भर्खरै :

देवी मावि नभइदिएको भए….

हरिसुन्दर छुकां
‘तिम्रो घर कहाँ ?’
–भक्तपुर ।’
‘भक्तपुरको कुन ठाउँ ?’
–‘ताथली ।’
‘ताथलीको कुन ठाउँ ?’
–‘सौडोल ।’
‘सौडोल (उत्साहित हुँदै), त्यहाँ एउटा स्कुल छ नि, त्यहींनिर हो ?
–‘हो ।’
‘त्यहाँ कुन स्कुल छ रे, सरकारी भएर पनि राम्रो गरेको छ भन्ने सुनेको छु । त्यहीँ हो ?’
–हो, त्यहीँ हो, देवी मावि । हाम्रो ठाउँको राम्रो स्कुल हो ।
भक्तपुरको ताथलीको सौडोलमा देवी मावि नभएको भए के हुन्थ्यो ? भन्ने प्रश्नको जवाफ माथिको सानो तर ठूलो मर्म र गम्भीर अर्थ बोकेको पुच्छ«े प्रश्न शैलीको संवादले पनि बताउँछ ।
कुनै पनि स्थानको परिचय व्यक्तिसँग भन्दा पनि त्यहाँको संस्थाले उँचो बनाउँछ, सहज बनाउँछ । सरल बनाउँछ । आत्मीय बनाउँछ । यही नै संस्थाको लुकेको शक्ति हो । लुकेको अथवा नदेखिने शक्ति बलियो हुन्छ । त्यही शक्ति तत्कालीन ताथली गाउँ विकास समितिको वडा नं. ७ सौडोल (हाल चाँगुनारायण नगरपालिका वडा नं. ९) मा स्थापना भएको देवी माविसँग पनि छ ।
यसैले त त्यहाँ पढेका विद्यार्थीहरूमात्र नभएर स्थानीयसमेत गर्वका साथ भन्छन्,
मस्तिष्कमा सद्गुणको बीज छर्दछौंँ विद्यार्थीमा देशभक्तिको भाव भर्दछौँ मन्दिर हो विद्यालय चेत ज्ञानको
देवी स्कूल मेरो गौरव मेरो शान हो
सौडोलस्थित एक पर्ती र रुखो डाँडो, जुन डाँडोलाई अझ पनि कतिपय ज्येष्ठ नागरिकहरू ‘भूत मन्छिने डाँडो’, ‘सखी डाँडो’ भनेर भन्छन् (अहिले पनि यदाकदा स्कुलको गेटनिरै मन्छाइएको देखिन्छ) हो, त्यही भूत मन्छिने डाँडोमा आजभन्दा ५० वर्षअघि समाजसेवी एवं शिक्षाप्रेमी बुद्धिकुमार गोसाईं, जयराम बासुकला, कृष्णलाल दर्शनधारीलगायतका व्यक्तित्व, स्थानीय गुठीयारहरूको पहल र सक्रियतामा बाँस, छ्वाली, हिलो, माटो र परालको सहायताले ठड्याइयो एउटा छाप्रो । त्यो दिन थियो वि. सं. २०२५ मंसिर १९ गते । त्यही दिन र त्यही छाप्रोबाट सौडोलमा शिक्षा प्रचारको आरम्भ भयो । त्यहींबाट ‘भूत’ पन्छाउने र औपचारिक रुपमा ‘सरस्वती’ लाई स्थापना गर्ने काम भएको थियो ।
कूल ९ रोपनी २ आना क्षेत्रफल रहेको डाँडोमा पढाइ सुरुवात भएको ४ वर्षपछि मात्र आधिकारिक रुपमा ‘श्री देवी राष्ट्रिय प्राइमरी स्कूल’ को नाममा अनुमति प्राप्त भयो । समयक्रमसँगै वि.सं. २०३८ मा प्राविबाट निमावि, २०४६ सालमा निमाविबाट मावि र २०६५ मा माविबाट उमाविसम्मको कक्षा सञ्चालन गर्ने आधिकारिकता पनि हासिल भयो ।
विद्यालयको औपचारिक सुरुवातदेखि नै जिल्लामा यो स्कुलको पहिचान अलग्ग थियो र अहिले पनि छ । जिल्लाको पूर्वी भेगमा शिक्षाको नेतृत्व बोक्न सफल देवी मावि ‘गाउँ’कै विद्यालय भए पनि शिक्षामा गाउँको झल्को नदिईअघि बढिरहेको छ । शिक्षामा सम्झौता गर्नुहुन्न भनी गुणस्तरीय शिक्षा दिन, देश र समाजप्रति जिम्मेवार असल नागरिक तयार गर्न स्थापित देवी माविले पच्चीस सालदेखि ७५ सालसम्मको पाँच दसकको यात्राको क्रममा वर्ष र दिनमात्र गनेको छैन, यसले ताथली, सुडाल, चित्तपोलको मात्र नभएर सिङ्गो भक्तपुरको शैक्षिक आकाशलाई थप उज्यालो बनाउन ‘पूर्वको दियो’ बनी उल्लेखनीय भूमिका खेलेको छ । सरकारी स्कुल भन्नेबित्तिकै हेयको दृष्टिले हेर्ने, नाक खुम्च्याउनेहरूलाई उदाहरण बनेको छ । यही कारण धेरै विद्यार्थी, अभिभावक, शिक्षक, प्राध्यापक, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञको मनमस्तिष्कमा बसेको छ, यो विद्यालय र आफ्ना शैक्षिक मन्तव्यमा जोडिएर आउँछ देवी मावि ।
विद्यालयरुपी शिक्षा, ज्ञान, चेतनाको दियोलाई निरन्तर बाल्न, यसको चमक वा उज्यालो वा तेजमा ¥हास आउन नदिन धेरै व्यक्तिहरूले तेल थप्ने काम गरेका छन्, आँधीबेहरी, हुरीबतास, झरीमा पनि दियो ननिभोस् भनेर हत्केलाले छेकेका छन् । किनकि उनीहरूलाई थाहा छ,
फूल फुलाई उत्साहको वासना फैलाउँछौ
विवेकी र ज्ञानी बनाई सुमार्ग देखाउँछौ
विद्यालयलाई अहिलेको परिचयसम्म, प्रगतिको मार्गसम्म डो¥याउनका लागि ‘लगनशील शिक्षक, मिहेनती विद्यार्थी र सहयोगी अभिभावक’ अग्रस्थानमा उभिएका छन् । स्थानीय तहका बालबच्चादेखि ज्येष्ठ नागरिकसम्मको मायाममता, निःस्वार्थ सहयोग, स्कूलका हरेक गतिविधिलाई समर्थन आदिको प्रतिफल हो देवी मावि र यसको प्रतिष्ठा ।
विद्यालयका लागि भौतिक पूर्वाधार आवश्यक भएको महसुस गरी शिक्षक, विद्यार्थी र स्थानीयहरू दत्तचित्त भई डाँडो पन्छाउने सिलसिलामा विसं २०४९ भदौ २० शनिबार भएको अकल्पनीय घटनाका कारण शिक्षक कृष्ण बासुकला र कक्षा ८ मा अध्ययनरत विद्यार्थी सङ्घर्ष बासुकलाको शहादतको इतिहास देवी माविसित गाँसिएको छ । विद्यालयको भवन बनाउन डाँडो पन्छाउने क्रममा काल ढिस्को भएर शिक्षक र विद्यार्थीको छातीमाथि बज्रँदाको शोकलाई, पीडा र दुःखलाई शक्तिमा रुपान्तरण गरी विद्यालय अघि बढेको छ । आरोह–अवरोह, उकाली–ओराली, कहिले घाम कहिले पानीजस्ता अनेकौं व्यवहारगत समस्या र चुनौतीका बीच पनि आफूलाई स्थापित गर्नसक्नु अनि स्कूलबाटै जन्मिएका थुप्रै व्यक्तिहरूबाट गर्वसाथ ‘म देवी स्कूलको उत्पादन हुँ’ भनाउन सक्नुले देशको निम्ति आवश्यक जनशक्ति र असल नागरिक तयार गर्न सकेको पनि पुष्टि हुन्छ ।
अँध्यारोमा उज्यालो भई बल्न सिकाउँछौ
युगसँगै अघि बढ्न सधैं सिकाउँछौ
बाटो हो विद्यालय अञ्जानको
देवी स्कूल मेरो गौरव मेरो शान हो
यही स्कूलमा कखरा सिकेकाहरूमध्ये कैयौं प्राध्यापक भएका छन्, शिक्षक भएका छन्, डाक्टर भएका छन्, इन्जिनियर भएका छन्, यहींको चौरमा लडीबुडी गर्दै खेलेर हुर्केकाहरू आज खेलाडी भएर देशको नाम चम्काउँदै छ, यहींको मेचमा बसेर लेख्न सिकेकाहरू देशको प्रशासक, भएका छन्, पत्रकार भएका छन्, लेखक भएका छन्, साहित्यकार भएका छन् । यसर्थ विद्यालयले ती व्यक्तित्वहरूप्रति तिर्न नसक्ने गुण लगाएको छ ।
तत्कालीन समयमा समाजका तल्लो र निम्न मध्यम वर्ग त्यसमा पनि काम गरी खानुपर्ने वर्ग, किसान–मजदुरका छोराछोरीहरूलाई ज्ञान दिनका लागि विद्यालय स्थापना हुनु खुकुरीको धारमा हिंड्नुजस्तै थियो । तर पनि त्यो चुनौतीलाई नै चुनौति दिएर शिक्षाको विकास, ज्ञानको प्रवद्र्धन गरेकै प्रतिफल ताथलीसँग सौडोल र भक्तपुरसँग देवी माविको नाम जोडिएको छ । विद्यार्थीप्रति, समाजप्रति, अभिभावकप्रति प्रतिबद्ध भएर अघि बढिरहेको छ देवी मावि । विद्यालयको नाम र पहिचानलाई अझ चुलीमा पु¥याउनका लागि अझै पनि शिक्षकशिक्षिकाहरू र विव्यसका पदाधिकारीहरू अभ्यासरत छन् । थुप्रै प्रकारका समस्याहरू भए पनि विद्यालयले आगामी दिनमा अझ शिक्षाको विकासका लागि पहल गर्ने र त्यहीअनुसारको योजना बनाउनका लागि समयसमयमा स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावकहरूसँग छलफल गर्ने योजना विद्यालयले बनाएको छ ।
जीवनको कर्तव्य पढाउँछौ
सफलताको चुली चढाउँछौ
भावना हो विद्यालय स्वाभिमानको
देवी स्कूल मेरो गौरव मेरो शान हो ।
‘देवी मावि नभइदिएको भए….’ शीर्षकमा केही कुरा लेखिरहँदा एक कोणबाट विश्लेषण गर्नु पूर्णमात्र हैन, न्यायसङ्गत पनि हुन्न । यसैले एक विद्यालय स्थापनाले टोलदेखि राष्ट्रसम्म फिंजेको शिक्षाको किरणलाई विभिन्न कोण, प्रतिकोणबाट व्याख्या विश्लेषण गर्नुपर्छ । साथै अहिलेको क्षणक्षणमा फेरिरहेको शैक्षिक स्थितिमा आफ्नो स्थान कहाँ हो ? भन्ने पनि पत्ता लगाउनुपर्छ । त्यसले मात्र आगामी दिनका लागि मार्ग पहिल्याउन सहज हुने देखिन्छ ।
देवी माविको यस्तो कीर्ति रहँदारहँदै पनि पछिल्लो समय सोचे जसरी विद्यालय अघि बढ्न नसकेको कुरा बिर्सनुहुन्न । शिक्षामा थपिएको नयाँ नयाँ आयाम, चेतनामा भएको विस्तार, मानिसको बढेको आर्थिक स्रोत, व्यवस्थापनले देखाउनुपर्ने चुस्तता, अभिभावकका अपेक्षा पूरा गर्नमा देखिएको उदासिनता, विद्यालय प्रशासनको आफ्नै कमजोरी, बाध्यता इत्यादि मूर्त, अमूर्त कारण विद्यालयप्रतिको दृष्टिकोणमा आएको बद्लावको मारमा विद्यालय परेको छ । त्यसलाई स्वर्णजयन्तीमा आउने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाले पूर्ति गर्ने अपेक्षा गर्न सकिन्छ । विद्यालयको स्वर्णजयन्तीको अवसरमा सबै सरोकारवालामा हार्दिक शुभकामना ।
विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक–अभिभावक सङ्घका पूर्वअध्यक्षसमेत रहेका छुकां सञ्चारकर्मी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *