भर्खरै :

सरकारी बजेट दुरुपयोग, जनतालाई सास्ती

गोविन्दनाथ योगी, सुर्खेत
कर्णाली प्रदेश सरकार मातहत जिल्लाका विभिन्न स्थानहरुमा काम नगरिकनै योजनाको रकम भुक्तानी दिएको पाइएको छ । सुर्खेतको बराहताल गाउँपालिका –८ मा हरियो आँप सिंचाइ कुलो निर्माण तथा सम्भारका लागि मन्त्रालयले तीन लाख रुपैयाँ विनियोजन गरेकोमा उक्त स्थानमा कामै नगरी बजेट भुक्तानी दिइएको पाइएको हो । वडाध्यक्ष मणि कार्कीले उक्त स्थानमा काम पनि नभएको, आफू र उपभोक्ताहरुलाई समेत जानकारी नभएको ठाउँमा मन्त्रालयले कसरी भुक्तानी दियो भनी प्रश्न गरे ।
मन्त्रालयले कामै नभएको ठाउँमा कसरी भुक्तानी दियो भन्ने प्रश्न उठेपछि मन्त्रालयका सचिव शिवनारायण चौधरीले वडा कार्यालय,गाउँर नगरपालिका र तत्कालीन जिल्ला कृषि विकास कार्यालयको सिफारिसको आधारमा भुक्तानी दिएको बताए तर सम्बन्धित ठाउँमा काम नभएकोले भ्रष्टाचार भएको स्पष्ट हँुदा जनताद्वारा छानबिन र कारबाहीको माग भइरहेको छ ।
त्यस्तै बराहताल –९ मा स्थानीय जगत लामिछानेका अनुसार आ.व. २०७३ र ०७४ मा विनियोजित बजेटअन्तर्गत श्रीमुल खानेपानी आयोजनाको निर्माणका लागि करिब रु. ८० लाखको योजनाबाट ३१ वटा धारा निर्माणका लागि तत्काललाई रु.४ लाख बजेट छुट्याइएको भए पनि आर्थिक वर्ष सकिनै लाग्दा काम सञ्चालन नभएकोले तत्कालीन क्षेत्रीय खानेपानी कार्यालय प्रमुखसमक्ष गुनासो राख्दा हाललाई उक्त योजनाको लागि मोटर खरिद गरियो । पछिल्लो आर्थिक वर्ष २०७४ र ०७५ मा ३ लाख रकम छुट्याइएको थियो । त्यस रकमबाट पनि खास काम भएन । अब यस्तो गतिले ८० लाखको योजना २५ र ३० वर्षमा सम्पन्न होला वा नहोला । पानीको हाहाकारबाट पीडित जनतामा आक्रोश र निराशा छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *