाँले पीडितले निवेदन मात्रै दिने भन्दा पनि पटक÷पटक क्षतिपूर्तिको लागि पहल गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *