भर्खरै :

जस्तिके पुलदेखि सूर्यविनायकसम्म सरसफाइ

भक्तपुर, १५ मंसिर । भक्तपुर नगरपालिकाले दिनहुँ गर्ने नियमित सरसफाइबाहेक पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत शनिबार नपाको पच्छिम सिमाना हनुमन्ते पुल (जस्तिके पुल) देखि पूर्वतर्फ सूर्यविनायकको चौबाटोसम्मको अरनिको राजमार्गस्थित ट्रायक रोडमा सरसफाइ कार्यक्रमको आयोजना ग¥यो ।
शुभकामना पार्टी प्यालेसदेखि हनुमन्ते पुलसम्मको सहायक बाटो (सर्भिस ट्रायक) मा सरसफाइ गर्न चार टोली बनाइएको थियो । टोलीको जिम्माअनुसार भएको सरसफाइमा नपाका जनप्रतिनिधिहरु, कलेजका प्राचार्य, शिक्षक, प्रहरी, समाजसेवी, युवा, कलेज र माविका विद्यार्थी कर्मचारी महिला समाजिक तथा सहकारी संस्था पदाधिकारी तथा स्थानीय बासिन्दाहरुको व्यापक सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सफाई गर्नु सबै नगरबासीको साझा जिम्मेवारी भएको बताउनुभयो ।
आफ्नो वरपरको फोहोर आफैंले सफा गरेमा फोहोरको समस्या न्यून हुने र फोहोरबाट फाइदा पनि उठाउन सक्ने धारणा राख्नुभयो ।
“जनप्रतिनिधिहरूले जनताबीच गरेको घोषणापत्र अनुसार नै प्रत्येक महिना १ गते र १५ गते सफाई कार्यक्रम गर्दै आएको हो ।”, उहाँले भन्नुभयो ।
अरुको भरमा काम गर्नेहरू कमजोर हुने भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय जनताकै सहयोगमा विकास निर्माणका लागि काम गरिरहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले समृद्धि नगरपालिका बनाउने जनप्रतिनिधिहरूको सोच र ऐतिहासिक धरोहर यस नगरको अनुकरणीय कार्य देशभरका नगरपालिकालाई मार्ग निर्देशन तथा अध्ययन गर्ने स्थलको रुपमा विकास भइरहको बताउनुभयो । उहाँले सुरक्षित र समृद्धि नगर बनाउने जनप्रतिनिधिहरूको पहलमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्व, कुमार चवाल, राजकृष्ण गोरा, महिला सदस्य सुनिता अवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *