भर्खरै :

रङ्गशालाको विरोधमा जुलुस तथा नगरपालिका घेराउ

भक्तपुर, १८ मंसिर । सूर्यविनायक नगरपालिकाको वडा नं ८ र ९ साविकको सिपाडोल र नङ्खेलको तौडोल र महत गाउँमा युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने प्रस्तावको विरोधमा मङ्गलबार स्थानीय बासिन्दा र किसानहरूले सूर्यविनायक नपाको कार्यालय घेराउ गरेका छन् ।
रङ्गशाला निर्माणको नाममा खेतीयोग्य जमिन म्हास्ने प्रस्तावको विरोध गर्दै उनीहरूले सल्लाघारी चोकदेखि नपा कार्यालयसम्म जुलुस प्रदर्शन गरेका थिए ।
जुलुसमा उनीहरूले ‘रङ्गशाला चाहिंदैन, खेतीयोग्य जमिन म्हास्न पाइँदैन’, ‘भूमफियाहरू होशियार’, ‘जनविरोधी सरकार मुर्दावाद’ आदि नारा लगाएका थिए ।
सूर्यविनायक नपाको कार्यालय प्राङ्गणमा आयोजित विरोध सभामा रङ्गशाला पीडित समितिका संयोजक हरिकृष्ण दनेगुलूले जनताको मत पाएर निर्वाचित भएका सांसद, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूसमेत जनताबाट जग्गा खोस्ने षड्यन्त्रको मतियार बनेको बताउनुभयो ।
उहाँले जनताको विरोधलाई बेवास्ता गरी रङ्गशाला बनाउन सरकार अघि सरे जनता थप आन्दोलनका गतिविधि गर्न बाध्य हुने बताउनुभयो ।
पीडित किसानमध्ये अर्पणा मचामसीले आफ्नो क्षेत्रको लागि अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाभन्दा ढलनिकास, पिउने पानी र बाटोघाटोको उचित बन्दोबस्त गर्न माग गर्नुभयो ।
स्थानीय बासिन्दा चन्द्रशेखर कासुलाले समृद्धि र विकासको नाममा जनताको भावनाविपरीत जनताको सम्पति खोस्ने अधिकार सरकारलाई नभएको बताउनुभयो । जनतालाई पुर्खौदेखि बस्दै आएको ठाउँबाट उठिबास गर्ने र जग्गा हडप्ने काम गर्नु सरकारको गल्ती हुने उहाँको भनाइ थियो ।
अर्का स्थानीय बासिन्दा बाबुकाजी कासुलाले जनप्रतिनिधिको आवरणमा भूमाफियासँग साठगाँठ गर्ने मानिसले जनतालाई दुःख दिएर आफ्नो दुनो सोझ्याउन खोजिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा हरिकृष्ण सुकुपायोले पनि बोल्नुभएको थियो ।
रङ्गशाला बनाउने प्रस्तावको विरोधमा स्थानीय बासिन्दा र किसानहरूले चरणबद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *